+
+
संगीत :

राहगिरसँग हात मिलाउनुहोस्

तपाईं एकपल्ट कसैगरी राहगिरसँग हात मिलाउनुहोस् । प्रविधिले संगीतलाई उन्नतिको चुलीमा र यान्त्रिकताको अधोगतिमा एकैपल्ट पुर्‍याइदिएको छ । केही फरक सुनिन सक्छन् राहगिर ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० माघ ६ गते २०:००

एक राजस्थानी गायक, जसले शब्द र ध्वनि मार्फत नयाँ पुस्तालाई आफूसँगै यात्रा गराइरहेका छन् । नाममा के छैन र- राहगिर !

पंकज त्रिपाठी अभिनित सिनेमा ‘शेरदिल’ हेर्नुभएको भए त्यहाँ राहगिर नामका यी गायकले गाएको गीत ‘आदमी भुतिया है’ भेट्टाउनुहुन्छ । आफ्नै घरको साधारण स्टुडियोमा अक्वस्टिक गितार बजाउँदै ‘आदमी चु…या है’ रेकर्ड गरेर चर्चित बन्न पुगेका झर्रा गायकलाई टि-सिरिजले आफ्नो ‘लेबल’ दिंदा ‘आदमी भुतिया है’ बनाउन पुग्यो । उनको वास्तविक पहिचान चाहिं मास्टरिङ नगरिएका काँचा आवाजहरू युट्युब र स्पटिफाईको संसारमा पठाउनुमा नै रहे-बसेको छ ।

आफूलाई गायक कम, लेखक बढ्ता मान्ने राहगिर साधारण आवाज भएका ठिक्कैका गायक हुन् । शब्दमा अजीबको पकड छ, स्वर साधारण । गितारमा उनले खेल्ने कर्डहरू उत्रो विशिष्ट छैनन् । तर यिनै राहगिरले यतिबेला श्रोताहरूको ध्यान खिच्न सफल भएका छन् ।

राहगिर अर्थात् बटुवा । उनको पुरानो नाम सुनील हो । खास परिचय त्यही हो, जो व्यक्तिले आफूलाई अरूका सामु व्यक्त गर्छ । सन् १९९३ मा राजस्थानको सिकर गाउँमा जन्मिएका राहगिर आफ्नो गाउँका पहिला इन्जिनियर हुन् । पुणेमा आएर नौ-पाँचवाला जागिर खाने बेला परिवारमा पूरा उल्लास थियो । जागिरले दैनन्दिन खुसी मिले पनि उनको स्वखोज यो थिएन । उनले आफूलाई चुनौतीपूर्ण बाटोमा होमेः बटुवा बन्ने । लेखक बन्ने । गायक बन्ने ।

नाम जस्तै साँच्चिकै पथिक, मुसाफिर लाग्छन् राहगिर । घुमक्कड हुँदै जाँदा उनले जीवनका तहहरू पत्र-पत्रमा देखे । उदासी, बेचैनी, एक्लोपन हुँदै अवसादकै शिकार पनि बने । कतिपय गीतहरू अवसादकै बारेमा पनि रचेका छन् । तनखाले तन खाइरहेको स्वयंबोध गर्छन् । उनको गीतै छ : तन खा गई ये तनक्खा !

आजको जीवनसँग निराश मात्रै भएर दिन कटाउँदैनन् राहगिर । उनको कल्पनामा अर्को संसार छ :

बापू ने बताया था बचपनमें
एक और भी दुनियाँ है कहीं

मास्टरिङ नगरिकन कच्चै छाडिदिएको रेकर्डिङमा राहगिर एक्विस्टिक गितार बोकेर गाइरहन्छन् । प्रेमी र प्रेमिकाको दुःखसुख बाहेक संसारमा अर्थोक केही छैन झैं गरी गीत लेख्छन् गीतकारहरू । ‘धोका’ का कथा बुनिन्छन्

ठेट देहाती झर्रा शब्द लेख्छन् : ‘तेरो सामुन्नेमा भइरहेको यत्रो अन्याय पनि देख्न सक्दैनस् भने गएर मर्’ भन्ने टाइपका । अर्को त्यस्तै गीत, जसले उनलाई पूरा हिन्दुस्तानभरि चिनायो : आदमी चु…या है ।

राहगिर यसरी नै घुमिरहन्छन्, गद्य-पद्य लेखिरहन्छन्, गीत गाइरहन्छन् । समयलाई संयममा पकडेर राख्ने उनको आफ्नै कला छ ।

यी राहगिरका बारेमा मलाई पहिलोपल्ट थाहा दिएका हुन्, भक्तपुरस्थित यज्ञशालाका जेसन अधिकारीले । शिवपुरीको उकालोमा उनले म, पौडीबाज गणेश पाण्डे र मित्र कपिल मौनलाई स्पटिफाई खोलेर ‘आदमी चु…या है’ नसुनाएको भए मैले धेरै ढिलोगरी राहगिर सुन्न पाउँथें हुँला । प्रिय जेसन, तिमीलाई सर्वकालीन धन्यवाद ।

संस्कारको अभिनय गर्न बानी परेका हामीलाई सुन्दा छाडा लाग्ने गीत बीचका केही शब्दहरू, तर त्यसैमा मान्छेभित्रको दोहोरोपन उद्घाटित गरिदिएका छन् राहगिरले । खेतभरि बस्ती बसालेर मान्छे अलिकति बचेको बाटोमा पनि घर नै थप्न खोज्छ । त्यसैलाई आफ्नो घर अगाडि नदी बहेको हेर्न मन लाग्छ । देख्यौ, मान्छे कति घटिया छ ? राहगिरका गीतहरूमा यस्तै भाव पाइन्छ ।

असली कलाकार त्यो हो, जसको कलाले सहज मानिसहरूलाई असहज पार्छ, अनि असहज मानिसहरूलाई सहज । राहगिरले आफूलाई सामाजिकताको सर्टकर्टमा अधीनस्थ हुन इन्कार गरे । गाउँको शोषणलाई उनले किताबका पानाहरूमा पढेको भरमा बुझेनन्, आफ्नै आँखाले देखे । एउटा आलसी मध्याहृनमा रूखको मुन्तिर बसेर पँधेरोमा पानी भर्न गइरहेका युवतीहरूलाई उनले देख्न त देखे, तर अर्कै सर्जकको न्यायपूर्ण आँखाबाट । जब ती केटीहरूलाई तल्लो जातको भनेर, गरिब भनेर ठूलाठालूले पानी भर्न अवरोध गर्छन्, त्यहाँ राहगिरको सौन्दर्यचेतना भन्दा बढ्ता शब्द-शक्ति हावी हुन्छ । त्यसपछि लेखिन्छ : एक आलसी दोपहर । युट्युबमा खोजे सहजै भेटिन्छ ।

जेसन, कपिल, गणेश र म बूढानीलकण्ठको इस्कोनमा गायक सुजिल कर्माचार्यको हरे राम हरे कृष्ण सुनिसकेर भदौको कुनै दिन राहगिर सुन्न थाल्दै थियौं ” जाहिलोंका कोई शहर नहीं, क्या जयपूर क्या दिल्ली । स्पटिफाईमा लगालग बजिरहेथ्यो : जब बुरे दिन थे तो, काँटो ने भी मजे लिए ।

व्यस्त दैनिकीको घन्चमन्चमा छोपिएको मान्छेको पीडा छ । कामले मान्छेलाई घरबाट खोसेर लगेको पीडा छ । मान्छे व्यक्ति कम, वस्तु बढ्ता बन्दै गएको छ । ऊ आफ्नो अस्तित्वको खोजीमा छट्पटाएको छ । या त तनाव नहोस् भनेर उसले सोच्नै छोडिदिएको छ ।

लाग्छ- जन्म छ, र छ मृत्यु । घर र कारखानाको बीचमा मान्छेको अर्काे छुट्टै कुनै जीवनयात्रा छैन । राहगिरको प्रश्न यही जीवनशैलीमाथि छ । उनका प्रत्येक गीतहरूमा असली मनुष्यत्वको अनन्त खोजी छ । सक्छौ भने कसैलाई मद्दत गर, तर परपीडक नहोऊ- राहगिर यो भनिरहेका छन् आफ्ना गीतहरूबाट ।

कुनै बेला नेपालमा रामेश, मञ्जुल, अरिम, रायनहरू गितार बोकेर आम मान्छेका कथा सुन्दै सुनाउँदै हिंडेको कुरा पनि अब त कथा हुन लागिसक्यो । आभासले गाएका, संगीत भरेका गीतहरू नयाँ पुस्तालाई कत्तिको हेक्का होला ! ‘कोशी छेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म’ भन्दै बुढो माझीको कथा सुनाउँदा होस् या रूसको भोल्गा नदी किनारकी फुच्ची केटीलाई आकाश नै आकाश भरि, हावा नै हावा छरी भेट्न जाने चाहना अब कतिलाई सम्झना होला !

‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू- हाम्रा गीतहरू’ भनेको पनि अब त सुनिन छाड्यो । ‘गोधूलिमा हिंड्ने एउटा जिउँदो मान्छे’ जस्ता गीतहरूलाई स्वस्फूर्त सुन्ने वातावरण हिजोआज छैन । चेतनारायण राई र जीवन शर्मालाई आवाजहरूमा जोगाइराख्नै कठिन छ ।

तैपनि छन् यतै कतै ‘बागमती खोली’ वा ‘चरी लैजा समाचार’ गीत बहाउनलाई अन्जान बाबुहरू । नाइट ब्यान्डको तुइन, बासै बगायोहरू नभएका पनि होइनन् । तर संगीतको बारेमा यतिका धेरै कुरा हुने देशमा यी प्रयासहरू बुँद बराबर छन् । नजिकै भारतमा एक जना युवा त्यस्तै अस्तित्वबोध, त्यस्तै विद्रोहको चेतले जति दिइरहेका छन्, त्यसले हामीलाई नेपालकै राल्फाकालीन समय सम्झाउँछ । अनि नयाँ पुस्तालाई क्लिशे प्रेमको गीतमा रत्तिन, फोसा राष्ट्रगानमा बत्तिन छाडेर भुइँमान्छेहरूको मर्कामा घोत्लिन उत्प्रेरित गर्छ ।

मास्टरिङ नगरिकन कच्चै छाडिदिएको रेकर्डिङमा राहगिर एक्विस्टिक गितार बोकेर गाइरहन्छन् । प्रेमी र प्रेमिकाको दुःखसुख बाहेक संसारमा अर्थोक केही छैन झैं गरी गीत लेख्छन् गीतकारहरू । ‘धोका’ का कथा बुनिन्छन् । प्रेममा आफूले अन्याय पो गरें कि, कतै अर्को साथीले मसँग विद्रोह पो गर्‍यो कि- गीतकारलाई सोच्ने फुर्सद छैन । कहिलेकाहीं गीतकारको सीमित कल्पनाशीलता देखेर लाग्छ : प्रेम यिनका लागि फगत मृगतृष्णा, रोमाञ्च र धोका मात्रै हो भने यिनले बरु ‘धोका’ खाएकै ठिक छ । तब त कसैको दुःखमा पनि खिसीटिउरी गर्न मन लाग्छ ।

तर यो परपीडक बानीका रूपमा चित्रित नहोस् । गीत त राहगिरले पनि लेख्छन्, आफ्नी प्रेमिकाको लागि । गाउँमा साहुले खाइदिएको खेत निखन्न नसकिरहेको मजदुर मुम्बईमा रिक्सा चलाउँछ । उसको संघर्ष र वेदना देखेर व्यथित कविलाई प्रेमिकाको पातलो कम्मर देखेर कविता लेख्ने रहर नै पलाउन सक्दैन । अनि ऊ प्रेमिकासँग माफी माग्दै लेख्छ : ओ मेरी प्रेमिका । यो राहगिरको गीत हो, जहाँ प्रेमिकाको लागि टन्नै प्यार छ । तर त्यसको पनि सीमा छ । किनकि छलछाम, अँध्यारो र धक्कामुक्कीले घेरिएको समाजमा प्रेम मात्रै अलग्गै टापुमा बाँच्दैन । त्यो गीतकार राहगिरलाई थाहा छ । राहगिरले जानका शब्दहरूलाई उनकै संगीत र आवाजले गाइदिन्छन्, ‘ओ मेरी प्रेमिका !’

राहगिरले कैसा कुत्ता है शीर्षक कविताको पुस्तक छपाएका छन् । पहिलो उपन्यास ‘आहिल’ सार्वजनिक भइसकेको छ । प्रिय पाठक, तपाईं एकपल्ट कसैगरी राहगिरसँग हात मिलाउनुहोस् । प्रविधिले संगीतलाई उन्नतिको चुलीमा र यान्त्रिकताको अधोगतिमा एकैपल्ट पुर्‍याइदिएको छ । केही फरक सुनिन सक्छन् राहगिर । हुनसक्छ, तपाईं हाम्रो लागि यस्तो पनि संगीत । उनी हिजोआज मानसिक स्वास्थ्यका बारेमा गीत बनाइरहेका छन् । कुनै बेला कबिरसँग बातचित गरिरहेका हुन्छन् ।

क्या लेके आकार बन्दे क्या लेके जायेगा
दो दिनकी जिन्दगी है दो दिनका मेला
राहगिरा मिला कबिर से
बोला सुन मेरे भाई
खडा हुँ ऐसे मोडपर
आगे कुआँ पिछे खाई
कहा था तुमने जिन्दगी दो दिनकि भाई रे
मुझे दर्द मे जिते हो गये दिन ढाई

उनको अर्को गीत छ :

अभी पतझड नहीं आया, अभी से पत्ते झडगए,
भाई राहगीर, ये हम कौनसी गाडी पे चढ गए ।
अभी है बाप जिंदा, बेटे बंटवारे को लड गए,
भाई राहगीर, ये हम कौनसी गाडी पे चढगए ।

हरियाली के साथ क्या पंछी भी सारे मर गए?
दिखते नहीं हैं आजकल, सारे ही जाने किधर गए ।
दुनिया में क्या बापू, ऐसा ही होता है ?

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?