+
+

बिल गेट्सको प्रक्षेपण : आगामी ५ वर्षमा एआईले हाम्रो जीवन यसरी परिवर्तन गर्नेछ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:१६

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक अर्बपति बिल गेट्स आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिका सम्बन्धमा सकारात्मक विचार राख्दछन् भन्ने कुरा जगजाहेर नै छ । तर उनले एक कदम अघि बढ्दै आगामी ५ वर्षमा यो प्रविधिले हाम्रो जीवनमा पार्ने रुपान्तरणकारी प्रभावहरुका बारेमा पनि प्रक्षेपण गरेका छन् ।

उनका अनुसार एआई आगामी ५ वर्षमा सबैका लागि रुपान्तरणकारी हुनेछ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको उदयले विश्वभर दशौँ लाख रोजगारी खाइदिने त्रास बढाएको छ । अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार एआइका कारण विश्वका ४० प्रतिशत रोजगारीमा प्रभाव पर्न सक्दछ ।

हुनत गेट्स पनि यो मान्यतामा असहमत छैनन् । तर उनको विश्वास के छ भने हरेक नयाँ प्रविधि डरसँगै नयाँ अवसर पनि लिएर आउने कुरा इतिहासले देखाएको छ ।

सिएनएनका फरिद जाकारियालाई मंगलबार दिएको अन्तरवार्तामा गेट्सले प्रक्षेपण गरेका छन् कि एआईले सबै मानिसको जीवनलाई सजिलो बनाउनेछ । यसले डाक्टरहरुलाई आफ्नो कागजी काम (जो उनीहरु गर्न मन पराउँदैनन्) सम्पादन गर्न सहयोग गर्नेछ र कामहरु निकै उत्कृष्ट ढंगले सम्पन्न हुनेछन् ।

बिल गेट्स भन्छन्, ‘धेरै नयाँ हार्डवेयरको खाँचो नपर्ने हुनाले मानिसहरुले आफूसँग पहिले नै भएको फोन वा कम्प्युटरमा पहिले नै जडान गरेको इन्टरनेटबाट एआईमा पहुँच राख्न सक्नेछन् ।

उनले ओपन एआईले विकास गरेको च्याट जिपिटी–४ को सुधार पनि नाटकीय रहेको भन्दै भनेका छन् : यसले लेख्न र पढ्न सक्छ । त्यसैले यो सबैजसो काम गर्न सक्ने स्वेतपोशी कामदार भएजस्तै हो जो एक्लैले पढाउन, स्वास्थ्य सल्लाह दिन, कोड लेख्न तथा प्राविधिक सहयोगका लागि कल गर्न पनि सक्दछ ।

उनका अनुसार यो प्रविधिलाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समायोजन गर्न सकिएमा त्यसले गज्जबको नतिजा ल्याउनेछ । एआई च्याटबट च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईमा माइक्रोसफ्टले अर्बौँ डलर लागनी गरेकोछ । र, गेट्स माइक्रोसफ्टका सबैभनदा ठूला शेयरधनी मध्ये एक हुन् ।

डाभोसमा चलिरहेको वल्र्ड इकोनोमिक फोरमका सिलसिलामा सिएनएनका जकारियासँग कुराकानी गर्दै गेट्सले भनेका छन् : गेट्स फाउन्डेसनको उद्देश्य भनेको गरीब देशका जनताले लाभ प्राप्त गर्न लाग्ने समय र धनी देशमा पुग्ने समयबीचको अन्तर निकै कम पार्नु हो ।

एआईले ल्याउने प्रभावका बारेमा बोल्दै उनी भन्छन्, ‘सन् १९०० मा जब हामीसँग कृषि उत्पादन मूख्य क्षेत्रको रुपमा थियो तब मानिसहरुले त्यसबाहेक के गर्लान् ? भन्ने थियो । तर त्यसपछि धेरै नयाँ कुराहरु तथा धेरै खालका नयाँथरी रोजगारीहरु सिर्जना भए । र, अहिले हामी सबैजनाले कृषिपेशा गर्ने त्यो समयभन्दा धेरै राम्रो अवस्थामा आइपुगेका छौँ । भविष्यमा एआईले ल्याउने परिवर्तन पनि यस्तै हुनेछ । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?