+
+

सुर्ती खोज्दै पसल-पसलमा महानगरको अनुगमन, व्यवसायी असन्तुष्ट

अमृत चिमरिया अमृत चिमरिया
२०८० मंसिर २८ गते २०:०५

२८ मंसिर, काठमाडौं । सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले बिहीबारदेखि पसलहरुमा अनुगमन सुरु गरेको छ ।

महानगरपालिकाले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । उक्त निर्णय कार्यान्वयन गर्न महानगर प्रहरीको टोलीले किराना पसल, पान पसल र चिया पसलमा अनुगमन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाले यसै वर्ष जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ ।

उक्त व्यवस्था विपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेको वा नगरेको अनुगमन गर्न महानगर प्रहरीको १०/१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिएको छ । त्यस्तै एक टोली महानगरको केन्द्रबाट खटिनेछ । योबाहेक सादा पोशाकमा नगर प्रहरी र कर्मचारी पनि अनुगमनमा खटाएको छ ।

७ बोरा बरामद

काठमाडौं महानगर प्रहरीका कार्यावाहक प्रमुख विष्णु जोशीले पहिलो दिन ७ बोरा भन्दा धेरै सुर्ती र गुट्खा बरामद गरेको बताए ।

बिहीबार विहान महानगर प्रहरीले बालाजु क्षेत्रबाट २ बोरा, जडिबुटी, कोटेश्वर क्षेत्रबाट २ झोला र मध्य र पश्चिम क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

‘आज लुकाएको भएपनि भोलि बेचेको थाहा पाएमा कारबाही गरिहाल्छौं, नियमित अनुगमन भएपछि रोकिन्छ भन्ने सोचेका छौं’, जोशीले अनलाइनखबरसँग भने । महानगर प्रहरीको टोलीले किराना पसल, पान पसल, होलसेल तथा साना चिया पसलहरुमा अनुगमन गरेको थियो ।

जसमध्ये धेरै पसलमा विहान सुर्तीजन्य पदार्थ भेटेपनि दिउँसो भने भेटिएको थिएन । ‘हामी विहानै अनुगमन गर्दा थुप्रै भेट्यौं तर दिउँसो भेट्दै भेटिएन । सायद अनुगमन सुरु भएको थाहा पाएर पनि हुनसक्छ’, एक नगर प्रहरी अधिकारीले भने । अनुगमन टोलीसँग व्यवसायीहरुले सुर्तीजन्य पदार्थ नबेच्ने प्रतिवद्धता जनाएका छन् ।

खुशी छैनन् व्यवसायी

महानगरको नयाँ नियमबारे व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । ‘हामीलाई बेच्न नहुने मात्रै थाहा छ, अब बेच्दैनौं पनि तर यो कति समयसम्म टिक्ने निर्णय हो, हेर्न बाँकी छ’, सिनामंगलका एक व्यवसायी सिधोर साहले भने ।

महानगरले बारम्बार गरेको माइकिङ र फेसबुकमा देखेको सूचनाका आधारमा आफूले पराग र गुट्खा बिक्री गर्न छाडेको बताए । ‘काठमाडौंमा मात्रै रोकेर हुँदैन, ललितपुर र भक्तपुरमा गएर खाइहाल्छन् नि’ उनले भने ।

कोटेश्वरका व्यवसायी कपिल अर्यालले पनि उपत्यकाका अरु स्थानीय तहमा बिक्री गर्न पाइने नियम भएकाले काठमाडौं महानगरमा मात्र रोकेर धेरै असर नर्पो बताए ।‘काठमाडौंमा रोकेर ललितपुर र भक्तपुरलाई फाइदा हुने कुरा हो’, उनले भने ‘बरु कहाँ खान पाइने, कहाँ नपाइने भनेर तोकिदिएको हुन्छ ।’

व्यवसायी अरुण मालाकारले महानगरको नीतिले व्यवसायीलाई समस्या हुने बताए । ‘बल्लतल्ल उठेको आर्थिक मन्दीको बेला पनि फेरि अनेक प्रतिबन्ध ल्याउन खोज्दा समस्या त भइहाल्छ नि । धेरै जना साथीहरुले सटर झारिसक्नुभएको छ’, उनले भने ।

महानगरपालिकाले सुर्ती, खैनी, पराग र गुट्खा बिक्रीमा प्रतिबन्ध लगाए पनि चुरोटमा भने प्रतिबन्ध लगाएको छैन । तर एक÷दुई खिली किन्न भने रोक लगाएको छ, बरु बट्टा नै किन्नुपर्ने नियम लगाएको छ ।

व्यवसायी मालाकार भन्छन्, ‘बट्टा त कमैले किन्छन्, किन्न पाउने भएपछि खिली कि बट्टा दुविधा हुनुभएन ।’ बरु महानगरले धुमपान गर्न पाउने ठाउँ तोकिदिनुपर्ने मालाकारको भनाइ छ ।

उद्योग  वाणिज्य संघ काठमाडौंले भने सरकारै पिच्छेको दोहोरो नीतिले व्यवसायी हतोत्साही भएको आरोप लगाएको छ । खैनी, सुर्ती, पान र पराग प्रयोग सन्र्दभमा केन्द्रीय सरकारले नै पुषसम्मको समयसीमा दिएको संघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । तर, स्थानीय सरकारबाट त्यो भन्दा पनि कडा निर्णय आएको भन्दै उनले यसको वैधानिकतामा प्रश्न उठेको बताए ।

‘उद्योग खोल्न केन्द्र सरकारले अनुमति दिने तर त्यसको उत्पादन बिक्री गर्न स्थानीय तहले रोक्ने कार्य गलत हो’, उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकार–सरकार बीचको विवादले व्यवसायी पलायन हुने र लगानी प्रभावित हुने वातावरण बनाउनु हुन्न ।’

तस्वीर/ भिडियो : शंकर गिरी

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?