+

१२ लाख सकिंदा पत्ता नलागेको तीन वर्षीय छोराको रोग जब क्यान्सर पुष्टि भयो  

२०८० फागुन  ४ गते १४:५१ २०८० फागुन ४ गते १४:५१
१२ लाख सकिंदा पत्ता नलागेको तीन वर्षीय छोराको रोग जब क्यान्सर पुष्टि भयो  

काठमाडौं । जनकपुरकी सजिना खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाइल्ड वार्ड अगाडि बसिरहेकी थिइन् तीन वर्षीय छोरा च्यापेर । डा. सुचारिता तुलाधर वार्डको राउन्ड लगाउन आउनै गर्दा उनी उत्सुकतापूर्ण हेरेर मुस्कुराउँछिन् ।

अस्पतालमा उनका तीन वर्षीय छोरा आसिफ आलमको आठ महिनादेखि क्यान्सरको उपचार भइरहेको छ । छोरा छिट्टै ठीक हुने आशा साँचेर बसेकी छिन् सजिना ।

दुई वर्षअघि आसिफ आँगनमा खेल्दा खेल्दै एक्कासि सानो खाल्डोमा खसे । उनलाई चोटपटक त लागेन तर एक्कासि ज्वरो आयो । ज्वरो १०२ डिग्रीभन्दा माथि आएपछि उनी आत्तिएर नजिकैको स्वास्थ्य संस्था पुगिन् ।

डाक्टरले ज्वरोको औषधि दिएर पठाए । तर औषधि खाएपछि पनि छोराको ज्वरो घटेन । उल्टै पेट फुल्न थाल्यो । त्यसपछि फेरि उनी स्वास्थ्य संस्था पुगिन् तर उनको छोराको समस्या पत्ता लागेन । त्यसैले त्यहाँका चिकित्सकले छोरालाई लिएर काठमाडौं जाने सल्लाह दिए ।

चिकित्सकको सल्लाहअनुसार सजिनाले छोरालाई लिएर काठमाडौं आइन् । महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा छोरालाई भर्ना गरिन् । त्यहाँ आसिफको सम्पूर्ण स्वास्थ्य जाँच गरियो । थेलेसिमिया हो कि भनेर त्यसको जाँच गरियो र बोनम्यारो जाँच पनि गरियो । यी सम्पूर्ण जाँचमा उनको लगभग तीन लाख रुपैयाँ खर्च भयो । २२ दिन अस्पतालमा बित्यो तैपनि रोग पत्ता लागेन ।

छोराको अवस्था झन् बिग्रिंदै गयो, पेट फुल्ने समस्या बढ्दै गयो, रगतको कमी पनि भयो, तर रोग पत्ता लाग्न सकेन । यता रोग पत्ता लाग्दैन उता छोराको अवस्था दिनप्रतिदिन बिग्रिंदै गएको देखेर सजिना आत्तिइन् । उनले डाक्टरलाई छोरालाई अन्त कतै रिफर गर्न अनुरोध गरिन् ।

सजिना खातुन

डाक्टरले उनलाई दिल्लीको सर गंगाराम अस्पताल रिफर गरे । अब उनी छोराको रोग पत्ता लगाउन र उपचार गर्न श्रीमानका साथ दिल्ली पुगिन् । नयाँ ठाउँ नयाँ परिवेश त्यहाँ गएर कहाँ बस्ने के खाने केही कुराको टुंगो छैन । त्यहाँ पुगेर उनले डाक्टरलाई भेटिन् जनकपुर र काठमाडौंका अस्पतालको सबै रिपोर्ट देखाइन् ।

डाक्टरले पुरानो रिपोर्ट हेर्न मानेनन् र भने- ‘पहिलेको रिपोर्ट नदेखाउनुस् यहाँ फेरि सबै जाँच गर्नुस् म आफ्नै तरिकाले तपाईंको छोराको उपचार गर्छु । आसिफको स्वास्थ्य फेरि जाँच भयो । सम्पूर्ण जाँच गर्न लगभग सात लाख रुपैयाँ खर्च भयो । तैपनि छोराको रोग पत्ता लागेन । डाक्टरले भने- ‘केही समस्या देखा परेन । फेरि अर्को जाँच गर्नुपर्छ जसको रिपोर्ट आउन एक महिना समय लाग्न सक्छ ।’ डाक्टरको कुराले सजिनालाई थप दु:खी बनायो ।

उनको साथमा भएको सबै पैसा सकियो । अब भने उनलाई त्यहाँ थप बस्न मन लागेन, र थप अन्य जाँच पनि गर्न मन लागेन । त्यसैले उनी जनकपुर फर्किइन् ।

जनकपुर फर्किएपछि छोराको समस्या झन् बढ्दै गायो । साथै आँखा नजिक मासु पनि पलायो । अब उनी छोरालाई लिएर लहान नेत्र अस्पताल पुगिन् । आँखा नजिक पलाएको मासुलाई शल्यक्रिया गर्नुपर्ने र त्यहाँ शल्यक्रिया सम्भव नभएकाले त्यहाँबाट काठमाडौंको तिलगंगा आँखा अस्पताल रिफर गरियो ।

काठमाडौं आउने खर्च उनीसँग भएन । आफ्नो जमिनलाई धितो राखेर केही रकम जुटाएर उनी काठमाडौं आइन् । त्यसपछि पुगिन् तिलगंगा आँखा अस्पताल । त्यहाँ चिकित्सकले आसिफको आँखा नजिक पलाएको मासुको जाँच गरे । रिपोर्ट हेरेर त्यहाँ शल्यक्रिया नहुने भन्दै उनलाई पाटन अस्पताल जाने सल्लाह दिए ।

अब छोरालाई लिएर सजिना पुगिन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान । अस्पतालमा उनको भेट बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा. सुचारिता तुलाधरसँग भयो । डा. तुलाधरले सम्पूर्ण रिपोर्ट हेरेर भनिन्, ‘तपाईंको छोरालाई क्यान्सरको जस्तो लक्षण छ बायोप्सी गरेर हेरौं । तब उनको छोराको बायोप्सी गरियो । उनको छोरालाई ‘एलसीएच क्यान्सर’ सेतो रक्त कोषिका अनियन्त्रित रूपमा बढेको कारण क्यान्सर भएको रहेछ ।’

डा. सुचारिता तुलाधर

डाक्टरको कुरा सुनेर सजिना आत्तिइन् र रुन थालिन् । छोरालाई क्यान्सर भएको सुन्नेबित्तिकै उनलाई गाह्रो भयो । डा. तुलाधरले उनलाई यो रोगको उपचार हुने भन्दै सम्झाइन्, ‘उपचारको लागि लगभग साढे दुई वर्ष लाग्छ । त्यो समयसम्म तपाई यतै बस्नुपर्छ । तपाईंको बस्ने खाने व्यवस्था यतै एउटा संस्थाको सहयोगमा हुन्छ । त्यसैले नआत्तिकन छोराको उपचार गर्नुस् ।’

डाक्टरको कुराले सजिनाको हिम्मत बढ्यो । विपन्न परिवारमा क्यान्सर भएका बालबालिकाको परिवारलाई बस्ने खाने सबै व्यवस्था मिलाउन एउटा संस्थाले सहयोग गर्ने रहेछ । उनी त्यही संस्थाको सहयोगमा छोराको उपचार गर्न काठमाडौंमा नै बस्ने भइन् ।

उपचार सुरु भयो उनको छोराको अवस्था बिस्तारै सुधार हुँदै गयो । आठ महिनादेखि उनको छोराको उपचार चलिरहेको छ । उनी एक्लै नै छोराको उपचारमा लागि परेकी छिन् । उनको श्रीमान् एक महिना अघि मात्र विदेश उडेका छन् । छोराको उपचारमा धेरै खर्च भएको हुँदा ऋण लागेको छ । त्यो ऋण तिर्न उनको श्रीमान् विदेश गए ।

‘श्रीमान् पनि साथमा छैनन्, दु:ख पर्दा रुने काँध छैन, सम्हाल्ने व्यक्ति पनि छैन,’ सजिना दु:ख पोख्छिन् ।

तीनवटा किमोथेरापी सकियो अब तीनवटा साइकल किमोथेरापी बाँकी छ । छोराको अवस्था सुधार भएसँगै उनी खुसी छिन् । उनलाई पाटन अस्पताल मन्दिर जस्तै लाग्न थालेको छ र चिकित्सक आफन्त जस्तै ।

उनी पाटन अस्पतालको उपचार र चिकित्सकको व्यवहारबाट सन्तुष्ट छिन् । रोग पत्ता लगाउनै धेरै ठाउँ भौतारिनु परे पनि छोराको उपचार भने सही ठाउँमा सही चिकित्सकबाट भइरहेकोमा उनी खुसी छिन् ।

छोराको अवस्थामा सुधार हुँदै गएको छ । उपचार कति लामो जान्छ अहिल्यै टुंगो लागिसकेको छैन । तर सजिनलाई हिम्मत भने दिएको छ, निको पारेर छोरालाई घर लैजान्छु ।

उपचार खर्च क्यान्सर डा. सुचारिता तुलाधर बालरोग
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची