+
+

संसदबाट अपेक्षित कानुन बनाउन सकिएन : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १९:४६

१६ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको बताएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले बिजनेश दिएन भन्ने मत पनि थियो । तर, यसपटक त्यस्तो नहोस्’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । सरकारले संघीय संसदको अधिवेशन यही माघ २२ गतेदेखि बोलाएको छ ।

‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । कानुन मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला’ प्रधानमन्त्री प्रचण्डले थपेका छन्, ‘यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।’

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताए ।

कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताए । अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही विधेयकहरु दर्ता गर्न सकिने उनले बताए ।

यसअघि कानुन मन्त्रालयले सबै मन्त्रालयसँग प्राथमिकताका आधारमा विधेयकहरुको प्रारम्भिक मस्यौदा मागेको थियो । त्यस अन्तर्गत १०९ वटा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयमा पुगेको छ । त्यस आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुसँग एक चरणको छलफल सकाएको छ ।

प्रधानमन्त्री प्रचण्ड, मुख्यसचिव अर्याललाई कानुन मन्त्रालयले मंगलबार विधेयकको तयारी लगायतका विषयमा ब्रिफिङ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?