+
+

यसरी बरामद भएको थियो १४ किलो सुन, हेर्नुस् भिडियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १०:२९

२२ मंसिर, काठमाडौं । यूएईबाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको छ ।

छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले बरामद गरेको सह–सचिव टोकराज पाण्डेले बताए ।

‘विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुनका ७ वटा विस्कुट बरामद भएका हुन्’, उनले भने । विमानस्थलमा ओर्लिने वित्तिकै भन्सार र प्रहरीको टोलीले घलेलाई नियन्त्रणमा लिएको थियो ।

एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकालिएको थियो । उनले जुत्तामा समेत सुन लुकाएको पाइएको भन्सारले जनाएको छ ।

सुन ल्याउन लगाउने गोरखाका मिनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरीका डीआईजी अर्जुन चन्दले बताए ।


फ्लाई दूबईको विमानमार्फत यूएईबाट आएका गोरखा, बारपाकका ४५ वर्षीय चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार, सुन ल्याउने घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अनुसार थप अनुसन्धान हुनेछ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।

यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?