+

जतिसुकै गरिब भए पनि वर्षमा यी दुई स्वास्थ्य परीक्षण गराउनैपर्छ

२०८० मंसिर  १९ गते १०:३९ २०८० मंसिर १९ गते १०:३९
जतिसुकै गरिब भए पनि वर्षमा यी दुई स्वास्थ्य परीक्षण गराउनैपर्छ

प्राय: अस्पतालहरुले स्वास्थ्य परीक्षणको प्याकेज नै सार्वजनिक गरिरहेका हुन्छन् । यस्तो प्याकेजभित्र टाउकोदेखि खुट्टासम्मकै परीक्षण गराउने सेवा र शुल्क समावेश हुनसक्छ ।

त्यसो भए के हामीले शरीरका सम्पूर्ण अंगहरुको परीक्षण गर्नुपर्छ ? कुन कुन अंग छुटाउनै हुन्न ? यसले संभावित रोगबारे कति भरपर्दो सूचना दिन्छ ? यससँगै उठ्ने अर्को महत्वपूर्ण प्रश्न हो, सम्पूर्ण स्वास्थ्य जाँच गर्दा कति खर्च लाग्न सक्छ ?

यी कुराले मान्छेमा भ्रम एवं द्विविधा पैदा गरिरहेको हुन्छ । मान्छेहरु सोच्छन्, ‘के सम्पूर्ण स्वास्थ्य जाँच अनिवार्य गर्नैपर्छ ?’ हाम्रो जस्तो निम्न आय भएको मुलुकमा यी कुराहरु मान्छेका लागि ‘विलासिता’ जस्तै भएको छ । सक्नेहरु स्वास्थ्य परीक्षण गरिरहेकै हुन्छन् । नसक्नेहरु रोग लाग्नुअघि अस्पताल जानै डर मान्छन् ।

वास्तवमा अस्पतालहरुले व्यापारिक प्रयोजनका लागि सार्वजनिक गरेजस्तो सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नैपर्छ भन्ने छैन । हुन त आफ्नो आर्थिक अवस्था बलियो हुँदा सम्पूर्ण स्वास्थ्य जाँच गर्न सकियो । यसले उनीहरुलाई स्वस्थ जीवन बाँच्न सहयोग गर्छ । तर, सबैका लागि यस्तो संभव नहुन सक्छ । त्यसैले के कस्ता स्वास्थ्य जाँच गर्ने वा के नगरे पनि हुन्छ भन्नेमा स्पष्ट हुन जरुरी छ ।

स्वास्थ्य जाँच गर्ने भनेको मूलत उमेर चरण र आफ्नो स्वास्थ्य अवस्थालाई आधार बनाएर टुंगो गर्ने हो ।

४० बर्ष काटेपछि

सानो बालबच्चा वा किशोर किशोरीको पनि नियमित स्वास्थ्य जाँच गर्नैपर्छ भन्ने भएन । तर, उमेरले ४० वर्ष काटेपछि मान्छेमा रोगको जोखिम बढेर जान्छ ।

धेरैलाई उच्च रक्तचाप हुनसक्छ, मधुमेह हुनसक्छ, थाइराइड वा अरु दीर्घ रोग लाग्न सक्छ । पाचनमा समस्या हुनसक्छ, मुटुको कार्यक्षमता कमजोर हुनसक्छ । यावत् कुराबारे थाहा पाउन स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ ।

स्वास्थ्य परीक्षणपछि कुनैपनि रोगको पूर्व संकेत पाउन सकिन्छ । यसले गर्दा उपचार सहज र छरितो हुनसक्छ ।

मेरो भनाइ के हो भने, तपाईं उमेरले ४० वर्ष काटिसक्नुभएको छ भने संभव भएसम्म नियमित स्वास्थ्य जाँच गर्नुहोस् ।

स्वास्थ्य समस्या अनुसार

चाहे बलबालिका होस् वा युवा, यदि कुनै स्वास्थ्य समस्या छ भने त्यसको लक्षण अनुसार स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । कसैलाई निरन्तर ज्वरो आइरहेको हुनसक्छ, कसैको जोर्नी दुखिरहने हुनसक्छ, कसैलाई शरीर सिथिल भएको महसुस भइरहेको हुनसक्छ । उनीहरुले आफ्नो रोगको लक्षण अनुसार स्वास्थ्य जाँच गर्नुपर्छ ।

कति अवधिमा गर्ने ?

शारीरिक समस्या भएको अवस्थामा त जतिसक्दो छिटो जाँच गर्नु उपयुक्त हो । तर, यदि तपाईं स्वस्थ हुनुहुन्छ, कुनै रोगले गाँजिसकेको छैन भने पनि वर्षमा कम्तीमा एक पटक स्वास्थ्य जाँच गर्नु राम्रो हो । यसले संभावित जोखिमबाट बचाउन सक्छ ।

कुन कुन परीक्षण गर्ने ?

टाउकोदेखि पैतलासम्म स्वास्थ्य जाँच गर्नैपर्छ भन्ने छैन । तर, तपाईंले दुई वटा स्वास्थ्य जाँच चाहिं अनिवार्य गरेकै राम्रो हो । एउटा रक्तचापको स्थिती, अर्को पिसाब ।

रक्तचाप बढेको छ वा छैन ? यसबारे टुंगो गर्न वर्षमा एक पटक जाँच गर्नैपर्छ । अर्को चाहिं पिसाबको जाँच गर्नैपर्छ ।

सुरुमै भनिहालौं, यी दुबै जाँच गर्नका लागि ५०–६० रुपैयाँभन्दा धेरै खर्च लाग्दैन । तर, यी दुवै जाँचले तपाईंलाई ठूलो स्वास्थ्य संकटबाट बचाउन सक्छ । त्यसैले तपाईं जतिसुकै गरिब दुःखी भएपनि यी स्वास्थ्य जाँच वर्षमा एकपटक गराएकै राम्रो हो ।

जस्तो पिसाब जाँचले मधुमेह छ वा छैन, मिर्गौलाको स्थिति ठीक छ वा छैन भन्ने देखाउँछ । पिसाबमा सुगर देखियो भने मधुमेह हुनसक्छ । प्रोटिन देखियो भने मिर्गौलामा समस्या हुनसक्छ । पिसाब भनेको मिर्गौलाको ऐना पनि हो ।

यसबाहेक अरु जाँच गर्न पर्दैन ?

यी दुई वटा स्वास्थ्य जाँच स्वस्थ व्यक्तिको हकमा हो । यदि तपाईंको जीवनशैली ठीक छैन, रक्सी र चुरोट खानुहुन्छ, तनावग्रस्त रहनुहुन्छ भने तपाईंले अरु पनि स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । खासगरी तपाईंको स्वास्थ्य जोखिम कहाँ छ भनेर सोही अनुसार जाँच गर्नुपर्छ ।

जस्तो चुरोट तान्नुहुन्छ भने फोक्सोको जाँच गर्नुपर्यो, रक्सी खानुहुन्छ भने कलेजोको । किनभने तपाईं खराब जीवनशैली बाँचिरहनुभएको छ भने तपाईंमा रोगको जोखिम पनि उत्तिनै हुनसक्छ ।

अर्को कुरा पारिवारिक संस्कार र वशांनुगत स्वास्थ्य स्थिति पनि हो । यदि बाजे, बोजु, आमाबुवा आदिलाई कुनै रोग खासगरी दीर्घ रोग, क्यान्सर छ भने तपाईंले पनि सजग भइरहनुपर्छ । बेलाबेलामा क्यान्सर जाँच गर्ने, दीर्घ रोगको जाँच गर्ने ।

महिलाले गर्नैपर्ने दुई परीक्षण

महिलाको हकमा भने दुई वटा परीक्षण वर्षमा एकपटक गराउनैपर्छ । एउटा पाठेघरको, अर्को स्तनको ।

पाठेघरको अवस्था के छ क्यान्सरको जोखिम कति छ भनेर प्याप स्मेयर गर्न सकिन्छ । यसका लागि धेरै खर्च लाग्दैन र जटिल पनि हुँदैन । स्तन क्यान्सर भए वा नभएको त सामान्य लक्षण घरमै पनि थाहा पाउन सकिन्छ ।

ऐना अगाडि उभिएर स्तनको निरीक्षण गर्ने, गाँठागुँठी वा अन्य परीवर्तन छ वा छैन हेर्नुपर्छ ।

बालबालिकाले पनि नियमित जाँच गर्नुपर्छ ?

बालबालिकाले नियमित स्वास्थ्य जाँच गर्नुपर्दैन । यदि उनीहरु स्वस्थ, तगडा छन् भने स्वास्थ्य जाँच गरिरहनुपर्ने अवस्था हुँदैन । तर, कुनै समस्या भइरहन्छ भने लक्षण अनुसार स्वास्थ्य जाँच गर्नुपर्छ ।

आफैंले पनि स्वास्थ्य जाँच गर्न सकिन्छ ?

सामान्यत: पिसाबबाट हामीले आफ्नो स्वास्थ्य स्थिति थाहा पाउन सक्छौं । जस्तो पिसाबको रंग, अवस्था, गन्धले कुनै पनि समस्याको संकेत गर्न सक्छ । जस्तो तपाईंले बाहिर पिसाब फेर्नुभयो, त्यसमा कमिलाहरु झुम्मिएको छ भने त्यसका सुगर हुनसक्छ । पिसाबमा धेरै फिंज आउँछ भने त्यसमा प्रोटिनको मात्रा बढी हुनसक्छ । यसैगरी पिसाब गन्हाउने, पोल्ने भए संक्रमण हुनसक्छ । पिसाब छिटो छिटो लाग्ने, पिसाब गरे पनि निथ्रिए जस्तो नहुने आदि लक्षणले प्रोस्टेटमा समस्या छ भएको जनाउ दिनसक्छ । तर, यी सामान्य जाँच विधि मात्र हुन् । प्रयोगशालाबाट नै यसको खास टुंगो गर्न सकिन्छ ।

स्वास्थ्य जाँच
प्रा.डा. लोचन कार्की
लेखक
प्रा.डा. लोचन कार्की
जनरल फिजिसियन 

मेडिकल काउन्सिल दर्ता नम्बर : ४६८७ एमबीबीएस, एमडी, पोस्ट ग्राजुएसन इन एभिएसन मेडिसिन वीर अस्पताल, फ्रन्टलाइन अस्पताल, हिमाल अस्पतालमा कार्यरत, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय