+

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

२०८० माघ  २५ गते १६:०९ २०८० माघ २५ गते १६:०९
मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

मिर्गौलामा स-साना प्वाल हुन्छन्, जसलाई ग्लोमेरुलस भनिन्छ । यसले रगतलाई छान्ने काम गर्छ । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ पिसाबमार्फत बाहिर निष्कासन गरी शरीर स्वास्थ र सन्तुलित राख्न मद्दत गर्छ ।

तर कुनै पनि कारणले यसरी छान्ने क्षमता ह्रास आएमा मिर्गौलामा रोग लागेको संकेत हो ।

मिर्गौला खराब हुँदा देखिने लक्षण

बिहान उठ्दा आँखाको डिल सुन्निनु, खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु, शरीर सुन्निने, अकस्मात् तौल बढ्ने, रक्तअल्पता हुने, अल्छी लाग्ने, थकान महसुस हुने, थोरै हिंड्दा पनि स्वाँस्वाँ हुने समस्या मिर्गौला खराब हुँदा देखिने लक्षण हुन् ।

यस्तै हड्डी दुख्ने, पिसाब छिनछिनमा आउने, पिसाब फेर्दा धेरै फ्रिज ननिस्किने, पिसाबको रंग चिया जस्तो हुने पनि समस्या देखिन्छ ।

कहिलेकाहीं मिर्गौलामा समस्या भएपनि कुनै पनि लक्षण नदेखाउन सक्छ । यस्तो अवस्थामा कहिलेकाहीं कोखा दुख्ने, पिसाब पोल्ने, ज्वरो आउने भएमा पनि मिर्गौलासम्बन्धी समस्या भएको हुनसक्छ ।

मिर्गौला के कारण बिग्रिन्छ ?

मिर्गौला बिग्रिने मुख्य कारण नै मधुमेह हो । पहिले विकसित मुलुकहरुमा मात्रै धेरै देखिने मधुमेह अहिले विकासशील र विकासोन्मुख मुलुकको पनि साझा बनेको छ । पहिला मधुमेहको समस्या उमेर ढल्केपछि देखिन्थ्यो भने आजभोलि वयस्क अर्थात् ३०-४० वर्षमा नै देखिन थालेको छ ।

उच्च रक्तचाप, क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस (यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो ।) हुनसक्छ । त्यस्तै मिर्गौलामा पत्थरीको उपचार समयमा नगरेमा र अन्य वंशाणुगत रोगका कारणले पनि मिर्गौला फेल हुनसक्छ ।

कस्त व्यक्तिको मिर्गौला फेल हुने जोखिम हुन्छ ?

मिर्गौलाको समस्या सबैलाई हुनसक्छ तर मधुमेह, उच्च रक्तचाप, मोटोपन भएका र लगातार नदुख्ने औषधिको सेवन धेरै गर्ने व्यक्तिलाई जोखिम हुन्छ । त्यस्तै परिवारमा कसैलाई मिर्गौलासम्बन्धी समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि सम्भावना हुन्छ । क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस भएकालाई जोखिम बढी हुन्छ ।

मिर्गौलारोग लागिहालेमा के गर्ने ?

लक्षण देखापर्ने बित्तिकै उपचार गर्न सकेमा अधिकांश मिर्गौलारोग औषधिबाटै पूर्ण निको पार्न सकिन्छ । तर मिर्गौलारोग लागेको धेरै समय बितिसकेको छ र मिर्गौला फेल भइसकेको छ भने यसलाई पूर्णरुपमा निको पार्न सकिंदैन । यस्तो अवस्थामा दुईवटा मात्र विकल्प हुन्छ- जीवनभर डायलाइसिस गर्ने वा मिर्गौला  प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यी उपचार प्रविधि एकदम महंगा हुन्छन् ।

मिर्गौला स्वस्थ राख्न कस्तो खानपान गर्ने ?

सन्तुलित आहार अर्थात् ब्यालेन्स डाइट खाने गर्नुपर्छ । दैनिक खाने खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, फाइबर, क्याल्सियम र भिटामिनको सन्तुलित रुपमा समावेश गर्नुपर्छ । तर फाइदाजनक छ भनेर धेरै खानु हुँदैन । त्यस्तै पर्याप्त मात्रामा पानी पिउने, धुम्रपान तथा मद्यपान नगर्ने, मोटोपन कम गर्ने, नदुख्ने औषधिको प्रयोग कम गर्ने, जंकफुडको सेवन सकेसम्म कम गर्ने, डिपफ्राइ खानेकुरा सकेसम्म खानु हुँदैन ।

तेलको प्रयोग गर्दै नगर्ने भन्ने होइन, मात्रा मिलाएर गर्नुपर्छ । तेलले भिटामिन ए, डी, ई र के अवशोषित गर्न मद्दत गर्छ । मात्रा मिलाएर घरमै बनाएर ताजा खानेकुरा र फलफूल खानुपर्छ । विशेषगरी खानपान र जीवनशैली परिवर्तन सके मिर्गौला स्वस्थ राख्न सकिन्छ ।

मिर्गौलाका लागि कस्तो परीक्षण गर्ने ?

३० वर्ष नाघेपछि सबैले कम्तीमा एक पटक स्वास्थ्य परीक्षण गर्न आवश्यक छ । मिर्गौलाको समस्या भएको शंका भए रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण गर्नुपर्छ । यसो गर्न समय र खर्च दुवै धेरै लाग्दैन । त्यसैले मिर्गौला फेल हुन नदिन केही नभएपनि कम्तीमा वर्षको एकचोटि मिर्गौलाको जाँच गराउनुपर्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

डा. दिव्या सिंह शाह मिर्गौला स्वास्थ्य
प्रा. डा. दिव्या सिंह शाह
लेखक
प्रा. डा. दिव्या सिंह शाह
वरिष्ठ मिर्गौलारोग विशेषज्ञ

डा. सिंह हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा डीनको रुपमा कार्यरत् छिन् । उनले इन्टरनल मेडिसिनमा एमडी र नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिनमा फेलोसिप गरेकी छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १७४२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय