+
+
कविता :

जय नारी, जय नारायण

शिखर दुलाल (लेखु) शिखर दुलाल (लेखु)
२०८० फागुन २५ गते १३:५०

जीवन मोडमा
मारे पाप र पाले पुण्यको तगारोले छेक्दै गर्दा
अग्नि कसम मैले मात्रै खाए पनि
सात फेरोको त्यो घुम्तीमा
सँगसँगै त हो जग्गे नामको मण्डप घुमेको ।

संघर्षरत् पृथ्वीको
आधा बाटो तिमीले हिंड्दै छौ, आधा म हिंड्दै छु
यो सृष्टि आधा जति तिमी धान्दैछौ
तिमीले मनन् गरेकै हौली बाँकी आधा म पनि भोग्दै छु
तिम्रो आधा पाङ्ग्रा र मेरो आधाले त चल्दो छ जीवनरथ
पूरा हुन न तिमी एक्लोले पुग्ने रहेछ, न त म एउटाले
वातावरणको हावा त बराबरी सेचन भएको छ भने
अरु के कुरा गरुँ म ।

कुनैबेला
भट्टु र ताप्केमा पाकेको भोजन समेत बराबरी बाँडिएकै थियो
केट्लीमा तातेको चिया भन या अम्खोराको पानी
कुँडेमा उम्लिएको ‌ओलन भन या ठेकीमा मथेको नौनी
बरोबर गरी यो स्वादे जीब्रो फड्कारेकै हो
तर तिमीले अझैसम्म किन बुझेनौ
मलाई पनि त केही न केही रहर थियो भान्से बन्ने
मलाई पनि त रहर थियो तिम्रो खण्डे थाल भरिदिने
तिमी किन अन्कनाइरहेछौ मेरा रहरहरू बुझिदिन ।

तिम्रा खुशीका लागि मलाई पनि रहर छैन र
मस्को चाल्न र खरेटो झार्न
ढिकी र जाँतो गर्न
दाउरा र घाँस गर्न
सहजतामा तिमी आफैं अघि सरेपछि
मेरा रहरको नदी तिमी आफैं तरिसकेपछि
अधिकारको हनन भयो मैले भन्नै नपाउँदै
तिमी
आफैं किन खोजी हिंड्छौ समानताका कुरा
आफैं संग्ल्याई आफैं अग्ल्याई पुरुषप्रधानका कुरा।

म बाहिरिनै लाग्दा तिमीले नै हैन बानी पारेको
टोपी र टाई मिलाएर
तिमीले नै हैन टक्र्याएको सिनिक्क जुत्ता टल्काएर ?

नानीबाबुहरु बाहिरनै लाग्दा खै त मैले सहजता पाएको
मैले लगाएको वस्त्र खै त मैले आफैं टल्काउन पाएको
मैले भोजन खाएको थाल खै त मैले नै मस्काउन पाएको
तिमी नै भन
मेरो टाई मैले आफैं कस्न पाउने अधिकार खै ?
हाम्रा लालाबाला स्कुल जानै लाग्दा
उनीहरूलाई तयार पार्ने मेरो अधिकार खै ?
मेरो इजार फुस्क्यो, मैले बाध्न पाउने सहजता खै?

मैले लाउने चश्मा मैले पुछ्न पाउने कि नपाउने
तिमी नै भन त
हामीले बस्ने दलान हामी दुवैको हैन र ?
मैले पनि त्यहाँ सुकुल ओच्छ्याउन पाउनु पर्दैन र ?
हामीले नार्ने जोतारो हामी दुवैको होइन र ?
मैले हलगोरु नार्दै गर्दा तिमीले हलो समाइदिने रहर गर्नु पर्छ नि हैन र ?

हामीले भर्ने भकारी दुवै मिलेर भर्ने हैन र
तिमीले र मैले छुने आकाश नै एक भएपछि
हामी दोधारको संघारमा बाधिनुपर्छ र ?
तिमी आफू नारी भएर बाँच्दै गर्दा पनि
पुरुषप्रधान भएका कुरा हावी किन भएका छन्
एउटा मात्र सवाल तिमीलाई
वैवाहिक वर्षगाँठ तिम्रो र मेरो दुवैको साझा हैन र
तिम्रो जन्मदिन र मेरो जन्मदिन हामी दुवैको साझा हैन र ?

तिमीले मात्रै सुनको हार पाएर आनन्दित भए पुग्छ र ?
म पुरुष भएकैले केही अपेक्षा गर्न पाउन्न र ?
तिमी आशावादी हुनु पहिल्यै
सुन्ने आँट गर्न सक्नुपर्छ समानुपातिकतामा
पुरुषहरू पनि गाग्री बोकेर पँधेरा जान पाउनुपर्छ
कुचो बोकेर पिँढी सफा गर्न पाउनुपर्छ
ढिकीजाँतो र भकारी भर्न पाउनुपर्छ
किचेन साम्राज्यमा
मैले पनि त तिम्रो स्वाद पकाउन पाउनुपर्छ
साँच्चिकै अधिकारको बिगुल फुक्ने नै हो भने
बञ्चरो लिएर निस्क दाउरा चिर्न पाखुरी लिएर
कोदालो भिरेर निस्क आली तास्न सहास लिएर
वर्षमा एकपटक
नारी दिवसमै सीमित पारेर हुन्न म्याडम
म भनेको भन्यै छु, उबेला देखिनै,
आवाज लिएर निस्क अधिकारको मूल फुटाउन
मेहनत गर समानताको फूल फुलाउन
आउ आधा तिमी आधा म काँधमा काँध मिलाउन ।

दुलाल नर्थ क्यारोलाइना नेपाली साहित्य समाजसँग आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?