+
+

सुनसान छ समाजवादी मोर्चा

दिपेश शाही दिपेश शाही
२०८० मंसिर २० गते ११:४७

२० मंसिर, काठमाडौं । असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा गर्न प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता नै खटिएका थिए । तर ४ भदौयता मोर्चाको बैठकसम्म बस्न सकेको छैन ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा आबद्ध छन् । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख उद्देश्य राखेको मोर्चा गठन भएको ६ महिना बित्दा सुरुको जस्तो स्फुर्ति देखिन्न ।

नेताहरु भने परिस्थितिका कारण बैठक लगायत गतिविधि हुन नसकेको दाबी गर्छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले भूकम्प लगायत घटनाक्रमसमेतले मोर्चाको काम प्रभावित बन्न पुगेको बताए । ‘म भूकम्प प्रभावित क्षेत्रमा छु । लामो समयदेखि बैठक बस्ने भने पनि सबै नेताहरूको समय मिल्न नसकेका कारण सम्भव नभएको बुझेको छु । आज–भोलिमा पनि बैठक बस्ने कुरा थियो, तर सबैको समय नमिलेका कारण सर्नसक्छ’, महासचिव गुरुङले भने ।

४ भदौको बैठकले सातवटै प्रदेशमा सन्देश सभा गर्ने र प्रदेशदेखि स्थानीय तहसम्म संरचना विस्तार गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार प्रदेश सभा सम्पन्न गरेपछि एकपटक पनि मोर्चाको बैठक बस्न सकेको छैन ।

मोर्चाको नेतृत्व गरिरहेको दल एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पछिल्लो समय बुधबार (२० मंसिर) मोर्चाको बैठक बस्ने तय भएको थियो । तर मंगलबारसम्म बस्ने निश्चित हुन सकेको छैन भने अर्को बैठकका विषयमा पनि छलफल भएको छैन ।

‘मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको व्यस्तताका कारण बैठक बस्न सकेको छैन । बुधबार बस्ने गरी बैठकको मिति तय भएको थियो, तर केही कारणले नबस्ने जस्तो अवस्था देखिएको छ’, उनले भने, ‘अर्को बैठक कहिले बस्ने भन्ने छिट्टै टुंगो लाग्नेछ । सोही बैठकबाट हामीले मोर्चाका नयाँ कार्यक्रमहरू अगाडि सार्छौं ।’

पूर्व घोषित कार्यक्रम अनुरुप मोर्चाले भदौ महिनामा नै सातवटै प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको थियो । सन्देश सभा सम्पन्न गर्ने क्रममा नै मोर्चाले प्रदेशस्तरका कमिटी घोषणा गरेको थियो भने तल्ला तहमा कमिटी बनाउन प्रदेशलाई नै जिम्मेवारी तोकेको थियो ।

त्यसपछि मोर्चाको बैठक बस्ने भने पनि अहिलेसम्म कुनै टुंगो छैन । मोर्चाका संयोजक रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल २१ कात्तिकमा चीन भ्रमणमा गएपछि उनी फर्किएलगत्तै बैठक बस्ने तयारी रहेको नेताहरूले बताएका थिए । त्यसपछि मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन दुबई जाने भएपछि त्यसैको तयारीमा रहेका कारण मोर्चाको बैठक नेपाल चीनबाट फर्किएपछि पनि बस्न सकेन ।

गत १७ कात्तिकमा कर्णाली प्रदेशमा गएको भूकम्पले धनजनको क्षति भएपछि मोर्चाका तर्फबाट एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका संयोजक माधव नेपालले विज्ञप्ति जारी गरी उद्धार, राहत र पुनस्र्थापनाका कार्यक्रमलाई सरकारसँग माग गरेका थिए । त्यसबाहेक मोर्चाले कुनै पनि गतिविधि गर्न सकेको छैन ।

भूकम्प प्रभावित क्षेत्रहरू जाजरकोट र रुकुममा मोर्चामा रहेका दलहरू छुट्टाछुट्टै उद्धार तथा पुनर्निर्माणको काममा लागेका छन् । तर एकअर्कामा त्यस विषयमा समन्वय भएको देखिँदैन ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, महासचिव गुरुङ, उपमहासचिव जनार्दन शर्मालगायत नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए । गुरुङ र शर्मा अहिले पनि उतै छन् । एकीकृत समाजवादीले संघीय मन्त्रीसमेत रहेका प्रकाश ज्वालाको नेतृत्वमा सो क्षेत्रमा उद्धार तथा पुनिर्निर्माणका काम गरिरहेको जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि भूकम्प प्रभावित क्षेत्रमा गएर काम गरेका थिए भने उनको पार्टीले पनि त्यहाँ काम गरिरहेको छ । सो क्षेत्रमा कमजोर संगठन रहेको जसपाको उपस्थिति भने न्यून देखिन्छ ।

मोर्चाले आफ्नो उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा ‘संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने’ उल्लेख गरेको छ । तर विपदको बेलामा समेत एक भएर काम नगरिरहेको अवस्थामा मोर्चा निष्क्रिय हुँदै गएको देखिन थालेको छ ।

नेतृत्व परिवर्तनको बेला

मोर्चाको नेतृत्व आलोपालो गर्ने र एउटा पार्टीको नेतृत्व समयावधि ४ महिना रहने सहमति दलहरूबीच भएको थियो । मोर्चा गठन भएको मितिले ६ महिना पुग्न लागिसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल ३० असारमा बसेको बैठकदेखि मोर्चाको संयोजक छन् । मोर्चाको मोडालिटिअनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षता गर्ने पालो सकिसकेको छ । तर अहिलेसम्म बैठक समेत बस्न नसकेको मोर्चामा बाँकी विषयमा छलफल हुन सकेको छैन ।

समाजवादी मोर्चाका वर्तमान अध्यक्ष माधवकुमार नेपाल

बैठक नै बस्न नसकिरहेको बेलामा मोर्चाको नेतृत्वको विषयमा कसैले नसोचेको नेताहरूको भनाइ छ । ‘आगामी बैठकमा नयाँ कार्यक्रमसँगै यस विषय (नेतृत्व हस्तान्तरण) मा पनि छलफल हुन्छ होला’, नेता खतिवडाले भने ।

समाजवादी मोर्चाले आफ्नो बैठकको अध्यक्षताको मोडालिटी, मोर्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाइसकेको छ । जसअन्तर्गत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चाका संयोजक छन् । उनको मातहतमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेको सचिवालय छ । एकीकृत समाजवादीकै उपाध्यक्ष प्रमेश हमाल सचिवालयको सदस्य सचिव छन् ।

विचार र सांगठनिक हिसाबले अलग–अलग स्वरूपमा रहेका दलहरूबीच केन्द्रमा नेतृत्वले मोर्चा निर्माण गरे पनि त्यसलाई तल्लो तहसम्म विस्तार गर्ने र घोषणा भएअनुसार कार्यन्वयनमा जानेमा आशंका व्यक्त भइरहँदा मोर्चाले त्यसको खाका कस्तो बनाउने भन्ने विषयमा समेत टुंगो लगाएको थियो ।

समाजवादी मोर्चाको प्रदेश र स्थानीय तहको संरचनाको मोडालिटी केन्द्रकै शैलीमा बनाउने सहमति छ । हरेक पार्टीबाट एक–एक जना रहने गरी सचिवालयको निर्माण गर्ने र मोर्चाको नेतृत्व गरिरहेको दलबाट एकजना सदस्य सचिव रहने सहमति मोर्चामा बनेको थियो ।

मोर्चाको केन्द्रीय संयोजन समितिमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ छन् ।

एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूषाल छन् ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, स्थायी समिति सदस्य सन्तोष बुढा र उमा भुजेल मोर्चाको सचिवालयमा छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?