+
+

मध्यपहाडी लोकमार्ग पुनर्रेखाङ्कन गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १८:४७

९ माघ, काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल अडिट गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको इन्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा ‘थुप्रै सुधार गर्नुपर्ने’ उल्लेख छ ।

तर ‘१ हजार ८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गको दृष्टिले उपयुक्त नरहेको निष्कर्षका साथ यसको टेक्निकल अडिट गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल) प्रयोग गरी यसको समय र दुरी छोट्याउन,’ एमालेले माग गरेको छ ।

साथै ट्र्याक खोल्न बाँकी ठाउँमा तत्काल ठेक्का लगाउन एवं काम अलपत्र पार्ने ठेकेदारहरुमाथि आवश्यक कार्बाही अगाडि बढाउन पनि एमालेले सरकारसँग माग गरेको छ ।

पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । यही लोकमार्गलाई केन्द्रित गरेर एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म ‘संकल्प यात्रा’ अभियान चलाएको थियो । सो अभियानको क्रममा स्थानीयबाट संकलित माग तथा सुझावलाई समेटेर एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मध्यपहाडी लोकमार्ग नेपालको पहाडी क्षेत्रको  विकास र समृद्धिको सम्बाहक परियोजनाको रुपमा रहेको भन्दै एमालेले अधिकांश राजमार्गहरु विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय एमालेले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न भूभागमा आधुनिक सहरहरुको विकास गरेर पहाडको बसाइँसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक रहेको विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

बसाइँसराइँले मध्पहाडी वस्तीमा मलामी अभाव

एमालेका अनुसार मध्यपहाडका गाउँवस्तीबाट बसाइँसराइँ चुनौतीको रुपमा देखा परेको छ । कतिपय गाउँवस्तीहरु रित्तिँदै गएर मलामीको समेत अभाव रहेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

बसाइँसराइँको यो नकारात्मक प्रवाहका पछाडि केही वाध्यात्मक कारणहरु भए पनि नेपालमा अवसर नै छैन र नेपाल बन्दैन भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले समेत काम गरेको भन्दै एमालेले बसाइँसराइँको क्रमलाई न्यून गर्न सरकारले तत्काल पहल गर्नुपर्ने एमालेको माग छ ।

उत्पादित वस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउनु बसाइँसराइँको कारण बन्न पुगेको एमालेको ठहर छ । त्यसैले एमालेले विदेशी मुलुकका कृषि उत्पादको अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहान नियन्त्रण गर्न, पुँजी र प्रविधिको प्रबन्ध गर्न पनि माग गरेको छ ।

पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरल लगायत वन्यजन्तुका कारण बालीनालीमा भइरहेको नोक्सानी र पीडा पनि बसाइँसराइँको कारक बन्न पुगेको निष्कर्ष निकालेको एमालेले उक्त समस्याको दिगो समाधानका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?