+

महिलाको डिम्ब कस्तो अवस्थामा स्वस्थ हुन्छ ?

२०८० फागुन  १५ गते १७:१० २०८० फागुन १५ गते १७:१०
Shares
महिलाको डिम्ब कस्तो अवस्थामा स्वस्थ हुन्छ ?

सन्तान जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ । किनकि यो समयमा महिलामा गुणस्तरयुक्त डिम्ब हुन्छ । गुण्स्तरयुक्त र स्वस्थ डिम्बले  गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि स्वस्थ जन्मिन्छ । डिम्बलाई आजीवन जोगाइराख्ने व डिम्बको मात्रा बढाउने कुनै ठोस आधार छैन । त्यसैले भएको डिम्बको कसरी सदुपयोग गर्ने त्यो कुरामा ध्यान दिनु आवश्यक छ ।

महिलाको डिम्ब कस्तो अवस्थामा गुणस्तर मान्ने ?

महिला वा किशोरीको महिनावारी नियमित छ ।  महिलाको अण्डा निस्किएर वीर्यसँग निषेचन भई गर्भमा बच्चा बस्यो । सो बच्चा गर्भमा राम्रोसँग हुर्कियो र बिना कुनै जन्मजात रोग स्वस्थ जन्मियो भने डिम्ब स्वस्थ भएको भन्न सकिन्छ । गर्भ बसेपछि भ्रूणमा कुनै समस्या देखिंदैन भने त्यसलाई गुणस्तरको डिम्ब मान्न सकिन्छ ।

त्यस्तै महिनावारीमा कुनै गम्भीर समस्या छैन भने डिम्बको गुणस्तर र पाठेघर दुवै स्वस्थ भन्ने बुझिन्छ ।

डिम्बको गुणस्तर राम्रो हुने अवधि २० देखि ३० वर्षको उमेर हो । यस अवधिमा प्रजनन् क्षमता उच्च हुन्छ । इस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोन उच्च मात्रामा उत्पादन भई स्वस्थ डिम्ब पनि यही समयमा बढी निस्किने र सन्तान जन्माउन शारीरिक रुपमा पनि प्रजनन् अंग विकास भई परिपक्व भइसकेको हुन्छ । जसकारण २० देखि ३० वर्षको उमेर गर्भधानको लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

यसको गुणस्तर र डिम्बको संख्या पत्ता लगाउन एएमएच (एन्टिमुलेरियन हार्मोन) परीक्षण गर्न सकिन्छ । यो परीक्षणबाट डिम्ब कतिको स्वस्थ छन् र कति बाँकी छ अर्थात् समग्रमा डिम्बाशयको अवस्था पत्ता लाग्छ ।

कति हुन्छ डिम्ब ?

जन्मिंदै केटी शिशुसँग औसतमा १० देखि २० लाखसम्म डिम्ब हुन्छ । जब किशोरावस्थाको समय अर्थात् १३ देखि १४ वर्षमा प्रवेश हुन्छ । त्यतिखेर करिब तीन लाख डिम्ब मात्र बाँकी हुन्छ । प्रत्येक महिनावारी हुँदा भएका डिम्बहरु निख्रिंदै जान्छ । त्यसमा पनि सबैभन्दा राम्रो र गुणस्तरको डिम्ब २० देखि ३५ को उमेरमा निस्कन्छ ।

डिम्बाशयमा बिस्तारै कम गुणस्तरका अण्डा मात्र बाँकी हुन्छ । ३५ वर्षपछि डिम्ब खर्चिने दर तीव्र हुन्छ । डिम्ब सकिएपछि महिनावारी पूर्ण रुपमा रोकिन्छ । जसलाई रजोनिवृत्ति भएको भनिन्छ ।

डिम्बलाई असर गर्ने तत्व

उमेर

उमेर बढ्दै गएपछि महिलासँग हुने निश्चित डिम्बको गुणस्तर र संख्यामा कमी आउँछ । महिनावारी चक्रपिच्छे स्वस्थ डिम्ब खर्चिंदै जान्छ । ३५ वर्षपछि डिम्बको गुणस्तर तथा संख्यामा कम हुने क्रम थप छिटो हुन्छ । ३८ वर्षपछि त्यो क्रम अझ तीव्र गतिमा जान्छ र ४० पुग्दासम्म अत्यधिक कम र कमजोर हुन्छ ।

नतिजा, डिम्ब कम गुणस्तरको र संख्यामा कमी आएमा सन्तान जन्मने सम्भावना कम र जन्मिएको सन्तानमा ‘डाउन सिन्ड्रोम’ हुने सम्भावना बढी हुन्छ । डाउन सिन्ड्रोम समस्या भन्नाले क्रोमोजोममा समस्या आई वंशाणुगत तवरमा शिशु सुस्त मनस्थितिको र शारीरिक रूपमा कमजोर हुने हुन्छ ।

अटोइम्युन

शरीरको प्रतिरोध गर्ने कोषले आफूविरुद्ध नै हमला गर्नुलाई अटोइम्युन भनिन्छ । यस्ता कोषले गर्भाशयमा पनि हमला गर्छ । मधुमेह, बाथ र थाइराइड केही अटोइम्युन रोग हुन् । यस्ता रोगले प्रजनन् अंगलाई खराब पार्ने, डिम्बको गुणस्तर र मात्रामा ह्रास ल्याउँछ ।

वंशाणुगत

कसैमा वंशाणुगत कारणले पनि डिम्ब कमजोर हुनसक्छ । र, संख्यामा पनि कमी आउन सक्छ ।

अन्य स्वास्थ्य समस्या

विभिन्न स्वास्थ्य समस्याले डिम्बमा असर गर्न सक्छ । जस्तै, क्यान्सर लागेकाहरुमा उपचारको क्रममा केमोथेरापी र रेडियसन थेरापी गर्दा त्यसको विकिरण र कडा औषधिले डिम्बाशयलाई नकारात्मक असर पुर्‍याई डिम्बको गुणस्तरमा ह्रास ल्याउँछ । तिनीहरुमा उमेर अगावै महिनावारी सुक्ने सम्भावना हुन्छ ।

पीसीओएस

पीसीओएसले पनि किशोरी वा महिलामा प्रजनन् समस्या निम्त्याउँछ । डिम्बाशयमा तरल पदार्थले भरिएको थैली र सिस्टका कारण डिम्बको गुणस्तर घटाउँछ । साथै ‘ओभुलेसन फ्रिक्वेन्सी’ अर्थात् डिम्ब निष्कासन हुने दर पनि घटाउँछ । यसको नतिजा, गर्भवती हुने सम्भावना कम गराउँछ ।

जीवनशैली तथा वातावरण

डिम्बको गुणस्तर र संख्यालाई जीवनशैली तथा वातावरणले पनि प्रभाव पार्न सक्छ । जसमा ध्रुमपान, अत्यधिक मोटोपन र धेरै प्रदूषणमा काम गर्नु वा बस्नु पर्छन् ।

धुम्रपान तथा मदिरा सेवन

धुम्रपान तथा मदिरा सेवनले डिम्बको निष्कासन हुने प्रक्रियालाई घटाइदिन्छ । त्यति मात्र होइन यसमा हुने रसायनहरुले यसको गुणस्तरमा पनि खराब गर्छ ।

मोटोपन

मोटोपनले शरीरमा हार्मोनको लेभलमा असन्तुलन ल्याउँछ । मोटो शरीर भएमा ईस्ट्रोजेन हार्मोनको उत्पादन चाहिनेभन्दा बढी हुन्छ । यसले डिम्बलाई खराब पार्ने गर्छ ।

खराब खानपान

पोषणयुक्त खानेकुरा दैनिकजसो नखाएमा डिम्बको गुणस्तरमा कमी आउन सक्छ । प्रायः जंकफुड खाने, तारेको खानेकुरा खाने, पौष्टिक खानेकुरा कम खाने, बाहिरको खानेकुरा खाने, झोलिलो खानेकुरा कम खाने र समयमा खाने बानी छैन भने तिनीहरुमा डिम्बको गुणस्तर घट्न सक्छ ।

डिम्बको गुणस्तर कसरी कायम राख्ने ?

डिम्बको गुणस्तरलाई बढाउन मुख्यतया खानपानमा ध्यान दिनुपर्छ । जसरी शरीर बलियो हुन खानपानको ठूलो भूमिका हुन्छ । त्यसैगरी डिम्ब स्वस्थ बन्न पनि उचित खानपान हुन जरुरी छ ।

खानपानमा थरीथरी रङ भएका फलफूल जस्तै, स्याउ, केरा, अंगुर, एभोकाडो प्रशस्त खाने हो भने पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट र सूक्ष्म पोषक तत्व पाइन्छ ।

त्यस्तै, फर्सीको बीउ, सूर्यमुखीको बीउ, चुकन्दर, गेडागुडी, माछामासु, अण्डामा पाइने भिटामिन, पोटासियम, प्रोटिन, आइरनजस्ता तत्त्वहरू सन्तुलित रुपमा खानु पनि डिम्बको लागि फाइदाजनक हुन्छ । खानेकुरासँगै पर्याप्त पानी पनि खानुपर्छ ।

डिम्बको गुणस्तर कायम राख्न तनाव व्यवस्थापन गर्ने, शारीरिक सक्रियता बढाउने, पर्याप्त (आठ घण्टा) सुत्ने जस्ता पक्षमा ध्यान दिनुपर्छ ।

डा. कीर्तिपाल सुवेदी डिम्ब प्रजनन्
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने?

गर्भधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण