८ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको प्लेअफ चरणका खेल सोमबारदेखि सुरु हुँदै छन् । प्लेअफ पुगेका चारै टोलीले अब हुने खेलका लागि तयार रहेको बताएका छन् ।
आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा लिगमा शीर्ष चारमा रहेका पोखरा थण्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीका प्रशिक्षक र कप्तानले खेलका लागि तयार रहेको बताए
लिगमा शीर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसीबीच सोमबार पहिलो क्वालिफायर हुँदैछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । पोखरा र धनगढी दुवै टोली क्वालिफायर जित्दै फाइनल पुग्ने लक्ष्यमा छन् ।
पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले प्लेअफ पुगेका सबै टिम राम्रो रहेको भन्दै धनगढी विरुद्धको खेललाई महत्वपूर्ण रुपमा हेरेको बताए ।
‘धनगढीसँगको खेललाई भाइटल रुपमा लिएका छौं । सबै टिम सेट भइसकेको छ । त्यो कारणले गर्दा लिगमा जस्तो प्लेअफमा अर्को विकल्प हुँदैन,’ न्यौपानेले प्रिम्याचमा भने, ‘भोलिको खेल डु अर डाईको अवस्थामा हुन्छ ।’
प्रशिक्षक न्यौपाने पाएको अवसर सदुपयोग गर्ने टिमले नै खेल जित्ने भन्दै आफूहरु अवसर सदुपयोग गर्ने मै अघि बढ्ने बताए । पोखरा थन्डर्सले लिग चरणको आफ्नो अन्तिम खेल पोखरासँग बराबरी खेलेको थियो ।
उनले भने, ‘हामीले लिगको अन्तिम खेल पनि धनगढीसँग नै खेलेको भएर भोलि त्यही अनुसार नै खेलाडीलाई टास्क दिन्छौं र त्यही जिम्मेवारी पूरा गर्दै जितको लागि खेल्छौं । ‘

उनले टिममा पदम भट्टराईलाई सामान्य चोट रहेको र अरु सबै खेलाडी फिट रहेको बताए ।
प्रतियोगिता अघि पोखरालाई औसत टिमका रुपमा हेरिएको थियो । तर खेलमा पोखरा बलियो देखियो र लिगको शीर्ष स्थानमा रह्यो । ‘अब हाम्रो लक्ष्य भनेकै उपाधिका लागि जाने हो । त्यसैले भोलि पूरा तयार भएर आउनेछौं’, उनले भने ।
पोखराका कप्तान दिनेश राजवंशी लगातार दुई खेलमा पहेँलो कार्ड पाएकाले धनगढीको खेलमा हुने छैनन् । उनले फुटबल व्यक्तिगत भन्दा पनि टिम गेम भएकोले पोखरालाई फाइनल पुर्याउने लक्ष्य भएको बताए । ‘हाम्रो फाइनल पुग्ने लक्ष्य छ त्यसका लागि शतप्रतिशत दिन्छौं ।’
पोखरासँग क्वालिफायर खेल्ने तयारीमा रहेको धनगढीले शीर्ष ४ मा परेका तीनै टिम सँग बराबरी खेलेको थियो । पोखरा थन्डर्स र काठमाडौं रेजर्ससँगको खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेको थिए ।

तर प्रशिक्षक नवलकिशोर राई हिजो कस्तो खेल खेल्यो भनेर नहुने भएकाले खेलको दिन म्याचको रणनीति हेरेर खेल्ने बताउँछन् ।
प्रशिक्षक राईले पोखरा विरुद्धको खेल बेस्ट हुने बताए । ‘भोलिको खेलमा हामी हाम्रो बेस्ट दिन्छौं भनेर अठोट लिएका छौं । भोलिको खेल बेस्ट मध्ये एक हुन्छ भन्ने सोचेका छौं’, उनले भने ।
पहिलो सिजन धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग खेलेको थियो । त्यतिबेला फाइनल हारेपछि नै अर्को सिजनमा आउँदा ट्रफी जित्ने गरी आउने भनेको प्रशिक्षक राईले स्मरण गरे ।
धनगढीका कप्तान देवेन्द्र तामाङले जारी सिजनमा प्रतिस्पर्धात्मक खेल भइरहेको भन्दै भोलिको खेललाई सजिलो रुपमा नलिएको बताए ।
एलिमिनेटरमा काठमाडौं र ललितपुर
साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटीबीच मंगलबार एलिमिनेटर खेल हुनेछ । यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टिम बाहिरिनेछ । त्यसैले पनि दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।
काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले लिग सुरु हुनु अघि नै साविक विजेताको हैसितले उपाधि जित्ने लक्ष्य राखेको र त्यसलाई निरन्तरता दिँदै प्लेअफ पुगेको बताए ।
‘मैले लिगअघि नै प्रिम्याचमा काठमाडौंले डिफेन्डिङ च्याम्पियनको हैसियतलाई निरन्ता दिनेछ भनेको थिएँ । लिग चरणमा केही उतारचढाव भयो । अन्तिम खेलमा ललितपुरलाई हराएपछि प्लेअफ खेल्ने अवसर पायौं’ महर्जनले भने । यसका लागि उनले खेलाडी टिम प्रशिक्षक स्टाफ व्यवस्थापन सबैलाई बधाई दिए ।

उनले अबको खेलमा पनि खेलाडीले त्यही मिहिनेतका साथ खेले च्याम्पियनको ताज कायम राख्न सकिने बताए । ‘हिजोको खेलमा योजना अनुसार सफल भयौं । अब आउने खेलमा यही लयका साथ खेल्न सकेमा अगाडि बढ्न सक्छौं ।’ लिग चरणको आफ्नो अन्तिम खेलमा ललितपुरलाई १-० ले हराउँदै काठमाडौं एलिमिनेटरमा पुगेको थियो ।
लिगमा तेहोरो पहेँलो कार्ड पाएका काठमाडौंका मिडफिल्डर कोमिवन एलिमिनेटरमा खेल्नै छैनन् । यस्तै ललिपुरविरुद्ध रातो कार्ड खाएका अमित तामाङ पनि उपलब्ध हुने छेनन् । त्यसैले काठमाडौंले यी दुई खेलाडी बिना खेल्नुपर्छ ।
त्यसका लागि विकल्प खोजेर तयारीका साथ आउनुपर्ने प्रशिक्षक महर्जनले बताए ।
काठमाडौंका कप्तान अन्जन राईले अब हुने खेलका लागि राम्रो तयारी गरेको बताए । उनले डिफेन्डिङ च्याम्पियन भएकोले लिगमा शीर्ष दुईमा रहने लक्ष्य बनाए पनि त्यसमा सफल नभएको बताए । लिग चरणमा वीरगञ्ज युनाइटेडसँग हारेपछि काठमाडौं शीर्ष २ मा पुग्नबाट चुकेको थियो ।
ललितपुरका मुख्य प्रशिक्षक इयान आन्द्रे गिलियनले एलिमिनेटर खेल डु अर डाईको रुपमा रहेको बताए । ‘अबको खेल डु अर डाई जस्तै हुनेछ । आशा छ मंगलबार हामीले राम्रो खेल खेल्दै सकरात्मक नतिजा ल्याउने छौं’, उनले भने ।

लिगको अन्तिम खेलमा काठमाडौं विरुद्ध नै खेल्दा केही आधारभुत गल्तीहरु भएको र अब त्यो गल्ती कम गर्ने उनले बताए ।
पछिल्लो केही खेलमा गोल हुन नसकेको स्वीकार गर्दै उनले विपक्षीहरुको अवस्था र आफ्नो खेलको कारण पनि गोल नभएको बताए । ‘आशा छ मंगलबार हामी गोल गर्छौं । अब यो खेल जसले जित्छ उही अगाढि बढ्छ । हामी सकरात्मक हुनुपर्छ ।’
ललितपुरका कप्तान अनन्त तामाङले लिगको अन्तिम खेलमा सोचे जस्तो नतिजा ल्याउन नसकेको र अबको खेलमा सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताए ।
तस्वीरहरू विकास श्रेष्ठ/अनलाइनखबर
 
                    










 २०८० पुष  ८ गते १९:००
                        २०८० पुष  ८ गते १९:००                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4