+
+
हेटौंडाको ५५ वर्ष :

औलो लाग्ने खाल्डोदेखि प्रदेश राजधानीसम्म

कुनै बेलाको ‘औलो लाग्ने खाल्डो’ हेटौंडा बजार आज कंक्रिटको शहरमा बदलिएको छ । सडक र यातायातका दृष्टिले काठमाडौं जोड्ने यो ‘टर्मिनल’ नगर प्रदेश सदरमुकाम बनेपछि चाहिं राजधानीबाट ‘बेंसी झर्ने ठाउँ’ भएको छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० फागुन १ गते १९:१४

१ फागुन, हेटौंडा । देशमा करिब दर्जन सुरुङमार्ग निर्माणका योजना छन् । तर, हालसम्म देश सुरुङ सहितको सडक सञ्जालमा जोडिएको छैन । तर हेटौंडामा भने सन् १९१७ मै दुई वर्ष लगाएर बनाइएको सुरुङमार्ग थियो । जहाँबाट साना सवारी साधन चुरेपहाड छलेर भित्री मधेश आउँथे ।

नेपालका पहिलो सिभिल इन्जिनियर ब्रिगेडियर जनरल डिल्लीजङ्ग थापाले डिजाइन गरेको चुरिया सुरुङ बारे हेटौंडाका परिकल्पनाकार टोनी हागनले आफ्नो पुस्तक ‘नेपाल’ मा एशियाकै पहिलो सुरुङ भएको उल्लेख गरेका छन् ।

जीर्ण अवस्थामा रहेको हेटौंडा–१५, स्थित १०६ वर्ष पुरानो सुरुङ पर्यटन स्थलका रूपमा विकसित हुँदैछ । विश्वविख्यात भूगर्भविद् डा. हागन आफ्नो सानो गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी बोकेर काठमाडौं लगिएको थियो ।

हागनले ‘नेपाल’ पुस्तकमा २४ अक्टोबर १९५० का दिन मानव निर्मित सुरुङ देखेर आफू आठौं आश्चर्यमा परेको लेखेका छन् ।

पुस्तकमा लेखिएको छ– ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

सय वर्षभन्दा अगाडि नै यस्तो चमत्कार गर्ने ठाउँ जोडिएको हेटौंडा भने अहिले पनि एउटा सामान्य बजारमै सीमित छ । ७० वर्षअघि हेटौंडा सुन्दर शहर बन्न सक्ने घोषणा गरेका स्विस नागरिक डा. हागनको स्मृतिमा हेटौंडा उपमहानगरपालिकाले पार्क निर्माण गरिरहेको छ । तर त्यो पनि अलपत्र अवस्थामा छ ।

हेटौंडा परिकल्पना गर्ने हागनको पार्क जसरी अलपत्र छ, त्यसैगरी हेटौंडाको शहरीकरण सम्बन्धी योजना पनि अलपत्र छ ।

विज्ञहरूका भनाइमा, बागमती प्रदेशको यो राजधानी एउटा पुरानै बजारमा सीमित छ । सडक लगायत पूर्वाधार, औद्योगिक क्षेत्रको विस्तार र विकास, व्यवस्थित शहरी विकास योजनाको कार्यान्वयन, फोहोरमैला व्यवस्थापनमा उल्लेख्य काम भएकै छैन ।

‘हेटौंडा बजार मात्रै भयो व्यवस्थित शहर कहिल्यै बन्न सकेन । हेटौंडालाई शहर बनाउने गरी कामै हुन सकेन ।’ हेटौंडा क्याम्पसका उप–प्राध्यापक अर्पण पराजुली भन्छन्, ‘ग्रामीण र शहर मिश्रित हेटौंडा सुविधा र अन्य थुप्रै विषयले शहर बन्नै बाँकी छ ।’

आज मंगलबार हेटौंडा शहर स्थापना भएको ५५ वर्ष भयो । नेपाल सरकारले २०२६ वैशाखमा हेटौंडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो । तर  १ फागुन २०२६ मा नगरपञ्चायतको पहिलो कार्यपालिका बैठक बसेको दिनलाई हेटौंडाको स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।

हेटौंडा नगरपञ्चायतका प्रथम प्रधानपञ्च वासुदेव रिजाल र दोस्रोमा ओमनाथ पराजुलीको नाम आउँछ ।

मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि हेटौंडा नगरपालिकाको प्रमुख डोरमणि पौडेल, उपप्रमुख हरिबहादुर महत दुई अवधिका लागि निर्वाचित भएका थिए । दुई दशकपछि उनै पौडेल बागमती प्रदेशका मुख्यमन्त्री पनि बने ।

अनि तत्कालीन उपप्रमुख महत २०७४ सालमा हेटौंडाको मेयर भए । संघीयता आएपछिको स्थानीय तहको दोस्रो कार्यकालमा अहिले मीनाकुमारी लामा मेयर र राजेश बानियाँ उपमेयर छन् । एक स्थानीयका भनाइमा, ‘जसरी हेटौंडालाई पछिल्लो अवस्थासम्म ल्याउने श्रेय उनीहरूलाई जान्छ, त्यसैगरी हेटौंडा बजार मात्रै भयो शहर हुन सकेन भन्ने अपजस पनि उनीहरूले नै बोक्नुपर्छ ।’

बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी र हटिया गाविस गाभिएर हेटौंडा उपमहानगरपालिका बनेको हो । पाँच विकास क्षेत्र हुँदा मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको हेटौंडा हाल बागमती प्रदेशको राजधानी छ । यसरी हेर्दा हेटौंडालाई बेलाबखतका राज्यसत्ता र राजनीतिले उपेक्षा नै गर्‍यो भन्ने ठाउँ पनि देखिन्न ।

विज्ञहरूका भनाइमा, बागमती प्रदेशको यो राजधानी एउटा पुरानै बजारमा सीमित छ । सडक लगायत पूर्वाधार, औद्योगिक क्षेत्रको विस्तार र विकास, व्यवस्थित शहरी विकास योजनाको कार्यान्वयन, फोहोरमैला व्यवस्थापनमा उल्लेख्य काम भएकै छैन । त्यस्तै स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि क्षेत्रमा विकास हुन नसक्दा प्रदेश राजधानी भइसकेको यो ठाउँ अहिले पनि जिल्ला सदरमुकामकै बजारको हैसियतमा छ ।

२४ वर्ष शहरी योजना र वातावरणको क्षेत्रमा सेवा गरेका शहरी विज्ञ बिके महर्जन हेटौंडालाई राजधानी शहर बनाउन रणनीतिक योजना तर्जुमा हुनै नसकेको ठान्छन् । उनका भनाइमा, ‘हेटौंडासँग अहिले पनि राजधानी शहर हुने गतिशीलता नै छैन ।’

राजधानी भइसकेपछि प्रदेशको व्यवस्थापिका र कार्यपालिकाको विषयमा सोचेर यति बेलासम्म धेरै अगाडि बढिसक्नुपर्नेमा कुनै काम हुन नसकेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको भालुबाङमा नयाँ राजधानीको निर्माण सुरु भइसकेको बताउँदै महर्जनले भने, ‘बागमतीमा प्रादेशिक संरचना कस्तो बन्ने, कहाँ बन्ने भन्ने परिकल्पना समेत तयार छैन ।’

‘भाडामा बसेर प्रत्येक घरलाई मन्त्रालय, प्रदेश कार्यालय बनाएर चल्नेवाला छैन । यसले प्रशासनिक खर्च असाध्यै बढाउँछ र विकासको डेलिभरीमा जान सक्ने अवस्था नै हुँदैन’, उनले भने । प्रदेशको कुरालाई नगरसँग जोड्नुपर्ने र उपमहानगरपालिकाले आफ्नो शहरलाई राजधानी बनाउन सहजीकरणमा ध्यान दिनुपर्ने महर्जनको भनाइ छ ।

हेटौंडाको विकास पूर्व–पश्चिम लोकमार्गबाट नभई पूर्वी क्षेत्रबाट अर्थात् तराई–मधेश द्रुतमार्ग, हेटौंडा–धरान–चतरा सडक, कान्ति लोकपथ सडकको रणनीतिक महत्वका साथ नगरका योजनाको आँखाले हेर्नुपर्नेमा महर्जनको जोड छ ।

उनी भन्छन्, ‘उपमहानगर बजारभित्र स्ल्याब ढलान गर्ने र फूल रोप्ने काममा रमाइरहेको छ । स्ल्याब ढलान नेतृत्व हुँदा र नहुँदा पनि हुने काम हो । राजनीतिक नेतृत्वले त राजधानीको समग्र विकास र रणनीतिक महत्वका योजनामा ध्यान दिनुपथ्र्यो, त्यो भएको पाइँदैन ।’

हेटौंडाका तत्कालीन मेयर तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि नगरमा सामान्य बाटो निर्माण भएको र दीर्घकालीन प्रभाव पार्ने पूर्वाधार बन्न नसकेको स्वीकार गरे । पौडेलले भने, ‘उत्पादनसँग जोडिएका काम हुन नसकेको हो । शहरको प्रमुख प्राथमिकताको विषय फोहोर व्यवस्थापन वैज्ञानिक ढंगबाट हुन सकेन ।’

हेटौंडालाई राजधानी शहर बनाउन नसकिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेको पनि भनाइ छ । ‘साविकको नगर विकास हुँदा गरेको थुप्रै क्षेत्रको प्लानिङलाई पछि सुविधासम्पन्न बनाउने गरी पुनः प्लानिङ गरिनुपथ्र्यो, त्यो हुन सकेन ।’

प्रवक्ता न्यौपानेले भोटको राजनीतिले ढुकुटीबाट टोलटोलमा गुम्बा, मन्दिरका योजना अझै बनिरहेकाले शहरको समुचित विकास हुन अझै पनि कठिन रहेको बताए । ‘गुम्बा र मन्दिर निश्चित ठाउँमा बनाइदिनु राम्रो हो । टोलटोलमै बनाउन बजेट हालिएको छ । शहरको आवश्यकताका योजना छुटिरहेका छन् । यसकारणले पनि हामी पछि परेका हौं’, उनले भने ।

देशको प्रमुख दुई राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल, राजधानीबाट नारायणगढ हुँदै २२४ किमि, नौबिसे दामन हुँदै १३२ किमी तथा राजधानीबाट जोड्ने द्रुतमार्ग हँुदै ७६ किमीको दक्षिण दूरीमा हेटौंडा अवस्थित छ ।

चुरे र महाभारत पर्वतको फेदीमा उष्ण तथा समशीतोष्ण हावापानी रहेको हेटौंडा नगर पर्यावरणलाई असर पुग्ने गरी कंक्रिटै–कंक्रिटको शहरमा परिणत भएको छ ।

शहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउन मात्र नभई हेटौंडाले गर्न बाँकी काम अरू पनि रहेको पराजुली थप्छन् । उनी भन्छन्, ‘हेटौंडामा भविष्यमा बढ्ने जनसंख्या र सवारीको चापलाई बेवास्ता गरिएको छ । हुप्रचौर क्षेत्रमा फराकिलो सडक र ढल सहितको बस्ती विकास गरिएको छ । तर त्यो प्लानिङ हेटौंडामा अन्यत्र छैन ।’

पछि बस्ती बसेका कमाने, हटिया, नवलपुर, थानाभ¥याङ, चौघडा, हर्नामाडी, पदमपोखरीमा बस्ती विकासका प्लानिङ हुन नसक्नु, रोजगारी सृजना, पूर्वाधार विकास, पर्यटन, शिक्षा, कृषि तथा स्वास्थ्य क्षेत्रका व्यवस्थित योजना बन्न नसक्नुले हेटौंडा शहर बन्न बाँकी रहेको उनको भनाइ छ । पराजुलीका भनाइमा हेटौंडामा स्वास्थ्य सेवाको अवस्था अन्यत्र भन्दा दयनीय छ । यो बजारमा आधुनिक स्वास्थ्य प्रविधिहरू अझै प्रयोगमा छैनन् ।

राजधानी बन्यो, संरचना बनेनन्

हेटौंडालाई २७ पुस २०७६ मा बागमती प्रदेशको राजधानी घोषणा गरिएको थियो । प्रदेश–३ स्थायी राजधानीको रूपमा हेटौंडालाई कायम गर्ने प्रस्ताव प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ पास गरेको हो ।

राजधानी हेटौंडा राख्ने प्रस्ताव माथिको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत राखेका थिए । तर यसरी ठूलो बहुमतका साथ राजधानी तोकिए पनि प्रदेश स्थापनाको ६ वर्षसम्म यहाँ प्रादेशिक संरचनासम्म निर्माण हुनसकेका छैनन् ।

२०७४ सालपछि बनेको स्थानीय सरकारले दर्जन बढी भित्री सडकलाई ८ देखि १० मिटर फराकिलो बनाएको थियो । बजारको मुख्य सडक विस्तार गर्ने दुई दशकदेखिको योजना अहिले पनि सफल हुनसकेको छैन ।

प्रादेशिक संरचना बन्ने जग्गाको अन्तिम टुंगो समेत लागेको छैन । हेटौंडा–१७, हटियाको सार्वजनिक जग्गामा संरचना बनाउन वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको शहरी भवन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदेश संरचना कहाँ बनाउने भन्नेमा पनि एकमत देखिन्न । तत्कालीन मुख्य मन्त्री पौडेलले २ नम्बर वडास्थित हालको सरकारी अड्डा क्षेत्रमै ‘प्रदेश सिंहदरबार’ निर्माण गर्ने भन्दै मन्त्रालयहरूको डिजाइन र माटो परीक्षण गराएका थिए । तर नेकपा विभाजनसँगै सत्ता समीकरणमा फेरबदल आएपछि मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डेले हटियामा ‘प्रदेश सिंहदरबार’ बनाउने योजना अनुरूप जग्गाको पहिचान गरे पनि यसको अन्तिम टुंगो लागिसकेको छैन ।

२०२० सालमा स्थापना भएको हेटौंडा औद्योगिक क्षेत्र जीर्ण अवस्थामा सञ्चालित छ । एक हजारले रोजगारी पाइरहेको कपडा उद्योग बन्द छ । औद्योगिक क्षेत्रमा नयाँ उद्योगहरूको विस्तार हुनसकेको छैन भने पुरानाहरू क्रमशः बन्द हुँदै गइरहेकाले उत्पादनमा गिरावट र रोजगारी गुम्दैछ ।

यसले हेटौंडामा रोजगारी सिर्जना हुनसक्ने सम्भावना समेत सकिंदै गएको छ । १४ नम्बर वडामा रहेको मयुरधाप औद्योगिक क्षेत्र ६ वर्षदेखि अलपत्र छ । काँडेतार लगाएर जग्गा घेराबारा गरिएको लामो समयपछि दुई वर्षअघि शिलान्यास गरिए पनि निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

देशको तेस्रो ठूलो हेटौंडा औद्योगिक क्षेत्र र निर्माणाधीन मयुरधाप क्षेत्रको वातावरणले यो औद्योगिक नगरको उद्यमशीलतामा खडेरी लागेको सन्देश दिने उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेल बताउँछन् । उनी भन्छन्, ‘वास्तविक उद्यमीहरू कहाँ छन् ? नयाँ उद्यमीहरू खोज्ने गरी कुनै निकायले पनि योजना बनाएका छैनन् ।’

भएन सडक विस्तार, पर्यटन शून्य

हेटौंडा बजार स्थापना हुँदाको मुख्य सडक हालसम्म विस्तार हुनसकेको छैन । बजारका भित्री सडकहरू अझै पनि ६ मिटरमै कायम छन् ।

२०७४ सालपछि बनेको स्थानीय सरकारले दर्जन बढी भित्री सडकलाई ८ देखि १० मिटर फराकिलो बनाएको थियो । बजारको मुख्य सडक विस्तार गर्ने दुई दशकदेखिको योजना अहिले पनि सफल हुनसकेको छैन । मुआब्जा तथा क्षतिपूर्तिको विवाद र घरधनी सहित व्यवसायीहरूको आन्दोलनले ६ पटक भन्दा बढी सडक विस्तारको सूचना निकालेर पनि सरकारी निकायले यो योजना कार्यान्वयन गर्न सकेका छैनन् ।

सडक विस्तार हुन नसक्दा शहर, शहर जस्तो हुन नसकेको प्राध्यापक पराजुली बताउँछन् । पछिल्लो पटक २०७९ असारमा सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तारको सूचना निकाले पनि सर्वोच्च अदालतमा रिट निवेदन परेपछि काम रोकिएको थियो । अदालतले ३०० जनाले हालेको रिट निवेदन खारेज गर्दै मुआब्जा र क्षतिपूर्ति दिएर सडक विस्तार गर्न अनुमति दिएको छ ।

यसैगरी पर्यटन प्रवर्द्धन र पर्यटकीय पूर्वाधार निर्माणमा पनि कमजोर छ, हेटौंडा । भारतीय पर्यटन बजारबाट नजिक भएर पनि हेटौंडाले त्यसको फाइदा उठाउन सकेको छैन । भारतको विहारबाट बारा, पर्सा हुँदै हेटौंडासम्म दैनिक पर्यटक आउने गर्छन् । तर, भारतीय पर्यटकलाई एक रात बसाउने कार्यक्रम र पूर्वाधार यहाँ छैनन् ।

यहाँका शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर, मनकामना मन्दिर, गोरक्षेश्वर मन्दिर, कुसमाण्ड सरोवर, ढुंगामा मूर्ति कुँदिएको गुम्बा डाँडा, पुरानो भ्यूटावर लगायत भैरव डाँडा र पुण्य क्षेत्रका साथै पुष्पलाल पार्क पर्यटकीय स्थल हुन् ।

दर्जन बढी पर्यटकीय स्थल भए पनि प्रचार–प्रसारमा स्थानीय सरकार चुकेको ठान्छन् प्राध्यापक पराजुली । उनी भन्छन्, ‘होटल व्यवसायीहरू पनि पर्यटनमैत्री छैनन् । हेटौंडा आउनेलाई यहाँ बसेर त्यो ठाउँ घुम्छु भन्ने गरी प्रचार भएकै छैन ।’ पराजुलीका भनाइमा पर्यटकीय क्षेत्रको विकास र पर्यटकमैत्री व्यवहार निर्माणमा गुरुयोजना बन्न नै बाँकी छ ।

कुनै बेला सरकारले २०७४ साउनमा हेटौंडालाई देशकै सफा शहर घोषित गरेको थियो । सरकारले धनकुटालाई पहिलो, इलामलाई दोस्रो र हेटौंडालाई तेस्रो सफा शहर घोषित गरेको थियो ।

सफा शहर बनाए बापत ४ लाख अनुदान पाएको यो उपमहानगरपालिका हिजोआज बगरमा डम्पिङ साइट बनाएर फोहोर थुपार्दै आइरहेको छ । वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्न नसकेको स्थानीय सरकारले फोहोरलाई बेला–बेला आगो लगाएर वातावरण झन् प्रतिकूल बनाउने काम गरिरहेको छ ।

उपमहानगरपालिकाले निर्माण गर्ने भनिएको अटो भिलेज बन्न नसक्दा नगरको स्वरुप झनै कुरुप बन्दै गएको छ ।

नगरपालिकाको भूउपयोग रणनीतिमा पनि रातमाटेमा अटो भिलेज निर्माण गर्ने भनिएको थियो । यो हुन नसक्दा वर्षौंदेखि हेटौंडाको मुख्य बजार क्षेत्रमा सञ्चालित मोटर ग्यारेज अझै हटेका छैनन् ।

जिल्लाभर २५० भन्दा बढी वर्कशप अर्थात् ग्यारेजहरू छन् । जसमध्ये अधिकांश हेटौंडा बजारभित्र छन् । हेटौंडा–११ स्थित राप्ती नदी उकासको करिब ३१ बिघा जमिनमा एकीकृत अटोभिलेज सञ्चालनमा ल्याउने गरी उपमहानगर लागे पनि काम अलपत्र अवस्थामा छ ।

अटो भिलेजको माघ २०७९ मा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले शिलान्यास गरेकी थिइन् । अटो भिलेजको डीपीआर भने करिब २९ वर्षअघि निर्माण गरिएको थियो ।

विरासतको चुनौती

इतिहास खोजकर्ता स्थानीय केदार न्यौपानेको भनाइमा, पौराणिक रूपमा हेर्दा हेटौंडा महाभारतमा आधारित एक किंवदन्तीसँग जोडिन्छ । पाँचपाण्डव वनवासका क्रममा यो स्थानमा आइपुगेको विश्वास छ । त्यतिबेला हिडिम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हिडिम्बालाई मारिदिएका थिए । हिडिम्बा मारिएको ठाउँका रूपमा चिनिंदा चिनिंदै अपभ्रंश भएर यो स्थानको नाम हेटौंडा रहन गएको विश्वास गरिन्छ ।

त्रिभुवन राजपथ बनेपछि हेटौंडाले विकासको लय समातेको थियो । बस्तीहरू बाक्लिंदै थिए । भीमफेदीमा रहेको ऐतिहासिक सदरमुकामलाई एकैरातमा हेटौंडामा सारियो । २०३९ सालमा रातारात आफ्नो घरछेउका जिल्ला कार्यालयहरू हेटौंडा सारेको सुइँको सम्म भीमफेदीका जनताले पाएनन् ।

खोंचमा रहेका कारण कुनै बेला यहाँ औलोको जोखिम थियो । झाडीले भरिएको हालको बजार क्षेत्रमा नबसेर हेटौंडाभन्दा केही माथिको डाँडा मकवानपुरगढीमा जग्गा किनेर धेरै मानिस बसोबास गर्थे । कुनै बेला औलो लाग्ने डर भएको यही खाल्डो अहिले कंक्रिटका घरहरूले भरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ९३ हजार ५७६ र घरधुरी संख्या ४६ हजार ५६६ छ । दशक अगाडितिर तराईमा मधेश आन्दोलन चर्किनाले ठूलो जनसंख्या मधेश छोडेर हेटौंडातिर सरेपछि यहाँ तीव्र बसाइँसराइ हुन पुगेको थियो ।

लामो समयसम्म पूर्वका शहरबाट काठमाडौं आउने रात्रिसेवाका बसहरूमा चालक परिवर्तन हुने ठाउँका रूपमा चिनिएको यो बजारमा त्यसको असर अहिले पनि देख्न सकिन्छ । यहाँका धेरै परिवारमा चालक, यातायात श्रमिक र यातायात मालिक पृष्ठभूमिका परिवारहरू धेरै छन् ।

हेटौंडाको राजनीतिमा सीमित अनुहारहरूको बोलवाला रह्यो । कमल थापा दशकौंसम्म राजनीतिको केन्द्रमा रहे । डोरमणि पौडेल नगरप्रमुखदेखि मुख्यमन्त्रीसम्म बने । कुनै बेला प्रतिनिधिसभामा प्रभावशाली उपस्थिति जनाउने विरोध खतिवडा, कृष्णप्रसाद दाहालको थातथलो यहीं हो । महेशकुमार बर्तौलाको अहिले पनि अर्थपूर्ण उपस्थिति छ ।

तर, हेटौंडाको अहिलेको अवस्थाले नै भन्छ कि– यस्ता अनुहारहरू नीतिनिर्माण तहमा पुग्दा पनि हेटौंडाले केही पाएन र अहिले पनि केही गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस् 

त्यो हेटौंडा, यो हेटौंडा !

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?