+
+

गठबन्धन बदलु प्रधानमन्त्री : हरेक पटक अरुलाई दोष

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० फागुन २४ गते २१:४९

२४ फागुन, काठमाडौं । पछिल्लो समय संसद छल्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनेपछि बिहीबार सम्बोधन गरेका छन् । सांसदहरुले उठाएका विषयमा जवाफ दिन रोष्टममा पुगेका उनले अधिकांश समय भने नयाँ गठबन्धन बनाएकोबारे स्पष्टीकरण दिन खर्चिए ।

६ फागुनयताका हरेक संसद बैठकमा विपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा मागेपछि सभामुखले जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित भएर जवाफ नदिएपछि १८ गतेको बैठकमा त सभामुखले दिन नै तोकेर २१ गते जवाफ दिन निर्देशन दिएका थिए ।

तर बालकुमारी घटनामा जाँचबुझ अयोगले दोषी देखाएका र अख्तियार दुरुपयोग अनुन्धान आयोगले बयान लिएका मन्त्रीलाई हटाउन नसक्दा प्रधानमन्त्रीले संसद छल्दै आएका थिए । सोमबार नयाँ गठबन्धन बनेसँगै प्रश्न उठेका मन्त्रीहरु पनि बिदा भए भने राजीनामा माग गर्ने दल एमाले पनि सत्तारुढ भयो ।

बिहीबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरणमा परिर्वतन र सरकारको पुनर्गठनसँगै केही प्रश्नको जवाफ आएको बताए । उनले भने, ‘बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनर्गठनसँगै असान्दर्भिक भएको छ ।’

सांसदहरुले शून्य र विशेष समयमा उठाएका केही विषयमा जवाफ दिएपछि प्रधानमन्त्रीले सत्ता समीकरणमा भएको फेरबदलबारे बोले । विश्वासको मत लिने बेला विस्तृतमा आफ्नो मत राख्ने भन्दै उनले कांग्रेसका कारण सत्ता समीकरण फेरिएको निष्कर्ष सुनाए ।

निर्वाचनमा पनि कांग्रेसले गर्नुपर्ने जति सहयोग नगरेको भन्दै उनले भने, ‘निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो ।’ कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडेका प्रचण्ड १० पुस २०७९ मा एमाले, रास्वपासहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

कांग्रेसलाई दोषी देखाएर एमालेसँग गठबन्धन गर्न पुगेका प्रचण्ड धेरैदिन त्यहाँ अडिन सकेनन् । २६ पुसमा कांग्रेसले विश्वासको मत पाएसँगै राष्ट्रपति एमालेले लिने पूर्व सहमतिबाट पछाडि हटे । फागुन दोस्रो साता माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि गठबन्धन टुट्यो ।

६४ दिन (१५ फागुन २०७९) मा एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डले ६ चैत २०७९ मा प्रतिनिधि सभामा विश्वासको मत मागे । त्यसबेला उनले गठबन्धन टुट्नुको दोष एमालेलाई लगाए । ‘गठबन्धनका घटकका बीचमा केही वैचारिक राजनीतिक मतभेद थिए । हामीले विगतका असमझदारीलाई नउठाउने सहमति गरेका थियौं’ त्यो बेला उनले भनेका थिए, ‘त्यो प्रतिवद्धतामा म कायम रहेँ, तर केही पक्ष (एमाले)बाट त्यसको पालना भएन ।’

संसदमा पहिलो दिनै एमालेले संसद विघटनको विषय प्रवेश गराएको भन्दै उनले भने, ‘लगभग सिंगो सदनको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसद विघटनको पक्षपोषणले ठूलो नैतिक संवैधानिक र राजनीतिक चुनौती दियो ।’

२५ पुस २०७९ मा बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका थिए । यसले गठबन्धनमा अविश्वास पैदा गर्नुका साथै संविधान, लोकतन्त्र एवं संसदको स्थायित्वमै प्रश्न उठेकाले आफूले गठबन्धन नदलेको प्रचण्डको दाबी थियो ।

त्यो दिन प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा, जनमत पार्टी र स्वतन्त्र समेत गरी १७२ जना सांसदले विश्वासको मत दिए । एमाले, रास्वपा, राप्रपा र नेमकिपा प्रतिपक्षमा बस्यो ।

यो गठबन्धन एक वर्ष पनि टिकेन । २१ फागुनमा प्रधानमन्त्रीले कांग्रेससँग गठबन्धन तोडे, एमालेसँग नयाँ गठबन्धन बनाए । त्यसको चार दिनपछि बिहीबार संसदलाई सम्बोधन गर्ने क्रममा गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार रहेको बताए ।

गठबन्धन तोड्नु पर्नाको कारण दिँदै प्रचण्डले भने, ‘म संकेतमा केवल यत्ति भन्छु– साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन ।’

१० पुस २०८० मा सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा हेरेफेर गरेर काममा नयाँपन र तिब्रता दिने बताएका थिए । त्यसअनुसार अगाडि बढ्न नपाएको भन्दै प्रचण्डले भने, ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ ।’

कांग्रेसको महासमितिको बैठकमा भविष्यमा चुनावी गठबन्धन नगर्ने भनेर भएको छलफल, १० वर्षे सशस्त्र युद्धबारे गरिएको टिप्पणी र केही नेताहरुले हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानलाई पनि गठबन्धन तोड्नुको कारण भनेका छन् ।

‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण गरियो’, उनले भने, ‘समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार कांग्रेसको महासमिति बैठकमा स्टल राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले संविधानप्रति कांग्रेसकै प्रतिवद्धतामै आशंका जनाउनसक्ने जमिन तयार ग¥यो ।’

कांग्रेसले भने संस्थागत निर्णय नै गरेर प्रधानमन्त्रीको दाबी बहाना मात्र भएको जवाफ दिएको छ ।

बिहीबार संसदमा प्रधानमन्त्री पछि बोलेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रश्न गरे, ‘गत वर्ष पुस १० गते एउटा गठबन्धन बन्यो । दुई महिनापछि त्यो बेठीक छ भनेर अर्को बन्यो । फेरि पछिल्लो वाला होइन अघिल्लोवाला ठीक रहेछ भनेर उही गठबन्धन बन्यो । अब को ठीक हो को बेठीक ?’

अरु सबै बेठीक आफू चाहिँ ठीक भन्ने प्रधानमन्त्रीको तर्कसँग सहमत हुन नसक्ने उनले बताए । प्रधानमन्त्रीले गठबन्धन फेरिरहने, पदमा बसिरहने बाटो लिएको भन्दै लेखकले अगाडि भने, ‘यही गतिमा सम्माननीय प्रधानमन्त्रीजी हिँड्नुभयो भने झण्डै बाह्र पटक गठबन्धन फेरिनेवाला छ । पाँच वर्षमा बाह्र पटक गठबन्धन फेर्ने अनि आफू चाहीँ बाह्रै पटक भइरहने ।’

यसअघि दुईवटै सत्ता समीकरणमा प्रधानमन्त्री प्रचण्डलाई साथ दिएको जनमत पार्टी यसपटक प्रतिपक्षमा बसेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि प्रधानमन्त्रीले गठबन्धन बदल्नुको फितलो कारणहरु दिएको भनी प्रश्न उठाए ।

‘एउटा सैद्धान्तिक धरातलमा टेकेर वाम धु्रवीकरण हुँदैछ भन्ने लागेको थियो’ संसदमा उनले भने, ‘प्रधानमन्त्रीले कारण दिँदा एउटा÷दुइटा कुर्सीमा कुरा नमिलेको भन्दा बढी क्रेडिट लिन चाहनु भएन ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?