+
+

सुरक्षित एयरपोर्टका शर्त : आधुनिक प्रविधि र बलियो जासुसी संयन्त्र

हतियारधारी सुरक्षा फौज तैनाथ गरेर मात्रै विमानस्थलको सुरक्षा चुस्तदुरुस्त हुने होइन । यो प्रविधिमैत्री हुनुपर्दछ । त्यहाँ आधुनिक प्रविधिसँगै राज्यको जासुसी संयन्त्र पनि बलियो हुनुपर्दछ ।

नारायण अधिकारी, सुरक्षाविद् नारायण अधिकारी, सुरक्षाविद्
२०८० पुष १५ गते ९:०६

विमानस्थल सुरक्षाको हिसाबले संवेदनशील क्षेत्र मात्र नभई यो राष्ट्रको पहिचान र वस्तुस्थिति झल्काउने नेपाल आगमनको पहिलो विन्दु पनि हो । नेपालको विमानस्थलको सुरक्षा सम्बन्धी प्रश्न राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा नै पटक–पटक उठिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको मात्र होइन, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संयन्त्रको बारेमा पनि त्यतिकै मजबुत सुरक्षा प्रणाली आवश्यक छ ।

नेपालले पोखरा र गौतम बुद्ध विमानस्थलबाट प्रत्यक्ष अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिरहेको छ । उड्ने यात्रुको संख्या मात्र नभई त्यहाँ हवाई सुरक्षा र विमानस्थल सुरक्षा कति मजबुत छ भनेर मूल्यांकन गर्नु जरूरी छ ।

खासगरी ९ पुस २०५६ मा काठमाडौंबाट भारतको नयाँदिल्लीका लागि उडान भरेको इण्डियन एयरलाइन्सको आईसी–८१४ जहाज अपहरण पश्चात् नेपालको विमानस्थल सुरक्षा कमजोरी अन्तर्राष्ट्रिय रूपमा नै उदाङ्गियो ।

बितेको २४ वर्षमा नेपालमा धेरै जना प्रधानमन्त्री र गृहमन्त्री बनिसके । कति घटना भए, के के तस्करी भए, कति छानबिन समिति बने । तर, अहिलेसम्म पनि विमानस्थल सुरक्षा प्रणालीमा खासै ठूलो परिवर्तन हुन सकेन ।

विमानस्थलको सुरक्षा प्रणाली कमजोर छ भन्नुको अर्थ सुरक्षाकर्मीहरूले काम गरेनन्, वा सुरक्षा फौजको संख्या अपुग भयो भन्न खोजिएको होइन । विमानस्थलको सुरक्षा हतियारधारी सुरक्षा फौज तैनाथ गरेर मात्र चुस्तदुरुस्त हुने होइन । समयसापेक्ष र प्रविधिमैत्री हुनुपर्दछ । त्यहाँ आधुनिक प्रविधिसँगै राज्यको जासुसी संयन्त्र पनि बलियो हुनुपर्दछ ।

पछिल्लो समय मानव तस्करी, लागूऔषध तस्करी, सुन तस्करी र अन्य गैरकानुनी कार्यहरू भइरहेको घटना एकपछि अर्को आइरहनुले राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न भएको छ । तसर्थ विमानस्थलको सुरक्षामा प्रश्न उठ्नु राष्ट्रिय सुरक्षामाथिको प्रश्न हो ।

विमानस्थलमा खटिने राष्ट्रिय अनुसन्धान विभागको जासुसी र प्रति जासुसी दुवै प्रकृतिका संयन्त्रहरू सक्रिय हुनुपर्दछ । परम्परागत तवरबाट सूचना संकलनभन्दा पनि प्रविधिमैत्री इन्टेलिजेन्स हुनुपर्दछ ।

अझै उच्च राजनैतिक व्यक्तिहरू, व्यापारी घराना र त्यहाँ कार्यरत कर्मचारीहरूको समेत प्रत्यक्ष संलग्नतामा विभिन्न तस्करीका घटना बाहिरिनुले त मुलुकको सुशासन र नियम, कानुनको धज्जी उडाएको छ ।

राज्य संयन्त्र माथि नै आम नागरिकले विश्वास गर्न नसक्ने वातावरण सिर्जना हुँदै गइरहेको छ । यो एकदम दुःखलाग्दो कुरा हो । नेपालको विमानस्थल पहिले पनि आतंकवादीहरूले दुरुपयोग गरिसकेको र अन्तर्राष्ट्रिय मानव तस्करहरूले ट्रान्जिटको रूपमा प्रयोग गर्ने गरेकोले नेपाल अझ बढी सजग हुनु जरूरी छ ।

विमानस्थल सुरक्षा परिदृश्यका प्रमुख चुनौतीमा राजनीतिक अस्थिरता, तस्करहरूसँगको राजनीतिक गठबन्धन, सीमित व्यवस्थापकीय स्रोतहरू, अत्याधुनिक प्रविधिको अभाव, अध्यागमन डाटा व्यवस्थापन प्रणालीको अभाव, विमानस्थल प्रवेश पासको दुरुपयोग, अपर्याप्त नियम र कानुनहरू एवं सुरक्षा निकायका लागि स्पष्ट कानुनको अभाव लगायत थुप्रै कारण छन् ।

नेपालले विमानस्थल संयन्त्र बलियो बनाउन के–कस्ता सुरक्षाका उपायहरू अवलम्बन गरेर आधुनिकीकरण गर्न सक्छ भन्नेतर्फ राज्यको ध्यान जानु जरूरी छ । सर्वप्रथम नेपालको अध्यागमन विभागबाट नै सुरुवाती पहल गर्नुपर्ने देखिन्छ ।

अध्यागमन विभागलाई स्थायी प्रकृतिको अध्यागमन प्रहरी निकायको रूपमा परिणत गरेर यसलाई विशिष्ट खालको प्रविधिमैत्री निकाय बनाउन सकिन्छ । इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका व्यक्तिहरू, राज्यबाट खोजी गरेका आपराधिक गिरोह तथा यात्रुहरूको बायोमेट्रिक रेकर्ड राख्ने विशेष खालको सफ्टवेयर अध्यागमन विभागसँग हुन जरूरी छ ।

गैरकानुनी रूपमा प्रवेश गर्न खोज्नेदेखि नेपालभित्र भिसा सकिएर बसेकाहरूको समेत सम्पूर्ण विवरण हुनु जरूरी छ । अन–अराइभल भिसा दिंदा यात्रुहरूको प्रारम्भिक विवरण राम्रोसँग जाँच र अनुसन्धान गर्न सक्ने विशेष तालिमहरूको व्यवस्था गरेर कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ ।

भिसा जारी गर्दा कागजात यकिन जाँच गर्न अल्ट्राभ्वाइलेट लाइटको प्रयोग गर्न सकिन्छ । ६/६ महिनामा कर्मचारी फेरबदल भन्दा पनि कम्तीमा एक वर्ष त्यहाँ काम गर्ने वातावरण हुनुपर्दछ ।

विमानस्थलमा खटिने राष्ट्रिय अनुसन्धान विभागको जासुसी र प्रति जासुसी दुवै प्रकृतिका संयन्त्रहरू सक्रिय हुनुपर्दछ । परम्परागत तवरबाट सूचना संकलनभन्दा पनि प्रविधिमैत्री इन्टेलिजेन्स हुनुपर्दछ । आवश्यक परे विमानस्थलबाट नै निगरानी र नियन्त्रण गर्न सक्ने कानुनी अधिकार हुनुपर्दछ ।

आतंकवादी गतिविधिमा संलग्न मानिसको आगमनलाई पहिचान गर्दै रोक्न, जाली नोट र टेरोरिस्ट फाइनान्सिङलाई नियन्त्रण गर्न प्रहरीको विशेष ब्यूरोको परिचालन अझ प्रभावकारी बनाउन सकिन्छ । ‘स्निफिङ्ग डग’लाई २४सै घण्टा ड्युटीमा राख्न सके लागूऔषध, हातहतियार जस्ता कुरा सजिलै पत्ता लगाउन सकिन्छ ।

राष्ट्रका महत्वपूर्ण संरचनामाथि अन्तर्राष्ट्रिय आपराधिक गिरोहहरूले साइबर हमलाको प्रयास गरिरहेका छन् । नेपालको विमानस्थलमा साइबर सुरक्षाको प्रणाली अत्यन्त कमजोर छ । देशभित्र हमला हुँदा कुन निकायले त्यसको काम–कारबाही गर्ने भन्ने प्रष्ट छैन ।

यसको लागि साइबर सम्बन्धी आपराधिक घटना भए नेपाल प्रहरीको साइबर ब्युरो र विमानस्थलको साइबर प्रतिरक्षा गर्नुपर्ने स्थिति आए नेपाली सेनाको साइबर निर्देशनालयलाई राज्यले विशेष जिम्मेवारी दिनुपर्दछ ।

विगतमा एयर बंगला जहाज दुर्घटना हुँदा उद्धार कार्यमा भएको कमि–कमजोरीबाट भविष्यमा पाठ सिक्नु जरूरी छ । विमानस्थल विपत् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बललाई स्रोत–साधनयुक्त बनाई २४ सै घण्टा तैनाथ गर्न सकिन्छ । यसको अलावा विमानस्थलमा ठूलो संकट आए संकटमोचनको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिने वातावरण र कानुन बनाउन सकिन्छ ।

विमानस्थलमा कार्यरत सम्पूर्ण कर्मचारी, प्राइभेट कम्पनी, पसल, क्याफे सञ्चालन गर्ने व्यक्तिहरू र कर्मचारीको सेक्युरिटी भेटिङ्ग, राष्ट्रिय अनुसन्धान विभाग अथवा नेपाल प्रहरीबाट हरेक वर्ष गर्नुपर्दछ । हाललाई पोखरा र गौतम बुद्ध विमानस्थलको सुरक्षाको सम्पूर्ण जिम्मेवारीमा सशस्त्र प्रहरी बललाई खटाउन सकिन्छ ।

(अधिकारी राष्ट्रिय सुरक्षा र आतंकवाद मामिलाका अध्येता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?