+
+

पुरुष वैदेशिक रोजगारीमा, पसल–व्यवसाय धान्छन् महिला

तथ्यांक अनुसार थोक तथा खुद्रा व्यापार हेर्दा कर्णाली प्रदेशमा महिला सहभागिता बढी छ । यसो हुनुमा पुरुष वैदेशिक रोजगारीमा गएको र घरमा व्यापार–व्यवसाय महिलाले धानिरहेको विश्लेषण गर्न सकिन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० माघ २६ गते २१:२६

२६ माघ, काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १५ प्रतिशत योगदान गरिरहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा महिलाको स्वामित्व तथा सहभागिता बढ्न थालेको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ को नतिजाले थोक तथा खुद्रा व्यापारमा महिला सहभागिता ३५.७३ प्रतिशत रहेको देखाएको छ । यस्तो व्यापार–व्यवसायमा पुरुष सहभागिता ६४.२७ प्रतिशत रहेको देखिएको हो ।

कार्यालय प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणबाट झन्डै ५ लाख व्यापारिक प्रतिष्ठान रहेको देखिएको छ । जसमा कुल ११ लाख ३० हजार ६ सय ४५ जनाले सञ्चालक वा रोजगारीका रूपमा काम गरेका छन् ।

तीमध्ये महिला संलग्नता ४ लाख ३ हजार ९ सय ६४ देखिएको छ । जुन ३६ प्रतिशत हुन आउँछ । तथ्यांक अनुसार थोक तथा खुद्रा व्यापार प्रदेशगत हेर्दा कर्णाली प्रदेशमा महिला सहभागिता बढी छ ।

यसो हुनुमा पुरुष वैदेशिक रोजगारीमा गएको र घरमा व्यापार–व्यवसाय महिलाले धानिरहेको अवस्थाका रूपमा विश्लेषण गर्न सकिने कार्यालयका अधिकारीहरू बताउँछन् ।

कार्यालयका निर्देशक प्रभा बरालका अनुसार तत्कालीन तथ्यांक विभागले २०६५/६६ मा पहिलो व्यापार सर्वेक्षण गरेको थियो । त्यसबेलाको तुलनामा व्यापारिक प्रतिष्ठानमा महिला संलग्नता ह्वात्तै बढेको छ ।

यसो हुनुमा पुरुष वैदेशिक रोजगारीमा केन्द्रित हुँदा नेपालमा महिलाले व्यापार–व्यवसाय धान्न सक्षम बनेको पाइको छ । त्यसबेला दर्ता भएका प्रतिष्ठानको मात्र गणना भएको थियो । यसपटक दर्ता नभएका प्रतिष्ठान समेत समटेर नतिजा निकालिएका कारण अघिल्लो सर्वेक्षणसँग तुलनायोग्य तथ्यांक भने उपलब्ध नभएको बरालले जानकारी दिइन् ।

यस सर्वेक्षणका लागि आर्थिक गणना २०७५ बाट प्राप्त प्रतिष्ठानको सूचीबाट लगत सूची (स्याम्पल फ्रेम) निकालिएको थियो । आर्थिक गणना २०७५ अनुसार देशभरि ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान थिए ।

यस्ता व्यापारिक प्रतिष्ठानमा खुद्रा व्यापार, थोक व्यापार र मोटर व्यापार तथा मर्मत समेटिएको छ । यस क्षेत्रले नेपालको जीडीपीमा १५ प्रतिशत हाराहारी योगदान गर्ने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशीले जानकारी दिए ।

कार्यालयले नमुना छनोट विधिबाट सर्वेक्षण गर्न कुल १८ हजार प्रतिष्ठान छानेको थियो । तीमध्ये १५ हजार २ सय ९९ बाट मात्र तथ्यांक प्राप्त भएको थियो ।

यसो हुनुमा कोभिड-१९ महामारीका कारण व्यापार–प्रतिष्ठान बन्द हुनु, स्वामित्व परिवर्तन हुनु र उत्तर दिन नमान्नु कारण रहेको निर्देशक बरालले जानकारी दिइन् । १५ हजार २ सय ९९ बाट प्राप्त नतिजालाई सम्पूर्ण व्यापारिक प्रतिष्ठानका लागि अनुमान गरेर तथ्यांक विश्लेषण गरिएको हो ।

देशभरि चलिरहेका थोक तथा खुद्रा व्यापारमध्ये २६ प्रतिशत प्रतिष्ठानमा महिलाको स्वामित्व रहेको पाइएको छ । यसमध्ये सबैभन्दा धेरै महिला स्वामित्व गण्डकी प्रदेशमा छ । यहाँ ३५.१ प्रतिशत प्रतिष्ठानमा महिला स्वामित्व छ ।

दोस्रो स्थानमा बागमती छ । यहाँ ३१.३ प्रतिशत प्रतिष्ठानमा महिला स्वामित्व छ । कोशी ३१.७, कर्णाली २४.८, लुम्बिनी २१.५, सुदूरपश्चिम १८.५ र मधेश प्रदेशमा १०.८ प्रतिशत प्रतिष्ठानमा महिला स्वामित्व छ ।

महिला स्वामित्वका प्रतिष्ठानमध्ये सबैभन्दा धेरै खुद्रा व्यापारमा २६.९ प्रतिशत, होलसेल व्यापारमा १५.९ प्रतिशत र मोटर ट्रेड तथा रिपेयरमा ७.९ प्रतिशत स्वामित्व देखिन्छ ।

तथ्यांक कार्यालयका सचिव तोयम रायले यो तथ्यांकले नीति निर्माणदेखि व्यापार–व्यवसायको योजना बनाइरहेका सम्मलाई फाइदा पुग्ने बताउँछन् । व्यापारमा लाग्ने खर्चदेखि मुनाफासम्मको तथ्यांकले लगानीकर्तालाई योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

अनौपचारिक चलिरहेका छन् ३१.७७ प्रतिशत प्रतिष्ठान

तथ्यांक अनुसार नेपालमा अझै करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान बिनादर्ता चलिरहेका छन् । यद्दपि, यो संख्या बढ्ने क्रममा रहेको विभागका अधिकारी बताउँछन् । दर्ता भएर ६८.२३ प्रतिशत प्रतिष्ठान चलेका छन् ।

पछिल्लो समय स्थानीय तहले व्यापार–व्यवसाय दर्तामा प्रोत्साहन तथा बाध्यकारी नीति ल्याएका छन् । यसो गर्नुमा स्थानीय तहले राजस्वको दृष्टिकोणबाट समेत हेरिरहेका छन् । यसले व्यवसाय औपचारिक प्रणालीमा देखिने क्रम बढ्न थालेको विभागले जनाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै अनौपचारिक व्यापार मधेश प्रदेशमा रहेको छ । यहाँ अझै ४८.२३ प्रतिशत प्रतिष्ठान दर्ता भएका छैनन् ।

बिनादर्ता सञ्चालित प्रतिष्ठान कुन प्रदेशमा कति ?

  • मधेश : ४८.२३
  • कोशी : ३८.४९
  • कर्णाली : ३३.८२
  • सुदूरपश्चिम : २८.८४
  • लुम्बिनी : २६.८६
  • गण्डकी : २५.१०
  • बागमती : २४.७०
  • औसत : ३१.७७

खुद्रा पसल बिनादर्ता सञ्चालन

तथ्यांक अनुसार देशभरि ३३.३८ प्रतिशत खुद्रा पसल बिनादर्ता सञ्चालनमा रहेको देखिएको छ । थोक पसल भने ६.४२ प्रतिशत मात्र बिनादर्ता चलिरहेका छन् । मोटर ट्रेन्ड एन्ड रिपेयरमा भने २२.५४ प्रतिशत प्रतिष्ठान दर्ता नभई चलेको पाइएको छ ।

साढे ११ लाख उद्यम तथा रोजगारीमा

तथ्यांक अनुसार थोक तथा खुद्रा व्यापार–व्यवसायमा कुल ११ लाख ३० हजार ६ सय ४५ जना उद्यमी तथा रोजगारीका रूपमा कार्यरत छन् । तीमध्ये महिला ४ लाख ३ हजार ९ सय ६४ र पुरुष ७ लाख २६ हजार ६ सय ८१ छन् ।

उद्यम तथा रोजगारीका रूपमा सबैभन्दा धेरै मानिस बागमतीमा ३२.९० प्रतिशत संलग्न छन् । कोशी १६.८४, लुम्बिनी १६.३७, मधेश १४.२९, गण्डकी ९.४६, सुदूरपश्चिम ५.९२ र कर्णालीमा ४.२१ प्रतिशत जनशक्ति संलग्न रहेको देखिएको छ ।

कुल जनशक्तिमध्ये १९.४२ प्रतिशत रोजगारी गर्छन् भने ८०.५८ प्रतिशत जनशक्ति भने स्वउद्यमी वा पारिवारिक रूपमा संलग्न रही पसल–व्यवसाय गरिरहेको पाइएको छ । रोजगार जनशक्तिमध्ये ३९.४० प्रतिशत महिला र ६०.६० प्रतिशत पुरुष छन् । औसतमा एक प्रतिष्ठानमा दुई जनाले उद्यमी तथा रोजगारीका रूपमा काम गरिरहेको देखिएको छ ।

तलबमा ४५ अर्ब ७७ करोड खर्च

देशभरि सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानले एक वर्षमा औसत ४५ अर्ब ७७ करोड रुपैयाँ तलबमा खर्च गरेको पाइएको छ । यसमध्ये बागमतीमा मात्र २४ अर्ब ५९ करोड रुपैयाँ प्रतिष्ठानहरूले खर्च गरेका छन् । सबैभन्दा धेरै खर्च खुद्रा व्यापारमा भएको छ । यो रकम २७ अर्ब हाराहारी हुने अनुमान छ । थोक र मोटर व्यापारमा भने यो हिस्सा ९/९ अर्ब देखिन्छ । एक कर्मचारीले औसत मासिक १७ हजार ३ सय ७४ रुपैयाँ पाउने गरेको देखिएको छ ।

औसत साढे १८ प्रतिशत मुनाफा

तथ्यांक अनुसार देशभरि सञ्चालित व्यापारिक प्रतिष्ठानले औसत १८ प्रतिशतसम्म मुनाफा आर्जन गर्ने गरेको देखिन्छ । यसमध्ये सबैभन्दा धेरै मोटर ट्रेडमा मुनाफा देखिन्छ । यस व्यापारमा २४.०२ प्रतिशत औसत मुनाफा देखिएको छ । थोकमा १३.०१ प्रतिशत र खुद्रा व्यापारमा १८.२८ प्रतिशत मुनाफा देखिएको तथ्यांकले देखाएको छ ।

प्रतिप्रतिष्ठान वार्षिक सञ्चालन खर्च २ लाख ६४ हजार

सर्वेक्षण अनुसार देशभरि सञ्चालित व्यापारिक प्रतिष्ठानको वार्षिक सञ्चालन खर्च औसत २ लाख ६४ हजार ३ सय ७३ रुपैयाँ रहेको देखिएको छ । यसमा वस्तुको मूल्य नजोडिएको कार्यालयले जनाएको छ । सञ्चालन खर्च सबैभन्दा धेरै बागमतीमा ४ लाख ७० हजार ३ सय ४० छ । सबैभन्दा कम सञ्चालन खर्च भने १ लाख ५५ हजार २ सय ८३ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?