+
+
बालसाहित्य :

एक स्कुले किशोरीको चीन डायरी

मैले ती साथीसँगको छोटो भेटबाट के थाहा पाएँ भने चीनका विद्यार्थीमा पढाइको निकै प्रेसर हुने रहेछ । स्कुल समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म । अनि अतिरिक्त क्लास पनि धेरै हुनेरहेछ ।

संस्कृति अधिकारी संस्कृति अधिकारी
२०८० माघ १३ गते १८:०६

मैले केही महिनाअघि चीनका विभिन्न सहरमा एक साताको शैक्षिक भ्रमण गर्ने मौका पाएँ । यसबारे ब्लग लेख्छु भनेर डायरीमा बुँदा टिपेर राखेकी थिएँ । तर, कहिले पढाइ, कहिले चाडबाडले लेख्नै पाइनँ । सबभन्दा बढी त लेख्न अल्छी मानेर पनि धेरै ढिलो भयो । जब लेख्न बसें, बाबाले सुझाव दिंदै पटक-पटक पुनर्लेखन गराउनाले त झन् धेरै ढिला भयो ।

कति चोटि लेख्तै, च्यात्दै, फाल्दै, फेरि लेख्तै गर्नुपर्‍यो । तर, यो जाडो बिदामा चाहिँ साँच्चै लेखेर सकें । साथीहरू यो मेरो तेस्रो ब्लग हो । यसअघि मैले ‘कोरोना’ र ‘गुलाबी उमेर’ किताबका बारेमा केही ब्लग प्रकाशन गरेको छु । तर यसपाली डायरी लेखन शैलीमा लेखेकी छु ।

कक्षा ८ मा पुगेपछि युलेन्स स्कुल काठमाडौंमा भर्ना भएँ । यो विद्यालय काठमाडौंमा यसैपाली खुलेको हो । हाम्रो विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलाप गरिरहन्छ । यसैबीच एक साताको चीन भ्रमण हुने भयो । मैले यसबारे घरमा बाबा र मामुलाई बताएँ ।

घरमा धेरै दिनसम्म यसबारे कुरा भयो । तर, जानेनजाने केही टुङ्गो भएन । मलाई घर आउँदा चीन नजाउँ जस्तो लाग्थ्यो । विद्यालय पुगेपछि साथीहरूका कुरा सुनेर जाउँजाउँ लाग्थ्यो ।

पासपोर्ट बनाउनका लागि नेपालगञ्ज जानुपर्ने, घरमा बहिनी सानी अनि बाबामामुलाई आर्थिक बोझ होला भनेर मलाई नजाउँ लाग्थ्यो । तर, विद्यालय पुग्योकि साथीहरूले फोटो खिच्ने, टिकटक बनाउने अनि ठूलो प्लेनको झ्यालको सिटमा बस्ने जस्ता कुरा सुनाउँथे । अनि फेरि नगई छाड्दिन जस्तो हुन्थ्यो ।

आखिरमा मैले सानै उमेरमा पनि हाम्रो ठूलो छिमेकी देश चीन घुम्ने सौभाग्य पाएँ । अब म मेरो दैनिकीतर्फ लाग्छु है !

पहिलो दिन

सन् २०२३ को सेप्टेम्बर १ । चीन जाने पहिलो दिन बिहान अलि छिटो उठें । खासमा मलाई विदेश जाने उत्साहले रातभरी राम्ररी निँद नै लागेन । विद्यालयले बिहान ९ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्न भनेको थियो । बाबाले मलाई ठिक समयमा विमानस्थल लगिदिनुभयो । मलाई खादा लाएर बिदाइ गर्दै बाबा फर्किनुभयो । बाफ्रे, त्यति बिहानै पनि विमानस्थलमा कत्रो भिड थियो ।

संस्कृति अधिकारी

केहीबेरमा भ्रमण जाने सबै साथीहरू र शिक्षक टीम आइपुगे । अनि सामूहिक फोटो खिचेर सबैजना विमानस्थल भित्र छिर्‍यौं । बोर्डिङपास, अध्यागमन र सुरक्षा जाँच सकाएर हामीलाई यात्रु प्रतिक्षालय लगियो ।

नेपालगञ्ज जाँदा-आउँदा धेरै पटक प्लेन चढेकी थिएँ । केही दिनअघि मात्र पासपोर्टका लागि चाहिने नाबालिग परिचय पत्र बनाउने बेला नै प्लेन चढेकी थिएँ । अन्तर्राष्ट्रिय विमानस्थलतर्फ त धेरै फरक रहेछ । अध्यागमन, सुरक्षा लगायत धेरै ठाउँमा जाँच हुनेरहेछ ।

केहीबेरमा हाम्रो प्रतिक्षाको घडी सकियो अनि हामी प्लेनमा चढ्यौं । अहो … मैले पहिले चढेभन्दा निकै ठूलो प्लेन थियो । फराकिलो र सफा पनि ।

प्लेन उड्यो । आकाशमा हामीलाई खाना दिए । भोक पनि धेरै लागेको थियो । प्लेनमा खाना खाएको पहिलोपल्ट, निकै मिठो मानेर खाएँ । करीब पाँच घण्टाको उडानपछि हामी चीनको छेङ्दु ओर्लियौं । त्यहाँको एअरपोर्ट त झन् कति ठूलो र सफा थियो भने म त छक्कै परें ।

एक घण्टा जति लगाएर हामी अर्को डोमेस्टिक विमानस्थल गयौं । त्यहाँबाट हामी बेइजिङका लागि चढेको यो विमान पहिलोभन्दा अलि सानो थियो । हामी चीनको राजधानी बेइजिङ ओर्लेर होटल पुग्दा त मध्यरात भएको थियो । दिनभरीको यात्राले सबै जना थाकेका थियौं । होटल पुगेर फटाफट सुतिहाल्यौं ।

दोस्रो दिन
चीन पुगेपछिको पहिलो दिनको घुमघामका लागि हामी सबै उत्साहित थियौं । पहिलो दिन ग्रेटवाल अफ चीन र अरु केही ठाउँ घुम्ने तालिका थियो ।

ग्रेटवाल २ हजार वर्ष भन्दा अघि बनाइएको रहेछ । त्यसबेला आफ्नो राज्यको सुरक्षा गर्न बनाइएको यो किल्ला अहिले अन्तर्राष्ट्रिय सम्पदाको रूपमा प्रसिद्ध भएकोले घुम्न जानेको लर्को हुने रहेछ । धेरै देशका पर्यटकको भिड थियो ।

हामीलाई एकजना टुर गाइडले यात्रा गराउनुभयो । उहाँले ग्रेटवालका बारेमा विभिन्न जानकारी दिंदै अवलोकन गराउनुभएको थियो । ग्रेटवाल निकै अग्लो र लामो छ । केहीबेरको यात्रापछि हामी बीचबाटै फर्कियौं । गर्मी थियो । केहीबेरको हिंडाइमैं सबै साथीहरू थाके जस्ता देखिए ।

पहिलो दिनको बिहानी खाना स्थानीय चाइनिज डिस थियो । गुलियो र नुनिलो मिसिएको खाना खाइयो । त्यसपछि हामी ओलम्पियापार्क स्टेडियम गयौं । यो स्टेडियम चराको गुँडको आकारको रहेछ । निकै फराकिलो ठाउँ रहेछ ।

लस्करै पसल पनि थिए । सन् २००८ मा वल्र्डकप हुँदा यो स्टेडियम बनाइएको रहेछ । पछि त्यसलाई पार्कमा बदलिएको रहेछ । हामीले निकैबेर हिंडेर स्टेडियम अवलोकन गर्‍यौं । सूर्यास्तको समय परेकाले चीनमा सूर्यास्त भएको दृष्य पनि देख्न पायौं ।

तेस्रो दिन
चीन भ्रमणको दोस्रो दिनको पहिलो गन्तव्य थियो- तिनमेन स्क्वायर। चीनको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाहरूको साक्षी भएकोले यसलाई अत्यधिक महत्व दिंइदोरहेछ। ठाउँ पनि असाध्यै फराकिलो छ । हामीलाई हाम्री टुर गाइडले चीनको संसद भवन पनि देखाउनुभयो ।

त्यसपछि हामी फरबिडन सिटीतर्फ लाग्यौं । ५ सय वर्षभन्दा बढी समय चीनको राजनीतिक र सांस्कृतिक केन्द्र रहेको यो पनि निकै पुरानो रहेछ । मैले नेपालमा देखेका ठूला भवनभन्दा चीनका भवन भयंकर ठूला लागे, एकैपटकमा आँखाले हेरिनसक्ने खालाका ।

खाना खाने ठाउँमा मैले झण्डै मेरो फोन बिर्सेकी थिएँ । फोटो खिच्न भनेर मैले बाबाको पुरानो आइफोन लिएर गएकी थिएँ । झण्डै हराएको ! साथीहरूले देखेर ल्याएका रहेछन् । हात परेपछि निकै खुसी भएँ ।

अबको हाम्रो यात्रा विश्वविद्यालय भ्रमणको थियो । यो चीनको निकै राम्रोमध्ये पर्छ भनेर बुनु म्यामले भन्नुभएको थियो ।

सिङ्घुआ युनिभर्सिटीको एक स्कुलमा हामी पुग्यौं । त्यहाँका विद्यार्थीहरू साह्रै शान्त र अनुशासित हुँदा रहेछन् । हामीलाई सबै विद्यार्थी र शिक्षकले स्वागत गर्नुभयो । उहाँहरूले गीत गाउने, संगीत बजाउने, कविता भन्ने जस्ता विभिन्न प्रतिभा देखाउँदै हामीलाई उत्कृष्ट मनोरञ्जन दिनुभयो । केही छिनमै हामी पनि उहाँहरूसँग घुलमिल भइहाल्यौं ।

मलाई एउटा साथीले बुकमार्क उपहार दिइन् । एकदम कम बोल्ने ती साथी पनि साह्रै शान्त थिइन् । हामीले आफ्नो आफ्नो देशका बारेमा जानेका कुरा सुनायौं । मैले ती साथीसँगको छोटो भेटबाट के थाहा पाएँ भने चीनका विद्यार्थीमा पढाइको निकै प्रेसर हुने रहेछ । स्कुल समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म । अनि अतिरिक्त क्लास पनि धेरै हुनेरहेछ । ती साथीसँगको बसाइले मलाई चीनका बालबालिकाका बारेमा बुझ्ने मौका दियो ।

त्यहाँबाट छुट्टिएर हामी समर प्यालेस गयौं । त्यो पहिले गर्मीमा राजारानी बस्ने झण्डै ५ सय वर्ष पुरानो महल रहेछ । हामी जहाँ जहाँ पुग्यौं ती पुराना सम्पदालाई खुब राम्रोसँग संरक्षण गरिएको थियो । महल छेउमा ताल थियो । तालमा हाम्रो पोखराको फेवातालमा जस्तै डुङ्गा पनि थिए । तालको किनारातिर कमलका फूल फुलेका थिए ।

चौथो दिन
हामी बेइजिङ छोडेर अर्को सहर जान बिहानै बेइजिङ रेलवे स्टेशन पुग्यौं । ओहो … रेलवे स्टेशन पनि कति ठूलो अनि सफा चिटिक्कको हो ! हाम्रो देशका सार्वजनिक ठाउँभन्दा निकै भव्य लाग्यो चीनका यस्ता ठाउँ । हामी सबैभन्दा छिटो चल्ने बुलेट ट्रेनबाट यात्रा गरिरहेका थियौं ।

ट्रेनभित्र पसल पनि हुनेरहेछ । बाटोमा चिनियाँ गाउँका नजारा हेर्दै रमाइलो यात्रा भयो । चिटिक्कका घर र फराकिला बाटोहरू अनि बीचमा नदी पनि हेर्न पाइयो । ५ घण्टामा हामी साङघाइ पुग्यौं । साङ्घाइ सहर राजधानी बेइजिङभन्दा भव्य लाग्यो मलाई ।

पाँचौ दिन
म र मेरा साथीहरू सुनिष्का, गरिमा, आरुषी यो दिन एकदम उत्साही थियौं । बच्चैदेखि डिज्नील्याण्ड च्यानलमा देखेका कार्टुन र नाटकका पात्रहरू हेर्न जाँदै थियौं । आजको हाम्रो विशेष गन्तव्य साङ्घाई डिज्नील्याण्ड थियो । त्यसदिन मेरो मिल्ने साथी सुनिष्काको जन्मदिन पनि परेको थियो ।

डिज्नील्याण्डमा हामीलाई दिनभर स्वतन्त्र भएर घुम्न दिइएको थियो । सानो सानो टीम बनाएर हामी फैलियौं । रोलर, कोष्टरहरू चढेर, चाइनिज फुड खाँदै मस्ती मार्‍यौं दिनभर । बाफ्रे डिज्नील्याण्ड कति ठूलो हुने रहेछ । जता छिर्‍यो त्यतै नयाँ कुरा देखिने अनि त्यसको मजा लिन पाइने ।

नेपालमा पनि यस्तै डिज्नील्याण्ड भए नेपाली र बाहिरबाट आएका पर्यटक रमाउँथे होलान् । त्यहाँ पनि धेरै देशका मानिस पुगेका थिए । सबैजना आफ्नै सुरमा रमाएका देखिन्थे । हामीले डरलाग्दा र मज्जाका राइड्स पनि गर्‍यौं । ट्रेकिङ गर्‍यौं ।

भए जतिका रमाइला कुरा सकेसम्म उपयोग गर्ने प्रयास गर्‍यौ‌ं । त्यसपछि समय निकालेर सुनिष्काको जन्म दिनको केक पनि काट्यौं । खासमा चीन आएपछि सबैभन्दा रमाइलो पाँचौं दिन भयो । डिज्नीमा मैले मेरो बहिनीका लागि एउटा गुडिया पनि किनें ।

छैटौं दिन
बिहानै हामी ‘द बन्ड’ गयौं । यो त्यहाँको ह्वाङ्–पु रिभरको एक किनारा हो । त्यसमा विभिन्न कलाकृति, टावर र सुन्दर घर बनेका छन् । ठूला ठूला पानी जहाज पनि थिए । यो मानव निर्मित नदी रहेछ । तै पनि प्राकृतिक जस्तै सुन्दर लाग्यो । यसको स्वाद लिएपछि हामी नान्जिङरोड गयौं सपिङका लागि ।

यो यहाँको चर्चित सपिङ गर्ने ठाउँ रहेछ । यस ठाउँमा बाटोभरी पनि पसलै पसल थिए । केही सपिङ अनि अलि छिटै डिनर गरेर हामी फेरि ह्वाङ्–पु रिभर फर्कियौं ।

क्रुजमा चढेर पानीमाथि यात्रा गर्न हामी फर्किएका थियौं । नौलो अनुभव भयो यसको । निकै ठूलो थियो पानीजहाज पनि । त्यसमा होटलमा जस्तै कोठाहरू पनि थिए । पानीजहाजबाट रातिमा द बन्ड र आसपासका भवन अझ सुन्दर देखिने रहेछन् ।

सातौं दिन
आज हामी ‘साइन्स एण्ड टेक्नोलोजी म्युजियम’ पुग्यौं । त्यहाँ विज्ञान र प्रविधि सम्बन्धि धेरै कलाकृति रहेछन् । चीनको विकासक्रमका बारेमा सिर्जनाहरूबाट बताइएको रहेछ । यो संग्रहालय हेर्दा चीनमा विज्ञान र प्रविधिको विकास बुलेट ट्रेन जस्तै छिटो भएको बुझियो ।

संग्रहालय निकै रोचक र कलात्मक रूपमा सजाइएको छ । खासमा यसको वर्णन गर्न गाह्रो छ । आफैले अवलोकन गरेपछि मात्र धेरै कुरा बुझ्न र अनुभव गर्न सकिन्छ होला ।

यसपछि हामी किनमेलका लागि त्यहाँको एउटा ‘लोकल मार्केट’ मा गयौं । त्यहाँ मैले बहिनीका लागि चाइनिज ड्रेस किनिदिएँ । बाबा, ममी, अरु साथी र आफन्तलाई पनि केही न केही चिनो किनें ।

खासमा यो चीनको अन्तिम रात थियो । भ्रमण सकिन लागेकोमा दुःख लागि रहेको थियो भने घर जान पाइने भो भनेर खुसी पनि लागिरहेको थियो । हामी बेलुका नेपाल जानका लागि ट्रान्जिट फ्लाइट भेट्न छेन्दू फर्किनुपर्ने थियो । हामी समयमैं होटल फर्र्किएर एअरपोर्टतर्फ लाग्यौं ।

आठौं दिन

अहो … चीन भ्रमण पनि लगभग सकियो । आज त आफ्नो देश फर्किने दिन थियो । आधा खुसी, आधा दुखीको अवस्थामा हामी सबै साथीहरू थियौं । विस्तारै घरको याद पनि बढ्दै थियो । मेरो नौ महिनाकी बहिनीको सबैभन्दा धेरै याद आइरहेको थियो ।

नेपालका लागि हामी जहाज चढ्यौं । बिहानको ९ बजेतिर नेपाल पुग्ने तालिका थियो । नेपाल फर्किंदा त जहाजमा धेरैजसो नेपाली यात्रु थिए । जहाजमैं भेटिएका अंकलहरूसँग गफ गर्दै यात्रा गर्‍यौं ।

यो यात्राबाट मैले धेरै कुरा सिकें । परिवारलाई छाडेर ८ दिन विदेशी भूमिमा म पहिलो पटक बसेकी थिएँ । सायद मेरा धेरैजसो साथीहरूको अनुभव पनि यस्तै थियो । सबभन्दा धेरै त यो यात्राले हामीलाई परिपक्व बनाउन सिकायो भन्ने मलाई लागेको छ ।

स्कुलमा शिक्षकले, घरमा अभिभावकले हेरिहाल्छन् नि भन्दै केही कुरामा जानी नजानी हामीले लापरबाही पनि गरिहाल्छौं । तर, विदेशमा त्यस्तोे छुटको मौका मिल्ने कुरै भएन । एकपछि अर्को नयाँ ठाउँ जाने भएकाले आफ्ना सरसामानको ख्याल गर्ने र टीमको सम्पर्कमा रहिरहने कुरा एकदम महत्वपूर्ण हुँदो रहेछ ।

अझ अर्को महत्वको कुरा त शिक्षक अनि धेरै साथीभाइसँग दिनरात सँगै हुने भएकाले एकअर्कालाई बुझ्न र सबैसँग एडजष्ट हुन सिकिंदोरहेछ । अनि यात्रामा निस्केपछि कहिले ढिलो त कहिले छिटो खान पर्ने, चाँडै उठ्न पर्ने, ढिलो सुत्न पाइने, अनि सधैं जाँगरिलो र फुर्तिलो हुनुपर्ने रहेछ भन्ने पनि मैले सिकें ।

अन्त्यमा, म मेरो विद्यालय युलेन्स स्कुल, काठमाडौंलाई धेरै धन्यवाद भन्न चाहन्छु यो मौकाका लागि । दिनरात खटेर हामी विद्यार्थी, हाम्रा अभिभावक र यात्रा अवधिको सम्पूर्ण कार्यक्रमको कुशल संयोजनका लागि प्रिन्सिपल बुनु कार्की समेत सबै शिक्षकहरूप्रति आभार व्यक्त गर्छु ।

अनि रमाइलो सँग सहयात्रा गर्ने मेरा प्रिय सहपाठी साथीहरूलाई झन् धेरै धन्यवाद भन्छु । यात्राका क्रममा मलाई माया गर्दै, गाली गर्दै अनि सम्झाउँदै मेरो ख्याल राख्ने सबै म्यामहरू र साथीहरूलाई नमन गर्छु ।

र, यी सबै कुरा सम्भव तुल्याउने मेरा बाबाआमालाई विशेष सम्झन्छु ।

साथीहरू, यो त थियो मेरो चीनको यात्रा डायरी । पढ्नुभएकोमा धेरै धन्यवाद है । अनि कस्तो लाग्यो तपाईंहरूलाई मेरो यात्रा विवरण ? तल कमेन्ट गर्ने ठाउँमा आफूलाई लागेको लेख्नुहोला ! अहिलेलाई बिदा माग्छु ल !

(संस्कृति युलेन्स स्कुल, काठमाडौंमा कक्षा ८ मा पढिरहेकी छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?