८ माघ, काठमाडौं । युवा ब्याटर नरेन भट्टको शतकको बाबजुद सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ मा पहिलो हार ब्यहोरेको छ । सुदूर मधेश प्रदेशसँग ८० रनले पराजित हुन पुगेको हो ।
जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमा अल आउट भयो ।
सुदूरका नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।
उनी सुदूरबाट पिएमकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । नरेन स्पिनर प्रदीप पासवानको ४५ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा स्टेटमा पवन सरार्फबाट क्याच हुन पुगेका थिए ।
नरेनले गत जुलाईमा एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा मलेसियाविरुद्ध ११२ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए ।
नरेन बाहेक अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर खडक बोहरा १४, टेक रावत शून्य, किरण ठगुन्ना २०, राजु रिजाल ५, नारायण जोशी २६, गजेन्द्र बोहरा १२, मिलन बोहोरा ७, शेर मल्ल २, नरेन साउद १८ रनमा आउट भए ।
मधेशका राजेश यादवले ६ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले ९।५ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमारले २, हरिशंकर शाह र पवन सरार्फले १–१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।
मधेशको जितमा मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेका थिए । मयनको यो करिअरको पहिलो शतक हो ।

व्यक्तिगत ५० रनमा टेक रावत र ५१ रनमा विकाश आग्रीले क्याच छाड्दै शतक यात्रा सहज बनाइदिएका थिए । मधेशका अनिल साह र पवन सरार्फले पनि उत्कृष्ट ब्याटिङ गरे । तर शतकमा परिणत गर्न सकेनन् । पवन सरार्फ ६३ बलमा ४ चौका र ४ छक्कासहित ७० रनमा आउट भएका थिए । ओपनर अनिल साह ७० बलमा ६ चौका र २ छक्कासहित ६९ रन जोडे ।
ओपनर हरिशंकर साहलाई नारायण जोशीले १२ रनमा बोल्ड आउट गरेका थिए । त्यो समय मधेश १८–१ को अवस्थामा छ । दोस्रो विकेटका लागि अनिल र मयनले १०६ रनको शतकीय साझेदारी गरेका थिए ।
रुपेश सिंह २१, अभिषेक तिवारी १६, राहुल मण्डल र निरज यादवले १-१ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ६५ रन खर्चेर ४ विकेट लिए पनि जित्न पर्याप्त भएन । विकाश आग्रीले २, नारायण जोशी र गजेन्द्र बोहराले १-१ विकेट लिए । कमजोर फिल्डिङ सुदूरको हारको मुख्य कारण बन्यो ।
सुदूर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।
पुलिस ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । १० टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउनेछन् ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4