+

इन्हेलरले दमरोगीका लागि के काम गर्छ ?

२०८० माघ  १८ गते १३:३२ २०८० माघ १८ गते १३:३२
Shares
इन्हेलरले दमरोगीका लागि के काम गर्छ ?

तथ्यांकअनुसार विश्वभर करिब ३४ करोड मानिस दमबाट प्रभावित छन् । यो रोग मुख्यतया बालबालिकामा पाइन्छ । तथ्यांकअनुसार विश्वभरका १४ प्रतिशत बालबालिका यसबाट प्रभावित छन् ।

दम फोक्सोको समस्या हो, जसले व्यक्तिलाई सास फेर्न गाह्रो  हुनुका साथै लगातार खोकी पनि निम्त्याउँछ । खोकी लाग्दा र सास फेर्न गाह्रो हुँदा धेरै कठिनाइ अनुभव हुन्छ । यस्तो अवस्थामा यो समस्याको तत्काल उपचारका लागि इन्हेलरको प्रयोग गरिन्छ । यो दमको उपचार गर्ने प्रभावकारी तरिका हो । दम नियन्त्रणमा राख्न र औषधिको सही खुराक प्राप्त गर्न इन्हेलर कसरी प्रयोग गर्ने भनेर जान्न आवश्यक छ ।

के हो इन्हेलर कसरी काम गर्छ ?

दमका बिरामीले प्रयोग गर्ने इन्हेलर सासबाट तानेर प्रयोग गर्ने औषधीय विधि हो । धेरै रोगका औषधि कि त मुखबाट खाने खालको हुन्छ कति सुईमार्फत दिइने हुन्छ । फोक्सोको रोगमा इन्हेलर विधिबाट औषधि बढी मात्रामा प्रयोग हुन्छ ।

दमका बिरामीको श्वासनली खुम्चिएको हुन्छ । जसले गर्दा सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, खोकी लाग्ने आदि हुन्छ । यो समस्यामा थोरै मात्रा औषधि मात्र श्वासको नली खुलाउन चाहिन्छ । तर त्यो बेलामा  खाने औषधि दिइयो भने पेट हुँदै रगत र शरीरको सम्पूर्ण अंगमा पुग्छ र सानो भाग मात्रै फोक्सोमा पुग्छ । साथै यसले काम  पनि बिस्तारै गर्छ ।

मुखबाट खाने औषधि शरीरको सम्पूर्ण अंगमा पुग्दा त्यसको साइड-इफेक्ट धेरै हुन्छ । तर दमका बिरामीलाई इन्हेलर विधिबाट तान्ने औषधि दिंदा त्यो सिधै फोक्सोमा जान्छ र छिटो काम पनि गर्छ । धेरैजसो इन्हेलर औषधिले १० देखि १५ मिनेटमा असर सुरु गर्छ । खाने औषधिले काम गर्न आधा घण्टादेखि एक घण्टासम्म लाग्छ । त्यसैले दमको बिरामीलाई औषधि इन्हेलर प्रविधिबाट प्रयोग गर्नु राम्रो हुन्छ ।

इन्हेलर विधिबाट औषधि प्रयोग गर्दा सिधै फोक्सोमा जाने भएकाले औषधिको मात्रा कम भए पुग्छ । जस्तो एक जना दमरोगीले प्रयोग गर्ने ‘साल्बुटामोल’ भन्ने औषधि हुन्छ चक्की तथा झोलमा । त्यो औषधि बिरामीलाई चार मिलिग्राम चाहिन्छ । तर त्यही औषधि इन्हेलर विधिबाट दिइयो भने ०.२ एमजीले पनि पुग्छ ।

दमको खाने औषधि लामो समय प्रयोग गर्दा त्यसको विभिन्न साइड इफेक्ट देखा पर्न सुक्छ । तर इन्हेलर औषधि लामो समय प्रयोग गर्न मिल्छ । इन्हेलरमा प्रयोग हुने औषधि पनि कुनै पाउडर फर्ममा हुन्छ र कुनै लिक्विड फर्ममा हुन्छ । लिक्विड औषधि बाफको रूपमा फोक्सोमा पुग्छ ।

कति प्रकारको हुन्छ ?

इन्हेलरमा पनि दुई प्रकारको औषधि हुन्छ । एक, कन्ट्रोलर र दोस्रो, रिलिभर । रिलिभरले साँघुरो भएको श्वासनलीलाई खुलाउने काम गर्छ र सास फेर्न सजिलो बनाउँछ ।

कन्ट्रोलरले सुन्निएकोलाई कम गर्ने हो । साथै यो इन्हेलरले दमको अट्याक र लक्षण कम गर्न मद्दत गर्छ ।

इन्हेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

इन्हेलर प्रयोग गरिरहेका बिरामीले सही तरिकाले इन्हेलर प्रयोग गर्न जान्नुपर्ने हुन्छ । इन्हेलर प्रयोग गर्न युट्युब हेरेर सिकेर हुँदैन । इन्हेलरलाई सही रूपमा प्रयोग गर्न जानिएन भने त्यो फोक्सोसम्म पुग्नै पाउँदैन । श्वासनलीमा जानुको सट्टा घाँटीमा जम्मा हुने, पेटमा जाने र अन्य स्वास्थ्य समस्या निम्तिन सक्छ ।

प्रयोग गर्ने तरिका मिलेन भने घाँटीमा जम्मा भएर घाँटी खसखस गर्ने, खोकी लाग्ने र घाउ नै हुने समेत हुनसक्छ । त्यसैले इन्हेलर प्रयोग गर्नुअघि  चिकित्सकसँग यसको प्रयोग गर्ने तरिका राम्रोसँग सिक्नुपर्छ । धेरै बिरामी बानी लागेर जीवनभर प्रयोग गर्नुपर्छ भन्ठानेर इन्हेलर प्रयोग गर्न डराएको पाइन्छ । चिकित्सकले इन्हेलर प्रयोग गर्ने सल्लाह दिंदा पनि प्रयोग नगरेको पाइन्छ । तर केही दमको अवस्थामा  केही समय प्रयोग गरेर छोड्न मिल्ने पनि हुन्छ । त्यसैले यसलाई प्रयोग गर्न डराउनु पर्दैन ।

इन्हेलर औषधि दमको बिरामीका लागि एकदमै सुरक्षित औषधि हो । ६ वर्षभन्दा माथिका बालबालिकादेखि वृद्धवृद्धाले पनि यो विधि प्रयोग गर्न सक्छन् ।

इन्हेलर विधि महँगो हुन्छ भनेर पनि कतिपय बिरामी डराएको पाइन्छ ।  तर दमको अट्याक बढेर अस्पताल भर्ना हुनुपर्ने, आईसीयूमा बस्नुपर्ने, अक्सिजन लगाउनुपर्ने पनि हुन्छ । यस्तोमा एक पटक अस्पताल जानबाट बच्ने पैसाले ६ महिनादेखि एक वर्षसम्म पुग्ने इन्हेलरको खर्च पुग्छ । त्यसैले यो धेरै खर्चिलो विधि होइन ।

इन्हेलर प्रयोग गर्नुअघि त्यसलाई हल्लाउनुपर्छ । तर कतिपयलाई हल्लाउनु नपर्ने पनि हुनसक्छ । त्यसैले आफ्नो इन्हेलर प्रयोग गर्नुअघि यसलाई कसरी प्रयोग गर्ने भनेर सम्पूर्ण जानकारी राख्नुपर्छ ।

इन्हेलर प्रयोग गर्दा कहिलेकाहीं मुख र घाँटीमा टाँसिएर खसखस गर्ने समस्या हुनसक्छ । त्यसैले इन्हेलर औषधि प्रयोग गरिसकेपछि मुख कुल्ला गर्नुपर्छ ।

यूएस नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार इन्हेलर प्रयोग गरिसकेपछि सफा गर्नु निकै महत्त्वपूर्ण हुन्छ । यसलाई सफा नगरी प्रयोग गर्नु हानिकारक हुनसक्छ । त्यसलाई सफा गर्ने तरिका पनि चिकित्सकसँग सिक्नुपर्छ ।

इन्हेलर दमरोगी स्वास्थ्य
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न