+
+

३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिए

गौरव पोखरेल गौरव पोखरेल
२०८० पुष २२ गते २०:१७

२२ पुस, काठमाडौं । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी विमल पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका छन् ।

उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी जारी गरिसकेको खुलेको छ ।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए ।

घलेले बयानका क्रममा पोद्दारको नाम लिएपछि उनी छानबिनको दायरामा आएका हुन् । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट छ । मीनबहादुरले बयानका क्रममा सन् २०१४ मा उनीसँग मिलेर काम गरेको बयान दिएका थिए ।

‘सरकारी वकिलले थप अनुसन्धान गर्न भनेपछि उनको कल डिटेल रेकर्ड हेर्नेदेखि अरु प्राविधिक पक्षको अनुसन्धान थालेका छौं’, भन्सारका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

यूएईबाट ल्याइएको तस्करीको ३३ किलो सुन गायब भएपछि खोज्ने क्रममा चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले भरिया सनम शाक्यलाई यातना दिएको थियो । त्यसक्रममा शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण चर्चामा आएको थियो, यसमा प्रहरीका उच्च अधिकृतहरुमाथि पनि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको थियो ।

२०७४ मा ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिको अनुसन्धानका क्रममा व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।

जिल्ला अदालत, मोरङले संगठित सुन तस्करीको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पछि उच्च अदालतबाट पोद्दार धरौटीमा छुटेका थिए ।

पोद्दारको बयानमार्फत सुन समिति एक चर्चित व्यवसायीसम्म पुगेको थियो । तर, उनलाई नियन्त्रणमा लिने तयारी भइरहेका बेला उच्च राजनीतिक नेतृत्वले छानबिन समितिलाई अनुसन्धान प्रतिवेदन बुझाउन दबाब दिएको थियो ।

हालसम्म पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन गायब छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले प्रतिवेदन खोज्दा समेत पाएन । त्यसमा अनुसन्धान गर्नुपर्ने भन्दै थप व्यक्तिहरुको सूची भएकाले प्रतिवेदन गायब पारिएको स्रोत बताउँछ ।

क्रिप्टो र हुण्डी कारोबारमा पक्राउ पूर्जी

१४ किलो सुन प्रकरणमा छानबिनको दायरामा आएपछि भन्सार कार्यालयले पोद्दारको खोजीका लागि प्रहरीको सहयोग मागेको थियो । त्यसक्रममा उनीविरुद्ध पहिल्यै पक्राउ पूर्जी जारी भइसकेको खुलेको छ ।

भन्सारका एक उच्च अधिकृतका अनुसार, ६ मंसिरमा हुण्डी कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका रुपेश श्रेष्ठमाथि अनुसन्धानका क्रममा पोद्दारको पनि संलग्नता देखिएको प्रहरीले भनेको छ । त्यही मुद्दामा पोद्दारलाई पक्राउ पूर्जी जारी गरेर खोजी भइरहेको प्रहरीले जवाफ दिएको भन्सार स्रोतले बतायो ।

सीआईबीका एक उच्च अधिकृतले पनि अनलाइनखबरसँग पोद्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गरे ।

ब्यूरो स्रोतका अनुसार, श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजत पत्र नलिई विद्यूतीय माध्यमबाट क्यास एप जस्ता मोबाइल एप्लिकेसन प्रयोग गरेर हुण्डी, अनलाइन जुवा, क्रिप्टो र अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण भेटिएको छ ।

उनीमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारको नाम खुलेको थियो । त्यसपछि उनको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । ब्यूरो स्रोतका अनुसार, उनको खोजी गर्दै उनको घर लगायतका स्थानमा पनि पुगेको थियो । यद्यपि, उनी भेटिएनन् ।

पोद्दार विदेश गएको हुनसक्ने प्रहरीको आशंका छ । ‘इन्टरपोलमार्फत नोटिस जारी गराउने तयारी भइरहेको छ’, ब्यूरोका एक अधिकृतले भने ।

१४ किलो सुन प्रकरणमा सरकारी वकिलले बयानबाट खुलेका पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धान गर्न भनेको छ ।

भन्सारका अनुसार, अंकित अग्रवालले चन्द्र घलेहरुलाई दुबईबाट सुन पठाउने गरेका थिए । गुरु भनिने व्यक्तिले भारत लैजाने गरेको देखिएको थियो ।

‘अनुसन्धान गर्न भनेकामध्ये जीवनलाई यसअघिदेखि नै खोजी रहेका छौं’, एक अधिकृत भने, ‘उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको छ ।’ गुरुङ डिल्लीबजारस्थित प्याटिनम कलेजका सञ्चालक समेत हुन् ।

घलेको समूहले विमानस्थलको अध्यागमनसँगै रहेको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन लुकाएर तस्करी गर्दै आएका थिए । यो समूहले १३८ किलो सुन तस्करी गरिसकेको निष्कर्षसहित भन्सारले अदालतमा समेत मुद्दा दायर गरेको छ ।

यो प्रकरणमा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेको थियो ।

यसरी तस्करी भएर आउने सुन विमानस्थलबाट निकालेपछि बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पुर्‍याउने गरेको देखिएको थियो । गुरुङले विमानस्थलभित्र कर्मचारीको सेटिङ मिलाउन सहयोग गरेको भन्सारका अधिकृतहरु बताउँछन् ।

गुरुङ फरार छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?