+
+
स्थलगत रिपोर्टिङ :

बिरामीलाई पर्याप्त समय नै दिंदैनन् चिकित्सक

रोग पहिचान गर्ने माध्यम सूचना नै हो । त्यसका लागि चिकित्सकले बिरामीलाई पर्याप्त समय दिएर सूचना लिनुपर्छ । तर चिकित्सकसँग पर्याप्त समय दिने फुर्सद न कम्युनिकेसन स्किल छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० फागुन ६ गते २०:४८
कान्ति बाल अस्पतालको भीड

६ फागुन, काठमाडौं । कान्ति बाल अस्पताल, महाराजगञ्जको मेडिकल ओपीडी कक्ष बाहिर बिरामी भरिभराउ छ । कोठाभित्र पाँच जना चिकित्सक एकपछि अर्को बिरामी हेरिरहेका छन् । बिहान १० बजेदेखि साढे १२ बजेसम्म २१० जना बिरामी बालबालिका हेरिसकेका छन् ।

कक्ष बाहिर रातो बत्तिमा ‘२२०’ नम्बर डिस्प्ले भयो । भित्रबाट एक सहयोगी बोलिन्, २२० सम्म टोकन भएको मान्छे मात्रै आउनुहोला ।

हतपत्त काखीमा बालबालिका चाप्दै अभिभावक कोठाभित्र छिर्छन् । एक युवतीले ‘डाक्टर साब नमस्कार’ भनिनसक्दै चिकित्सकले प्रश्न गरे, ‘के भएको हो ? फट्टाफट भन्नुहोस् ।

ज्वरो आएको छ, वान्ता मात्रै गर्छ, युवतीले बताइन् ।

चिकित्सकले फेरि सोधे, ‘कतिपटक वान्ता भएको छ ? हिजो बेलुका कति ज्वरो आएको थियो ?

युवतीले जवाफ फर्काइन्, खै डाक्टर सा’ब थाहा नै भएन ।

चिकित्सकले टेबुलबाट अर्को कागज निकाल्दै भट्टाभट्ट टिक लगाए । अनि, त्यो बिरामीलाई थमाउँदै भने, ‘यी कुराको परीक्षण गर्नू । अब बिहीबार रिपोर्ट लिएर आउनू ।’

करिब तीन मिनेटमा युवती बाहिरिन्छिन् ।

मेडिकल ओपीडीको कोठाभित्र आल्मुनियमको पार्टेसन गरिएको छ । पाँच जना चिकित्सकले ‘रफतार’मा बिरामी हेरिरहेका छन् ।

अर्को टेबुलमा अधबैंसे महिला मेचमा टुसुक्क बस्छिन् । चिकित्सकले सोधे, ‘बच्चालाई के भएको हो ?

‘पेट दुख्यो मात्रै भन्छ, झाडापखला पनि भइरहेको छ’, केही समय अगाडि चेकजाँच गर्न लेखिदिएको कागजपत्र देखाउँछिन् ।

चिकित्सकले सोध्छन्, ‘त्यसको रिपोर्ट खोई ?

झोलामा हेर्छिन्, भेट्दिनन् ।

चिकित्सकले सोधे, ‘ज्वरो आएको छ ?’

‘अहिले त छैन । हिजो बेलुका आएको थियो,’ महिलाले जवाफ दिइन् ।

चिकित्सकले फेरि सोधे, ‘कति थियो ज्वरो, नाप्नुभएन ?’

‘नाइँ, नापिएन’ भन्ने जवाफ सुन्नासाथ चिकित्सक रिसाए, ‘न रिपोर्ट छ, के हेर्ने ? धामीझाँक्रीकोमा जानुहोस् । केही नहेरी सबै भनिदिन्छन् । यहाँ हेर्न त रिपोर्ट चाहिन्छ नि !’

महिला नजावाफ भइन् । चिकित्सकले प्रेस्क्रिप्सनमा केही औषधि लेख्दै भने, ‘सञ्चो भएन भने फेरि ल्याउनुहोला ।’

सोमबार दिँउसो करिब दुई घन्टा मेडिकल ओपीडी कक्षका पाँचवटै टेबलको दृश्य योभन्दा फरक थिएन । अभिभावक केही सोध्न चाहन्थे । आफ्ना बालबालिका समस्याको बारेमा खुलेर भन्न चाहन्थे । तर मुस्किलले ३ मिनेटमा कहाँ भन्न सम्भव हुन्छ र !

*** ***

मंगलबार बिहान ११ बजे । राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी कक्षबाहिर हातमा टोकन लिएर बिरामी र आफन्त बसेका छन् । लामो समय उभिंदा पट्यार लागेर होला, उनीहरू खुट्टा यताउता चलाइरहन्छन् । कोही बिरामी थचक्क भुईंमा बसेका छन् ।

भित्र कोठाबाट चिकित्सक बिरामी जाँचिरहेका छन् । पाँच-सात मिनेको अन्तरालमा माइकिङ भइरहेको छ, कोठा २, टिकट नम्बर १३७, १३८… । मुस्किलले एक बिरामीलाई चिकित्सकले दुई-तीन मिनेट समय दिन्छन् । चिकित्सकलाई देखाएर आएका गोरखाका ६५ वर्षीय शिवहरी गौतम डाक्टरले दिएको समयप्रति खुसी देखिएनन् ।

उनलाई हातखुट्टा झमझम गर्ने, शरीर दुख्ने, लगायतका समस्या छन् । नजिकका स्वास्थ्य संस्थामा पटक-पटक देखाए, तर दुखाइ कम भएन । नाम चलेका चिकित्सकलाई देखाउँदा सञ्चो हुने आशा बोकेर उनी काठमाडौं आइपुगेका थिए ।

गौतम चिकित्सकसँग आफ्ना समस्याको विस्तारमा राख्न चाहन्थे । तर उनले समस्या बताउनासाथ चिकित्सकले भने, ‘यो औषधि लेखिदिएको छु, सञ्चो भएन भने फेरि आउनुहोला ।’

गौतमले गुनासो गरे, ‘डाक्टर नानीसँग सबै आफ्ना कुरा राख्न पनि पाइनँ । कुन रोग लागेको, के कारणले भएको खुलेर भनेनन् । डाक्टरले समय दिएर कुरा बुझाइदिए पो !’

*** ***

 

वीर अस्पतालको युरोलोजी ओपीडी कोठामा भेटिए, जनकपुरका विजय कुमार यादव (४५) । खुट्टामा छिन्न लागेको तुने चप्पल छ, हातमा सिटी स्क्यान, एक्सरे रिपोर्ट र केही औषधि छन् ।

श्रीमतीको साथमा आएका उनी चिकित्सकलाई भनिरहेका थिए, ‘पेटको तत्लो भाग दुखिरहेको छ । भर्ना गरिदिनुहोस् न डाक्टर सा’ब ।’ यादव आफूलाई सारै गाह्रो भएको भन्दै पटक-पटक भर्ना गरिदिन आग्रह गरेपछि चिकित्सक किन भर्ना गर्ने भन्दै रिसाए ।

यादव केही दिन अगाडि जनकपुर अस्पतालमा भर्ना भएका थिए । तर निको नभएपछि मंगलबार बिहान एम्बुलेन्सबाट वीर अस्पताल आइपुगेका थिए । ‘मैले आफ्ना समस्या राख्न खोजेँ, तर उहाँले किन जान्ने हुने भन्दै हप्काउनुभयो,’ यादवले अनलाइनखबरसँग गुनासो गरे, ‘जानेबुझेका डाक्टरले यस्तो व्यवहार गर्दा चित्त दुख्यो ।’

कान्ति, वीर र ट्रमा मात्र होइन, अधिकांश सरकारी अस्पतालका ओपीडी कक्षहरुमा विरामीको चाप छ । अनि अधिकांश बिरामीले उपचारमा संलग्न चिकित्सकको पर्याप्त समय नै पाएका छैनन् ।

किन समय दिन सक्दैनन् चिकित्सक ?

चिकित्सकले एउटा बिरामीलाई कति समय दिनुपर्छ ? यसको ठोस जवाफ छैन । बिरामीको अवस्था, रोग र चिकित्सकसँग कतिऔं पटक भेट भएको लगायतका कुराले निर्भर पनि गर्छ ।

नेपालमा बिरामीलाई कति समय दिने भन्ने विषयमा कुनै नीति छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै नयाँ बिरामीलाई हेर्दा कम्तिमा २०/२५ मिनेट समय दिनुपर्छ ।

किनकी रोग पहिचान गर्ने माध्यम सूचना नै हो । उक्त सूचना लिने समय रोग अनुसार फरक हुनजान्छ । विज्ञका अनुसार सामान्यतः चिकित्सकले बिरामीको हिस्ट्री र जीवनशैलीबारे सोध्नुपर्छ, त्यसपछि बिरामीलाई उपचारबारे न्यूनतम कुरा बताउनुपर्छ ।

तर नेपालका अधिकांश सरकारी अस्पतालमा आउने बिरामीलाई पर्याप्त समय दिन नसकेको चिकित्सकहरु नै स्वीकार गर्छन् । वीर अस्पतालका युरोलोजी विभागका प्रमुख डा. रविनबहादुर बस्नेत कम जनशक्ति र सीमित समयका कारण दैनिक ३०० भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था रहेको सुनाउँछन् ।

‘एक टेबुल अगाडि पाँच-छ जना बिरामी हुन्छन् । संवेदनशील रोग हुँदा न बिरामीले सबै कुरा भन्न सक्छन्, न हामीले पनि कतिपय कुराहरु खुलेर नै सोध्न सक्छौं,’ डा. बस्नेत भन्छन्, ‘यसले रोग पहिचान गर्न समेत गाह्रो हुन्छ ।’

चिकित्सकहरुले बिरामीलाई पर्याप्त समय दिन नसक्नुको प्रमुख कारण जनशक्ति अभाव नै हो ।

हरेक स्वास्थ्य संस्थामा जनशक्तिको अभाव चर्को छ । २०५० सालमा निर्धारण गरेको दरबन्दी १ हजार ४०० कै भरमा सरकारी स्वास्थ्यसंस्थाहरु चलिरहेका छन् ।

डा. भगवान कोइराला

नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला पनि सरकारी अस्पतालमा चिकित्सकले पर्याप्त समय दिन नसक्दा बिरामी पटक-पटक अस्पताल धाउनुपरेको स्वीकार गर्छन् । ‘केसको जटिलता हेरेर विरामीलाई न्यूनतम समय नदिएसम्म रोग पहिचान गर्न सकिँदैन । त्यसका लागि जनशक्ति र स्रोतसाधन जरूरी हुन्छ’ बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले भने ।

तर उपलब्ध स्रोत, साधन र समयलाई पनि सम्भव भएसम्म व्यवस्थित गर्न सकिन्छ, कतिपयले गरेका पनि छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा.अर्जुन कार्कीका अनुसार बिरामीले लिएको आशालाई सहजीकरण गर्नुपर्ने भावनाबाट काम सुरु भयो भने समय व्यवस्थापन गर्न सकिन्छ ।

बिरामीको भीड भएकाले पर्याप्त समय नदिएको सुन्ने गरेको भन्दै उनले भने, ‘पर्याप्त समय नदिएर १०० जना बिरामीलाई असन्तुष्ट र गलत उपचार गर्नुभन्दा १५-२० जनालाई पर्याप्त समय दिएर सही उपचार दिनु राम्रो हो ।’

तर धेरैजसो चिकित्सक भने सरकारीसँग निजी अस्पताल-कलेज-क्लिनिकमा जोडिएका हुन्छन्, त्यसैले सधैं हतारमा हुन्छन् । अनि कम समयमा धेरै बिरामी हेर्छन् ।

छैन सञ्चार सीप

साथसाथै स्वास्थ्यकर्मीमा कम्युनिकेसन स्किल (सञ्चार सीप) पनि कमी भएको बताउँछन् चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन डा. जगदीश अग्रवाल ।

डा. अग्रवालका अनुसार बिरामीको पीडा धैर्यपूर्वक सुनेर सजिलोसँग बुझ्ने गरी बताउनुपर्छ । तर अधिकांश मेडिकल स्कुलमा सञ्चारसम्बन्धी सीप समावेश गरिएको छैन । ‘कसरी संवाद गर्नुपर्छ भनेर पाठ्यक्रममै राखेर सिकाउनुपर्ने हो’ उनले अघि भने, ‘हाम्रो मेडिकल कलेजहरुमा राम्रोसँग सिकाइँदैन ।’

त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्ड

कम्युनिकेसन स्किलको तालिम नभएका स्वास्थ्यकर्मीले लगातार १८-२० सेकेन्ड पनि बिरामीको कुरा नसुन्ने गरेको डा. अग्रवाल बताउँछन् । डा. अग्रवालका अनुसार आईओएममा ‘एमडी/एमएसका विद्यार्थीमा सञ्चार सीप’बारे गरिएको अध्ययनमा समेत बिरामीसँग लिइने मेडिकल अन्तर्वार्तासम्बन्धी सीप सन्तोषजनक नरहेको देखाएको थियो । ‘डाक्टर र बिरामीबीच जति धेरै प्रश्नउत्तर भयो उति धेरै रोग पहिचान हुने र विश्वासको वातावरण बढ्दै जान्छ,’ डा. अग्रवाल भन्छन्, ‘बिरामीलाई एक मिनेट स्वतन्त्र रुपले बोल्न नदिँदा कसरी एकअर्काको कुरा बुझ्न सकिन्छ र ?’

स्वास्थ्यकर्मीमाथि नै अविश्वास

बिरामी र चिकित्सकको बीचमा हुने छोटो वा फितलो कुराकानीले उपचारमा समेत असर गरेको हुन्छ ।

सबभन्दा ठूलो, चिकित्सकमाथि नै विश्वास कम हुन्छ । उपचारबारे बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच निरन्तर संवाद वा काउन्सिलिङ कमजोर हुँदा पनि स्वास्थ्यकर्मीमाथि नै अविश्वास बढ्ने आईओएमका पूर्वडिन डा. अग्रवाल बताउँछन् ।

जबकी चिकित्सकले बिरामीको सबै कुरा ध्यान दिएर सुनिदिँदा मात्र पनि बिरामीको पीडा आधा कम हुन्छ । जब बिरामीलाई राम्रोसँग सुनेर चिकित्सकले उपचार गर्छन्, रोग छिट्टो पत्ता लाग्नुका साथै उपचार र अस्पताल बसाइको अवधि पनि कम हुन्छ ।

‘बिरामी कहाँ बस्छन् ? कुन आर्थिक हैसियतको छन् ? कस्तो सामाजिक परिवेश छ भन्ने विषयमा थाहा पाउन जरुरी हुन्छ,’ जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘रोगको उपचार औषधिले मात्रै हुँदैन । त्यसका लागि पर्याप्त परामर्श साथै मानसिक सपोर्ट पनि चाहिन्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?