+
+
विचार :

युवा पलायनको मर्म

कलिलै उमेरमा पलायन हुन बाध्य युवा जमात धेरै दृढ, आशावादी र सुरक्षित भने छैनन् । मुख्यतः उनीहरूको पारिवारिक र पारस्परिक सम्बन्धको सांस्कृतिक जालो भत्किएको छ ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८० मंसिर २४ गते ११:११

ऊर्जाशील युवा शक्तिको वैदेशिक बसाइँसराइको रहर अहिले उत्कर्षमा छ । आफ्नै भविष्य बनाउन रगत–पसिना बगाउनुपर्ने यो ऊर्जाशील युवा ‘बर्मा गए पनि कर्र्मसँगै’को बाटो किन रोज्दैछ ? उनीहरूलाई के कुराले तानेको छ या के कुराले धकेल्दैछ ? यो नेपाली समाजमा सबैभन्दा पेचिलो सवाल बनेको छ ।

भरपर्दो तथ्याङ्कले यकिनै भन्न नसकिए पनि हाराहारी ३ करोड जनसंख्यामध्ये अहिले ६० लाख भन्दा बढी अर्थात् २० प्रतिशत नेपाली युवा श्रमिक देश बाहिर पूर्ण तथा आंशिक रोजगारीमा छन् । श्रम बजारमा हरेक वर्ष आउने ५ लाख हाराहारीका ऊर्जाशील युवालाई जीवन धान्ने उपाय नेपाली श्रम बजारले दिन नसकेसँगै यस्तो बसाइँसराइ खाडी मुलुक हुँदै विश्वभरि नै फैलिएको छ ।

कामको खोजीमा मुग्लान पस्ने हाम्रो पुरानै चलन हो । पछिल्लो पटक गाउँघरमा माओवादी द्वन्द्व चर्केसँगै गाउँका केही युवा पढाइ तथा कामको खोजीमा सबैभन्दा पहिले शहर पसे । उनीहरू शहरले रोजगारी दिने छाँट नदेखेपछि विदेशिन थालेका हुन् । द्वन्द्व अन्त्यसँगै अवसरको पर्खाइमा लाम लागेका सबै युवाको शहर हुँदै विदेश यात्रा तीव्र भएको हो । यो यात्रा मुलुकभित्र रोजगारी र आम्दानीको अभावमा अहिले थप फस्टाएको छ ।

पहिले शहर तथा विदेश जाने कुरा गाउँघर, परिवार र समुदायमा प्रतिष्ठा र गर्वको विषय मात्र थियो । तर अहिले यो बहुसंख्यक घरपरिवारको आम्दानीको स्रोत र राज्यका लागि विदेशी मुद्राको मुख्य स्रोत समेत बनेको छ । अहिले एकतिहाइ भन्दा बढी औसत आन्तरिक आम्दानीको स्रोत बनेको विप्रेषणले नै खर्ब बढीको हाम्रो खानेकुरा र अन्य उपभोग्य वस्तुको आयात थामेको छ ।

यसको परिणाम भने धेरै सकारात्मक छैन । यो स्वयं परदेशिने युवा, घरपरिवार र समाजकै दुःख र पीरको कारक बनेको छ । कोही दुर्घटना वा अन्य कारणले जीवन गुमाएर बाकसमा फर्काइन्छ भने सास सहित फर्किएकाहरूको पनि बाँच्ने आधार खोसिएको हुन्छ, उनीहरूको कथा बेग्लै छ ।

ऋणको मिटरब्याजदेखि परदेशिने दिदीबहिनीका कथाव्यथा झनै कहालीलाग्दा छन् । ४० कटेपछि रमाउँला भन्दै परदेशिने युवाभित्र गुम्सिएको सामाजिक मनोविज्ञान झनै पीडादायी छ ।

यी सबै जान्दाजान्दैै पनि हिजोआज नेपाल बस्न चाहने युवा विरलै भेटिन्छन् । घरै छोड्न नसक्ने अशक्त र मौका नपाउनेको कुरा बेग्लै भयो, नत्र कुनै युवाले नेपालमै बसेर केही गर्छु भनेको सुन्न कमै पाइन्छ । एक दुई जना आफ्नै विवेकले, केही बा–आमा र आफन्तका करकापले बाध्य भएका युवा बाहेक सबै पलायनको यात्रामा लामबद्ध छन् । यो यात्राको सम्मोहनले कसैलाई छोडेको छैन । यसको छनक राहदानी विभागदेखि हवाईअड्डासम्म प्रष्ट देखिन्छ ।

यसरी विदेशिने ऊर्जावान् श्रमशक्तिमा सबै वर्ग, जात लिङ्ग र भूगोलका बासिन्दा छन् । यिनमा लालाबालाका आमा–बादेखि सामाजिक जीवनको पूर्वाद्र्धमा पाइला टेक्दै गरेका पाका मानिससँगै जुँगाको रेखीधरि बसिनसकेका कलिला युवासम्म छन् । यीमध्ये धेरै ग्रामीण युवा किसान नेपालको हराभरा खेतबारी छोडेर रोजगारीका लागि भारत र खाडी मुलुकमा छन् ।

केही घरानियाँ, पढेलेखेका, अब्बल र सचेत बा–आमाका उत्कृष्ट भनिएका सन्तति भने अध्ययनका लागि भन्दै विकसित भनिने युरोप, अष्ट्रेलिया र अमेरिका पुगेका छन् ।

उता, यीमध्ये अधिकांश अध्ययनपछि उतैको समृद्धि यात्रामा जुटेका छन् । यसरी परदेशिएका केहीलाई नेपालको औधी माया झांगिएको छ । उनीहरूलाई चुनावमै प्रतिस्पर्धा गर्ने गरी राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता चाहिएको छ । आफूले रिझाएका नेतालाई भोट हाल्न बाहेक यस्तो नागरिकता किन चाहियो ? उनीहरूसँग बनावटी तर्क होला तर चित्तबुझ्दो जवाफ छैन ।

यता, आम अभिभावकको त कुरै छोडौं, धेरैजसो समाजमा कहलिएका नेता, कर्मचारी, सामाजिक अभियन्ता र उद्यमी अभिभावक समेतले आफ्ना सन्तानलाई मुग्लान पठाएका छन् । अधिकांश यसमा गर्वित छन् । सार्वजनिक खपतका लागि आश्वासन र अर्ति दिने कुरा बेग्लै भयो, नत्र कसैले पनि युवाहरूलाई ‘नेपालमै बस, तिम्रो र यो समाजको भविष्य राम्रो हुन्छ’ भन्ने आँट गर्न सकेका छैनन् ।

अहिलेसम्म नेपालको जनसांख्यिक विभाजनमा यिनै ऊर्जाशील युवाशक्तिको बाहुल्य छ । तर यी सबै देश बाहिर जान आतुर छन् । मुलुकको अर्थतन्त्र यिनै युवाको रगत–पसिनाले पठाएको विप्रेषणले धानेको छ । कुनै पनि कारणले अहिलेकै अवस्था रहिरह्यो र नेपालमा बाँकी रहने अहिलेको पुस्ताले आउने दशकमा उन्नति र प्रगतिको फड्को नमारी पाको उमेरमा पाइला राख्ने परिस्थिति बन्यो भने, नेपाली समाजको दुर्दिनको गन्ती त्यहींबाट सुरु हुन्छ । किनकि अहिलेको एक चौथाइ जनसंख्याले त्यतिबेला आफ्नै ज्यान पाल्ने र स्याहार गर्ने जोहो गर्न समेत श्रम गर्ने हैसियत गुमाइसकेको हुनेछ ।

यस्तो अवस्थामा हाम्रो समाजको भविष्य अझ कस्तो होला ? यिनले नेपालमा भविष्य किन देख्न सकेका छैनन् ? यिनलाई आश जगाउनुपर्ने नेपाली समाजको अगुवा वर्ग कहाँ बरालिएको छ ? यी र यस्ता धेरै निकै पेचिला प्रश्नहरू छन्, जसको समय छँदै जवाफ नखोज्ने हो भने नेपाली समाजले युवा पलायनको बाटो हुँदै निकट भविष्यमा समाजकै विघटनको यात्रा तय गर्नेछ भन्न हिच्किचाउनुपर्दैन ।

चाहे मानिस होस् या अन्य जीव आफ्नो थातथलो छोड्ने मुख्य कारण भनेकै पेटभरि खान नपाउने भय र असुरक्षा हो । समाज विकास क्रममा यसको सन्दर्भ फेरिएर अहिले रोजगारी र आम्दानी नहुने डर भएको छ । उमेर समूहको हिसाबले युवा वर्गले नै सबैभन्दा पहिला यो डरको सामना गर्नुपर्छ । त्यसैले बहुसंख्यक युवा सबैभन्दा पहिले आफ्नै पेट पाल्न र घरपरिवारका लागि बिहान–साँझको चुलो बाल्न घर छोडेका हुन् ।

यो वर्ग समाजको सबैभन्दा ऊर्जाशील र सिर्जनशील जमात हो । पेटको आगो निभाउने उपाय भए यो वर्ग सधैं नयाँ–नयाँ अवसरको खोजीमा हुन्छ । प्रविधिमा आएको बदलावसँगै अहिलेको अधिकांश युवा पुस्ताले आफ्ना आमा–बाले गरे जस्तो खेतीपातीमा लागेर आफ्नो भविष्य राम्रो हुने छाँट देखेको छैन । एकातिर उसलाई आजको समाज, राजनीति र शिक्षाले कृषि कर्म गरेर रोजगारी र आम्दानीको भरोसा दिलाउन सकेन ।

अर्कोतिर, अहिलेकै अवस्थामा तत्कालै रोजगारी र आम्दानीका क्षेत्र विस्तार हुने आश गर्ने कुनै आधार समेत उसले देखेको छैन । यस्तो अवस्थामा उसले अवसरको खोजीमा विदेश पलायनको बाटो रोज्नु स्वाभाविक छ ।

सँगै, युवालाई उमेर समूहको मात्र अर्थमा हैन, वास्तविक युवा ऊर्जा र परिपक्व जीवन र जगतको चेतको जगमा समेत बुझिनुपर्छ । यो वर्ग भविष्यप्रति आफ्नै पौरखबाट आश्वस्त हुन चाहन्छ । ऊसँग ऊर्जावान् आँट र जोश छ तर कतै अवसर देखेको छैन ।

हरेक राजनैतिक आन्दोलनपछि समाज उन्नत हुनुको साटो झन् झन् अधोगतिको यात्रामा ओरालो लागेको हजुरबा पुस्तादेखिका गुनासा सुनेको छ । लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको देखेको र भोगेको छ । यो सबै स्वीकार्न उनीहरूलाई सकस परेको छ ।

जलवायु परिवर्तनले धेरै मानिसलाई निकट भविष्यमै वातावरणीय तथा खाद्य शरणार्थी बनाउँदैछ । यसले बसाइँसराइ अझै पेचिलो बनाउने निश्चित छ । यो सम्भावित परिणामको सामना गर्न युवा पुस्ताको आश जगाउन नसके यो संकट झनै गहिरिंदैछ ।

गाउँघरदेखि शहरसम्म कार्यालयदेखि पसलसम्म ठूलाबडाको हैकम र मनोमानीको पीडा भोगेका छन् । हाम्रो जस्तो सामन्ती समाजमा युवाहरू अपहेलित, तिरस्कृत, उपेक्षित र असुरक्षित भएको महसुस गर्छन् । युवतीको अवस्था झनै दयनीय छ । यो सबै देखे–भोगेको युवा पुस्ताले समाज परिवर्तनका लागि आन्दोलन गर्ने आँट गुमाइसकेको छ ।

आफ्नै जिन्दगीलाई फर्केर हेर्न बिर्सेको आडम्बरी बूढो पुस्ताको छत्रछायाँमा जिउन बाध्य युवा सामन्ती समाजमा कहिल्यै सम्मानित भएर बाँच्न पाउँदैन । उसले उल्टै थेच्चिनु, होचिनु र हेपिनुपर्छ । अहिले भइरहेको बसाइँसराइ यिनै अन्तरविरोधको जगमा भएको विद्रोहको परिणाम समेत हो ।

रुसोले भने झैं मानिस स्वतन्त्र जन्मिन्छ र सामाजिक जञ्जालले बाधिंदै जान्छ । घरपरिवारमा बिताएको बाल्यकालबाट भर्खर समाजमा प्रवेश गरेको युवा मन र मस्तिष्क अन्य उमेर समूहको भन्दा स्वतन्त्र हुन्छ । यसको सबैभन्दा बलियो पक्ष भनेको यो आफ्नै अनुभवको पर्खालको जडताले घेरिएको हुँदैन र सबैखाले सामाजिक जञ्जालले बाँधिइसकेको पनि हुँदैन ।

यी सबैका समष्टिमा निसासिएको युवाले सास फेर्ने आशमा निकास खोजेको हो । यो यस अर्थमा, उनीहरूको रहर हैन बाध्यता हो । विडम्बना, यो बाध्यतासँगै उनीहरू थप असुरक्षित र निरीह देखिएका छन् । युवाहरू सामान्यतया स्वभावैले ऊर्जावान्, लचिला र सजिलै घुलमिल हुनसक्ने हुन्छन् । तर कलिलै उमेरमा पलायन हुन बाध्य युवा जमात धेरै दृढ, आशावादी र सुरक्षित भने छैनन् ।

मुख्यतः उनीहरूको पारिवारिक र पारस्परिक सम्बन्धको सांस्कृतिक जालो भत्किएको छ । पारिवारिक संस्कृतिमा हुर्केका उनीहरू व्यक्तिवादी समाजमा अभ्यस्त नहुँदा आफ्नै परिस्थितिको दास भएका छन् ।

अहिले भइरहेको वैदेशिक यात्रालाई मलजल गर्न विश्वव्यापी प्रकृति तथा वातावरणीय र खानेकुराको संकट नै पर्याप्त छ । खासगरी, जलवायु परिवर्तनले धेरै मानिसलाई निकट भविष्यमै वातावरणीय तथा खाद्य शरणार्थी बनाउँदैछ । यसले बसाइँसराइ अझै पेचिलो बनाउने निश्चित छ । यो सम्भावित परिणामको सामना गर्न युवा पुस्ताको आश जगाउन नसके यो संकट झनै गहिरिंदैछ ।

यो सबै कुरालाई आत्मसात् गर्दै अब युवालाई आफ्नै देशमा भविष्य सम्हाल्न ब्युँझिनुको विकल्प छैन । अरूले त सके यिनलाई यसतर्फको यात्रामा साथ दिऔं, नसके उनीहरूको आफ्नो भविष्यतर्फको यात्रामा दृढ भई अघि बढ्न बाटो छोडिदिऔं । यसैमा हामी सबैको कल्याण छ ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?