+

स्वास्थ्यसम्बन्धी सात भ्रम

२०८० माघ  ८ गते १३:२८ २०८० माघ ८ गते १३:२८
स्वास्थ्यसम्बन्धी सात भ्रम

चिनी खाएन भने मधुमेहको समस्या हुन्न । धेरैको बुझाइ यही छ । तर यसमा कति सत्यता छ ?

‘मोटोपन’ अहिले धेरैको टाउको दुखाइको विषय बनेको छ । त्यही कारण कसरी मोटोपन घटाउने भन्ने कुरामा खुब चर्चा र चासो हुने गर्छ । जबकि दुब्लोपनप्रति मान्छेले यस्तो चासो राख्दैनन् । त्यसो भए दुब्लो हुनु स्वस्थ हुनु हो त ?

यस्ता थुप्रै भ्रम र विरोधाभास छन् स्वास्थ्यका सम्बन्धमा । यहाँ यस्तै सात भ्रमको चिरफार गरिएको छ ।

दुब्लो वा पातलो हुनु स्वस्थ हुनुको निशानी हो

जनरल फिजिसियन प्रा. डा. लोचन कार्की भन्छन्, ‘शरीरको तौल बढी हुनु वा मोटोपन हुन जति चिन्ताको विषय हो, उत्ति नै दुब्लोपन पनि । अस्वाभाविक रुपमा कम तौल हुनु भनेको स्वस्थ हुनु होइन ।

शरीर मोटो हुँदा उच्च रक्तचाप, मधुमेहको जोखिम हुन्छ भने दुब्लो हुँदा कुपोषणको । धेरै दुब्लो हुँदा शरीरको रोगप्रतिरोधी क्षमता पनि कमजोर हुन्छ । उनीहरुले खानाको माध्यमबाट जति क्यालोरी (ऊर्जा) लिन्छन्, त्यति नै खपत भइरहेको छ वा सञ्चित हुन पाएको छैन भने उनीहरुलाई चाँडै रोगले गाँज्न सक्छ ।

मान्छेको तौल उचाइअनुसार कति हुनुपर्छ भन्ने बडी मास इन्डेक्स (बीएमआई)ले जनाउँछ । जस्तो शरीरको लम्बाइ ५ फिट दशमलव ५ इन्च छ भने तपाईंको सेन्टिमिटरमा यो १७० सेन्टिमिटर हो । अब यसबाट  १०० घटाइदिने हो भने बाँकी ७० रहन्छ ।

तपाईंको उचाइ ५ फिट ५ इन्चको छ भने तौल ७० केजी हुनुपर्छ । यो भन्दा कम वा बढी तौल सही हुँदैन ।

बोसोयुक्त खानेकुरा खराब हुन्छ

पोषणविद् आरेम कार्की भन्छन्, ‘शरीरमा कोषहरू बन्नका लागि फ्याट (चिल्लो) आवश्यक हुन्छ । फ्याटबाट  हार्मोन, मस्तिष्कको पनि विकास हुन्छ ।’ उनका अनुसार ‘ए’, ‘डी’, ‘ई’ जस्ता भिटामिनहरू सोस्न पनि फ्याट चाहिन्छ । फ्याटले शरीरलाई ऊर्जा दिनुका साथै भिटामिन ‘डी’ पनि पनि दिन्छ । साथै फ्याटले हड्डीहरूको जोर्नीमा ल्युब्रिकेन्ट्स काम पनि गर्ने हुनाले दैनिक रुपमा फ्याटको सेवन शरीरको लागि आवश्यक हुन्छ । बोसोयुक्त खानेकुरा शरीरलाई आवश्यकभन्दा बढी खाँदा शरीरले खर्चिन सक्दैन र मोटोपनको समस्या बन्न सक्छ ।

दैनिक रूपमा हामीले खानामा २५ देखि ३० प्रतिशत फ्याट समावेश गर्नुपर्ने हुन्छ । त्यसैले चिल्लो तथा बोसोयुक्त खानेकुरा खानै हुन्न खराब हो भन्नु गलत हो ।

चिनी नखाँदा मधुमेह लाग्दैन

मधुमेह, थाइराइड तथा हार्मोन विशेषज्ञ डा. बजरंगकुमार रौनियार भन्छन्, ‘चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह  लाग्दैन भन्ने भ्रम छ । जबकि मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन । हामीले खाएको जुनसुकै खानेकुरा जस्तो भात, दाल मासु पाचन भएपछि अन्तिममा चिनी ‘ग्लुकोज’मा परिणत हुन्छ । शरीरमा ग्लुकोज खपत भन्दा बढी हुन गयो बोसोको रूपमा संग्रहित हुन्छ । त्यसो त बोसो नै ऊर्जाको स्रोत हो । जब हामी शारीरिक वा मानसिक गतिविधि गर्छौं, बोसो ऊर्जामा रूपान्तरण हुन्छ ।

यदि हाम्रो शारीरिक गतिविधि भएन भने यो बोसो जमेर बस्छ । कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ । त्यसैले मैले चिनी खाएको छैन, मलाई मधुमेह हुँदैन भन्नु भ्रम मात्र हो ।

वंशाणुगत कारण, मोटोपन, व्यायामको कमी , अस्वस्थ खानपान, उच्च रक्तचाप र रगतमा बढी कोलेस्टेरोल आदिको कारण पनि मधुमेह हुनसक्छ । त्यसैले चिनी नखाँदैमा मधुमेह नहुने होइन ।

आयुर्वेदिक औषधि आँखा चिम्लेर खान मिल्छ

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय भन्छन्, ‘आयुर्वेदिक औषधि हो, जडीबुटी हो खाँदा केही नराम्रो हुँदैन भन्ने आम बुझाइ पाइन्छ । तर कुनै पनि आयुर्वेदिक औषधि खान मिल्दैन । यी औषधिहरू आँखा चिम्लेर खरिद गर्ने, प्रयोग गर्ने गल्ती नगरौं । किनभने आफूखुसी यसरी औषधि किनेर प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

जसरी एलोपेथिक औषधि चिकित्सकको सल्लाहअनुसार मात्रा मिलाएर खानुपर्छ । त्यसरी नै आयुर्वेदिक औषधि पनि मात्रा मिलाएर चिकित्सकको सल्लाहअनुसार खानुपर्छ ।

आयुर्वेदका भष्म तथा विषाक्त औषधि जथाभावी खायो भने तुरुन्तै साइड इफेक्ट देखा पर्छ  । यस्ता औषधिको जथाभावी प्रयोगले मिर्गौला र कलेजो समेत खराब गर्न सक्छ । त्यसैले आयुर्वेदिक औषधि आँखा चिम्लेर खान मिल्दैन ।

उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवनभर छाड्न मिल्दैन

वरिष्ठ मुटुरोग विशेषज्ञ हरिहर खनाल भन्छन्, ‘चिकित्सकले उच्च रक्तचापको बिरामीलाई बेलाबेलामा फलोअप गर्न बोलाइरहेका हुन्छन् । जाँच गर्दा प्रेसर घटबढको अवस्थालाई मूल्यांकन गरेर औषधि घटाउने वा छाड्ने गर्न मिल्छ । बिरामीले आफूखुसी औषधि नछाडुन् भन्ने मनसायले प्रेसरको औषधि छाड्न मिल्दैन भनिएको हो ।’

आफूखुसी औषधि छाड्दा स्ट्रोक (मस्तिष्कघात), प्यारालाइसिस (पक्षघात)को समस्या भोग्ने धेरै छन् । त्यही कारण प्रेसरको औषधि छाड्न मिल्दैन भनिएको हो । औषधि घटाउन, बढाउन वा छाड्नै नमिल्ने भने होइन मिल्छ ।

चामल र आलुले मोटोपन बढ्छ

पोषणविद् अनुश्री आचार्य भन्छिन्,  ‘चामल र आलु कार्बोहाइड्रेटको स्रोत हुन् । हामी यी खानेकुरा खान्छौं, त्यो शरीरमा पुगेपछि ग्लुकोजमा रूपान्तरण हुन्छ । ग्लुकोज बोसोको रूपमा सञ्चित हुन्छ । हाम्रो शारीरिक वा मानसिक गतिविधिसँगै बोसो ऊर्जामा रूपान्तरण भई खपत हुन्छ ।

तर हाम्रो शारीरिक गतिविधि यथेष्ट भएन भने खपत हुन नसकेको ग्लुकोज बोसोको रुपमा जमेर बस्छ । कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ । तर मानिसको उमेर, शारीरिक अवस्था र उसले गर्ने कामको आधारमा उसको लागि कति कार्बोहाइड्रेट जरुरी हुन्छ भन्ने निर्धारण गर्न सकिन्छ । त्यसैले सही मात्रामा चामल, आलु खाँदा पनि मोटोपन हुन्छ नै भन्ने छैन ।

सुगर फ्री खानेकुरा राम्रो हुन्छ

मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपेन्द्र कार्की भन्छन्, ‘सुगर फ्री खानेकुरामा एडेड सुगर अतिरिक्त चिनी प्रयोग भएको हुँदैन । तर यस्ता खानेकुरा पनि कार्बोहाइड्रेटबाट मुक्त हुँदैनन् । जसले गर्दा यस्ता खानेकुराको सेवनले पनि शरीरमा सुगरको लेभल बढ्छ । त्यसैले सुगर फ्री खानेकुरा स्वस्थकर हो भनेर ढुक्क हुन सकिंदैन ।’

अतिरिक्त सुगरको मात्रा भएको भन्दा सुगर फ्री खानु उपयुक्त हुन्छ, तर सधैं खान भने हुँदैन । किनकि यस्ता खानेकुरामा पनि कार्बोहाइड्रेट हुने भएकाले अधिक सेवनले सुगर बढाउन सक्छ ।

भ्रम स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?