+
+

नेपाली समर्थकसामु खेल्न पाउँदा खुसी छन् क्यानडाका कप्तान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते २०:४९

२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीयमा घरेलु टोली नेपालसँग ४ विकेटले पराजित भएसँगै भ्रमणकारी टोली क्यानडाले सिरिज गुमाएको छ । तीन म्याचको सिरिजमा पर्सि सोमबार अन्तिम खेल खेल्नु नै नेपाल २–० ले अगाडि छ ।

शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

बोर्डमा राम्रो लक्ष्य राख्दा पनि क्यानडाले जोगाउन सकेन । विशेषतः देव खनाल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १५० रनको साझेदारीले खेल नेपालको पक्षमा गयो ।

त्यसअघि २१औं ओभरको तेस्रो बलमा क्यानडियन फिल्डर इश्वरजोत सोहीले देवको क्याच छाडेको थिए ।

ठूलो सट खेल्ने धुनमा टप एजमा लागेको बल आकासिएको थियो । तर सोहीको हातमा लागेर बल मैदानमा खस्न पुग्यो, जतिबेला खनालले ३४ रन मात्र बनाएका थिए । अनि रोहित र उनको साझेदारी मात्र ४७ रनको थियो ।

जीवनदान पाएका देव ७६ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २१४ पुगिसकेको थियो ।

क्यानडाका कप्तान साद विन जाफरलाई लाग्छ कि देवको त्यो विकेट लिन सकेको भए खेलको नजिता फरक पर्न सक्थ्यो । ‘सायद त्यो क्याच लिएको भए हाम्रो लागि नतिजा फरक हुने थियो’, खेलपछि उनले भने ‘किनकी नेपाललाई जितका लागि धेरै रन चाहिएको थियो र नयाँ ब्याटर आएर क्रिजमा टिक्न गाह्रो थियो ।’

त्यसका साथै सुरुको पावर प्लेमा सहज रन दिँदा पनि लक्ष्य बचाउन गाह्रो भएको उनले सुनाए । ‘हामीलाई थाहा थियो कि उनीहरु (नेपाली ब्याटर) सकरात्मक सोचका साथ आउँछन् र हामीलाई प्रेसरमा राख्नेछन्’ उनले भने, ‘हामीले बलिङ राम्रोसँग गर्न सक्नुपथ्र्यो, तर पावर प्लेमा केही रन धेरै खर्चियौं ।’

उनी पहिलो इनिङमा अम्पनयरले दिएको ३ वटा विकेटको निर्णयमा पनि सन्तुष्ट देखिएनन् । ‘एक पटक मात्र त्यस्तो भएको होइन, २/३ वटा विकेट अम्पायरको निर्णयका कारण हुनु हाम्रा लागि निराशाजनक थियो’ क्यानडाका कप्तान जाफरले भनेका छन्, ‘तर क्रिकेटमा कहिलेकाहीँ त्यस्तो हुन्छ ।’

२३औं ओभरको दोस्रो बलमा आरोन जोनसन र ३२औं ओभरको पाँचौं बलमा निकोलस किर्तोन रनआउट भएका थिए । हर्ष थाकरलाई भने ३५औं ओभरको पाँचौं बलमा नेपाली बलर सूर्य तामाङले कट बिहान्ड गर्दै विकेट लिएका थिए । ब्याट नलागेको भन्दै थाकर थर्ड अम्पायरको निर्णयप्रति आक्रोशित देखिन्थे ।

लगातार दोस्रो हारसँगै तीन क्याचको सिरिज गुमाएकाले क्यानडाका खेलाडीहरु निराश छन् । तर एकदिवसीय मान्यता पाएको छोटो समयमा यति ठूलो संख्यामा दर्शकका अगाडि खेल्न पाउनुलाई उनीहरुले ठूलो उपलब्धी मानेका छन् । शनिबारको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा ७ हजार भन्दा धेरै दर्शक उपस्थित थिए ।

२०२३ मेमा एकदिवसीय मान्यता पाएको क्यानडाका कप्तान साद आफैंले पनि पहिलो पटक यति धेरै क्रिकेट समर्थकका अगाडि खेलेका थिए । ‘यति लामो क्रिकेट यात्रामा मैले यति धेरै समर्थकका अगाडि कहिल्यै खेलेको थिइनँ’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘पूरै भरिएका समर्थकको अगाडि खेल्नु निकै रमाइलो कुरा हो । एउटा क्रिकेटरका लागि यो भन्दा ठूलो कुरा केही हुने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?