+
+

वालनट बिस्ट्रो : अनेकथरी स्वाद चाख्दै दु:ख-सुख बाँड्ने थलो

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० माघ ११ गते १५:२१

काठमाडौं । महाराजगञ्जस्थित नेपाल नेपाल प्रहरी अस्पतालबाट दाहिनेतर्फ मोडिएपछि भेटिन्छ, वालनट बिस्ट्रो ।

जसै तपाईं रेस्टुरेन्टको सम्मुख पुग्नुहुनेछ, कुनै जंगलमा विचरण गरिरहेको अनुभूत हुनेछ । किनभने पाँच रोपनी क्षेत्रमा फैलिएको खुला ठाउँमा यो रेस्टुरेन्ट अवस्थित छ । र, यसका आसपासमा सानोतिनो जंगल पनि । आँप, अम्बा लगायत फलफूलले यस क्षेत्रलाई हराभरा बनाएको छ ।

तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ र एकान्त वातावरणमा रमाउनुहुन्छ भने यो एउटा सही रोजाइ हुनसक्छ । तीन वर्षअघि रेस्टुरेन्टको अवधारणा बनाइरहँदा सञ्चालक आकाश पौडेलले सोचेका थिए, ‘एउटा यस्तो थलो होस् जहाँ सहरको कुनै गन्ध नहोस् । सहरभित्र पनि सहरभन्दा अलग अनुभूत गर्न सकियोस् ।’

मान्छेलाई खानका लागि मात्र होइन, दुःख र सुख साझेदार गर्न पनि सहज होस् । साथीभाइ, आफन्त, परिवारजन आएर आफ्नोपनमा रमाउन सकोस् । त्यहाँ कसैको बाधा–अड्चन नहोस् ।

तीन करोड लगानीमा खुलेको वालनट रेस्टुरेन्ट उनकै कल्पनाको मूर्त रुप थियो । पढाइको सिलसिलामा बेलायत पुगेको बखत उनले लोभलाग्दो रेस्टुरेन्ट कल्चर देखे । रेस्टुरेन्ट खाना खाने ठाउँ मात्र होइन, सेलिब्रेट गर्ने, खुसी साट्ने, दुःख साट्ने ठाउँ पनि हुनुपर्ने रहेछ भन्ने थाहा पाए । नेपाल फर्किएपछि सोही अवधारणामा रेस्टुरेन्ट खोल्ने योजना बनाए । आफ्नो कर्मथलो रोजे, काठमाडौं ।

काठमाडौं जसरी मन्दिरैमन्दिरको सहर भनिन्छ, उसैगरी यो रेस्टुरेन्ट हब पनि बन्दैछ । पाइलापिच्छे रेस्टुरेन्ट भेटिन्छ । विश्वभरको मेनु यहाँ उपलब्ध छ । बेइजिङ डगदेखि जापानी शुसीसम्म चाख्न अन्यत्र जानै पर्दैन ।

आकाश पौडेलले मन्थन गरे, ‘काठमाडौंमा एक हजार रेस्टुरेन्ट छ भने ९९९ सय छाडेर मेरो रेस्टुरेन्टमा किन आउँछन् ?’ जबसम्म उनले यो प्रश्नको उत्तर फेला पारेनन् रेस्टुरेन्टमा लगानी गरेनन् । ‘केही त त्यस्तो हुनुपर्‍यो, जो अन्यत्र हुँदैन तब पो ग्राहक आउँछन्,’ उनी सुनाउँछन्, ‘त्यसैले अरुभन्दा पृथक के हुनसक्छ भनेर म खोजीमा लागें ।’

अन्ततः रेस्टुरेन्ट खुल्यो । तर तीन महिना नबित्दै कोरोना महाव्याधिले सर्वत्र सन्त्रास फैलायो । मान्छे घरबाट बाहिर निस्कनै नसक्ने प्रतिकूलता थियो । यस्तो जटिलतामा कसरी आफ्नो उद्यम टिकाउने ? चुनौती थियो ।

तर जसोतसो उक्त संकटबाट पनि पार पाइयो । यसको लागि एउटै गुरुमन्त्र थियो, इमानसाथ काम गरौं । चाहे त्यो खानेकुराको गुणवत्तामा होस्, स्वादमा होस् वा त सेवामा नै ।

आगन्तुकले शंका र प्रश्न गर्ने ठाउँ नराखेपछि विश्वासको लाभांश मिल्छ । उनलाई यस्तै भयो । उनले स्पष्ट सर्त राखेका छन्, ‘सन्तुष्ट भए पैसा तिरौं, नभए नतिरौं ।’

कोभिड सुस्ताउँदै जाँदा रेस्टुरेन्टमा नेपाली थालीको भने माग बढ्दै गयो । रैथाने स्वादको दाल, भात, तरकारीमा आगन्तुकको स्वाद भिज्यो । उनीहरु फेरी–फेरी खान आउन थाले ।

अहिले पनि रेस्टुरेन्टले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नेपाली थाली पस्किंदै आएको छ । यस अवधिमा नेपाली थाली खानेलाई २५ प्रतिशत छुटको व्यवस्था पनि छ ।

वालनटको अनेकथरी व्यञ्जन

वालनटको प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु र नेपाली खानालाई धेरैले रुचाइरहेको आकाश सुनाउँछन् । खानासँगै मामाघरे नुडल्स, पोलपाल चिकेन, मायालु सलाद, पिरो पिज्जा, खप्तड आलु, यमलोकको अकबरे चिकेन लगायत अर्गानिक खानाहरू यहाँको विशेष परिकार हुन् । यी सबै परिकारको रेसिपी वालनटले नै तयार गरेको हो ।

आकाश भन्छन्, ‘हरेक परिकारसँग मेरो फरक अनुभव र कथा जोडिएको छ । हिमाली भेगमा पदयात्रा जाँदा मैले दूधमा पकाएको दुधालु मकै खाएको थिए । यसलाई परिमार्जन गरेर मैले ‘कर्न अन द कप’  परिकार बनाए । यो दूधसँगै दुधालु मकैमा याकको चिज हालेर पकाइन्छ र चिजकै बटुकामा पस्किइन्छ ।’

प्राय: रेस्टुरेन्ट सेफकै भरमा चलेको हुन्छ । सेफ परिवर्तन हुने बित्तिकै खानाको स्वाद परिवर्तन हुने समस्या हुन्छ । त्यसैले वालनटलाई सेफलेस मोडलमा चलाइरहेको आकाश सुनाउँछन् । ‘खानाको रेसिपी बुक तयार पारेर राखिएको छ । यस्तोमा सेफ परिवर्तन भए पनि त्यही रेसिपी बुकलाई अपनाएर खाना तयार पार्दा खानाको स्वाद परिवर्तन हुँदैन ।’

धुम्रपान नगर्नेलाई छुट

त्यति मात्र कहाँ हो र धुम्रपान नगर्नेका लागि पनि विशेष छुटको व्यवस्था छ वालनटमा । यदि ८ देखि १० जनाको ग्रुप मिलेर प्राइभेट रुम बुक गर्नुहुन्छ र धुम्रपान गर्नुहुन्न भने मेनुमा १२ प्रतिशत छुट पाइन्छ ।

धुम्रपान गर्न हुन्न यसले स्वास्थ्यमा विभिन्न समस्या निम्ताउँछ, त्यसैले धुम्रपानलाई निरुत्साहित गर्न यो अफर ल्याएको आकाश बताउँछन् ।

पुस्तकालयमा किताब साटफेर गर्न सकिने

सानो लाइब्रेरी छ, रेस्टुरेन्टमा । आफूसँग भएको किताब त्यहाँ राखेर मन परेको नयाँ लैजान मिल्ने सुविधा छ । त्यसरी दिनदिनै नयाँ किताब फेरिएका हुन्छन् लाइब्रेरीमा ।

वालनट बिस्ट्रो रेस्टुरेन्टसँगै बैंक्वेट पनि हो । यहाँ सभा–समारोह आयोजना गर्न मिल्ने हल छ । सामान्य दिनमा रेस्टुरेन्टमा एकै पटक ३०० जनासम्म ग्राहक अटाउन सक्छन् । वालनट बिस्ट्रोको क्षेत्रफलभित्र एउटा पुरानो ओखरको रूख छ । यही रूखको नामबाट रेस्टुरेन्टको नाम राखिएको आकाश बताउँछन् ।

वालनट बिस्ट्रोमा पर्याप्त मात्रामा पार्किङको पनि व्यवस्था छ । पार्किङ क्षेत्र मात्रै करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ बालबच्चाका लागि खेल्ने सानो मैदान पनि छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?