+

पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या  

२०८० फागुन  २२ गते १३:५२ २०८० फागुन २२ गते १३:५२
पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या  

हिजोआज पुरुषको वीर्यमा कमी हुने समस्या धेरैमा देखिएको छ । वीर्य कम हुने समस्या बढ्नुमा अस्वस्थकर जीवनशैलीलाई जिम्मेवार मानिन्छ ।

शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, जसलाई पुरुषमा हुने बाँझोपन भनिन्छ । तर समयमा बाँझोपन किन हुन्छ भन्ने पत्ता लागेमा यो समस्याको समाधान पनि हुनसक्छ ।

कस्तो अवस्थाले वीर्य कमी भएको निर्धारण गर्न सकिन्छ ?

पुरुषको वीर्यमा प्रतिमिलिलिटर शुक्राणुको संख्या डेढ करोडभन्दा कम हुनु चिकित्सकीय भाषमा शुक्राणुको संख्या कम भएको बुझिन्छ । शुक्राणुको संख्या शून्य अवस्थामा हुनुलाई ओलिगोएजुस्पर्मिया पनि भनिन्छ ।

डेढ करोडभन्दा शुक्राणुको संख्या बढी भएमा मात्र महिला स्वस्थ रुपमा गर्भधारण गर्न सक्छिन् ।

कारण

पुरुषमा शुक्राणु कम हुने विभिन्न कारण हुनसक्छन् । जसमा स्वास्थ्य र वातावरणसँग सम्बन्धित कारण पर्छन् ।

भेरिकोसिल : अण्डकोषबाट वीर्य निष्कासन गर्ने नसा सुन्निनु भेरिकोसिलको समस्या हो । जसले शुक्रकीटको गुणस्तर घटाउँछ । यद्यपि भेरिकोसिलले कसरी बाँझोपन निम्त्याउँछ भन्ने ठोस कारण पत्ता लागिसकेको छैन । तर वीर्य बस्ने अण्डकोषको तापमान नियमनसँग सम्बन्धित हुने अनुमान गरिन्छ ।

संक्रमण : यौन सम्पर्कबाट लाग्न सक्ने रोगले पनि वीर्य उत्पादन र यसको गुणस्तरमा असर गर्न सक्छ । गोनोरिया, एचआईभी जस्ता संक्रमणले अण्डकोष सुन्निसक्छ । केही संक्रमणले अण्डकोषलाई पूरै क्षति गर्न सक्छ ।

स्खलन समस्या : लिंगको टुप्पोबाट बाहिर निस्कनुको सट्टा चरम उत्तेजित समयमा वीर्य मूत्राशयमा प्रवेश गर्छ । जसलाई रेट्रोग्रेड स्खलन भनिन्छ ।

मधुमेह, मेरुदण्डमा चोटपटक, मूत्राशय, प्रोस्टेट र मूत्रमार्गको शल्यक्रिया लगायत विभिन्न स्वास्थ्य अवस्थाले पनि स्खलनमा कमी हुनसक्छ ।

केही औषधिले पनि स्खलन समस्या निम्त्याउन सक्छ । जस्तै, प्रोस्टेटको समस्या र रक्तचाप औषधिमा प्रयोग हुने औषधि, अल्फा ब्लकर ।

शुक्राणुलाई आक्रमण गर्ने एन्टिबडी : केही विशेष अवस्थामा पुरुषको वीर्य हुनुपर्ने ठाँउभन्दा उल्टो दिशामा बसिदिन्छ । यस्तोमा एन्टिस्पर्म एन्टिबडी कोषिकाले गल्तीले शुक्राणुलाई हमला गरी नष्ट गर्ने प्रयास गर्छन् ।

फाइल तस्वीर

क्यान्सर : पुरुषको प्रजनन अंगमा हुनसक्ने क्यान्सरले प्रजनन् क्षमतामा असर गर्छ । यस्ता समस्याले प्रजननसँग सम्बन्धित हार्मोन निस्किने पिट्युटरी ग्रन्थीमा असर पार्छ । क्यान्सरको उपचारका लागि शल्यक्रिया, रेडियोथेरापी वा केमोथेरापीले पनि पुरुषको प्रजनन क्षमतालाई असर गर्न सक्छ ।

पेटबाट तल नझरेको अण्डकोष : भ्रूण विकासको क्रममा कहिलेकाहीं एक वा दुवै अण्डकोषहरू पेटबाट थैलीमा झर्ने असफल हुन्छन्, जसमा सामान्यतया अण्डकोष हुन्छ । यस्तोमा पुरुषको प्रजनन् क्षमता कम हुने सम्भावना बढी हुन्छ ।

र्मोन असन्तुलन : हाइपोथ्यालेमस, पिट्युटरी र अण्डकोषले शुक्राणु उत्पादन गर्न आवश्यक हार्मोन उत्पादन गर्छ । यी हार्मोनहरूमा आउने परिवर्तनका साथै अन्य प्रणाली जस्तै थाइराइड र एड्रेनल ग्रन्थीले पनि शुक्राणु उत्पादनमा असर पार्न सक्छ ।

शुक्रकीट बोक्ने नलीमा समस्या : धेरै खालका नलीले शुक्राणु बोक्छन् । ती नलीमा विभिन्न कारणले अवरोध पुग्न सक्छ । जसमा शल्यक्रिया गर्दा चोटपटक लाग्नु, पहिल्यै संक्रमण भइसकेको अवस्था, चोटपटक वा असामान्य मासु पलाउनु जस्ता समस्या पर्छन् ।

यस्तो अवरोध कुनै पनि तहमा हुन सक्छन् । अण्डकोषको भित्र, अण्डकोषबाट वीर्य लैजाने नली, स्खलन नली नजिक र मूत्रमार्ग जुनसुकै ठाउँमा अवरोध आउँदा समस्या आउँछ ।

वंशाणुगत : पुरुषसँग एउटा ‘एक्स’  र एउटा ‘वाई’ क्रोमोजोम हुन्छ । तर केही पुरुषमा जन्मिंदै दुई ‘एक्स’ र एक ‘वाई’ क्रोमोजोम हुन्छ । जुन असामान्य विकास हो र यसले पुरुषको प्रजनन् अंगमा असर गर्छ । विशेषत बाँझोपनसँग सम्बन्धित अन्य आनुवंशिक सिन्ड्रोमहरू सिस्टिक फाइब्रोसिस, कलम्यान सिन्ड्रोम र कार्टगेनर सिन्ड्रोम समावेश छन् ।

औषधि : टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी, लामो समयसम्म एनाबोलिक स्टेरोइड प्रयोग, क्यान्सर औषधि (केमोथेरापी), निश्चित एन्टिफंगल र एन्टिबायोटिक औषधिहरू, केही अल्सर औषधिले शुक्राणु उत्पादनलाई कम गर्न र पुरुषको प्रजनन् क्षमता घटाउन सक्छ ।

शल्यक्रिया : केही शल्यक्रियाले भ्यासेक्टोमी, इन्गुइनल हर्निया, अण्डकोष वा अण्डकोषको शल्यक्रिया, प्रोस्टेट शल्यक्रिया, टेस्टिकुलर र रेक्टल क्यान्सरका लागि गरिने पेटको ठूला शल्यक्रियाले स्खलन भए पनि त्यसमा शुक्राणु बन्दैन ।

वातावरणीय कारण

औद्योगिक रसायन तथा धातु एक्सपोजर : बेन्जिन, टोल्युइन, जाइलिन, जडिबुटी, कीटनाशक, जैविक घोलक, चित्रकालाका सामग्री, सिसा र धातुहरूको एक्सपोजरले पनि बाँझोपन हुनसक्छ ।

विकिरण वा एक्सरे : विकिरणको एक्सपोजरले शुक्राणु उत्पादन कम हुनसक्छ । लामो समयसम्म विकिरणको सम्पर्कमा रहिरहँदा शुक्राणु उत्पादन सामान्य अवस्थामा फर्किन धेरै वर्ष लाग्न सक्छ ।

बढ्दो तापक्रम : उच्च तापक्रमले शुक्राणु उत्पादन र कार्यलाई असर गर्छ । यद्यपि, यसबारे अध्ययन सीमित र निष्कर्षविहीन छन् । तर सौना वा तातो टबहरूको बारम्बार प्रयोगले शुक्राणु गणनालाई अस्थायी रूपमा कमजोर पार्न सक्छ ।

लागऔषध : लागूऔषधमा हुने एनाबोलिक स्टोरियोडले मांसपेशीको तागतलाई उत्तेजित र विकास गर्छ, जसकारण अण्डकोष खुम्चिन्छ र वीर्य उत्पादनमा कमी आउँछ । त्यस्तै, कोकिनले वीर्यको संख्या र गुण्स्तरमा कमी ल्याउँछ ।

मदिरा : अत्यधिक मदिरा पिउँदा टेस्टोस्टेरोन हार्मोनको स्तरलाई कम गर्छ । नतिजास्वरुप वीर्य उत्पादनमा कमी हुन्छ ।

धुम्रपान : धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्ने पुरुषको वीर्य कम हुन्छ ।

तनाव : लामो समय तनाव लिइरहने पुरुषमा पनि  शुक्राणु उत्पादन कम हुन्छ । डिप्रेसनले वीर्यको प्रवाहमा असर गर्न सक्छ ।

लक्षण

यौन इच्छा वा रुचिको कमी, थकित महसुस, शरीर, अनुहार वा शरीरको अन्य भागमा रौं झर्नु, अण्डकोष क्षेत्रमा दुख्नु, अण्डकोष क्षेत्रमा सुन्निने वा गाँठो, सम्भोगको समयमा कम प्रदर्शन, गर्भधारण गर्न कठिनाइ र स्तनको आकारमा असामान्य वृद्धि जस्ता लक्षण देखिन्छ ।

समाधान

वीर्यमा कमी भएमा जीवनशैली परिवर्तनदेखि चिकित्सा उपचारसम्म आवश्यक हुनसक्छ ।

-मोटोपनले हार्मोनल असन्तुलन गरी शुक्राणुको संख्या कम गर्छ । त्यसैले वजनलाई नियन्त्रण गर्नुपर्छ ।

-भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टयुक्त सन्तुलित आहार खाँदा शुक्रकीटको स्तरमा सुधार हुन्छ । जिंक, भिटामिन सी, भिटामिन डी र ओमेगा–३ फ्याटी एसिडले भरपुर खाना खानुपर्छ ।

-सौना जस्ता गर्मीको अत्यधिक एक्सपोजरले शुक्राणु उत्पादनमा नकारात्मक असर पार्न सक्छ, त्यसैले तातो वातावरणबाट टाढा रहनुपर्छ ।

-तनावले शुक्रकीटको समस्या मात्र कम गर्दैन, अन्य स्वास्थ्य समस्या पनि निम्त्याउँछ । त्यसैले ध्यान र योग जस्ता तनाव व्यवस्थापन विधि अपनाउनु उपयोगी हुन्छ ।

-रक्सी र सुर्तीजन्य पदार्थको सेवन घटाउनु वा छोड्नु फाइदाजनक हुनसक्छ ।

उपचार

जीवनशैली परिवर्तन गरेर पनि भएन भने वीर्यको परीक्षण गरी यसको संख्यामा कमी पाइएमा मूत्ररोग विषेशज्ञलाई देखाउनुपर्छ । यदि कुनै शारीरिक अवरोध वा भेरिकोसिलले शुक्राणु उत्पादनमा बाधा पुर्‍याइरहेको छ भने शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

कम वीर्यका कारण गर्भधारण भएको छैन भने इनभिट्रो फर्टिलाइजेसन वा इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन जस्ता प्रविधिको मद्दत लिन सकिन्छ ।

गर्भारण डा. अनिलपुकार साह बाँझोपन वीर्य
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय