+
+
अभिनेता रवीन्द्र झासँग संवाद :

‘फिल्म लेखकले काठमाडौंमा बसेर मधेशको कथा लेख्‍दा न्याय भइरहेको छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १४:०८

काठमाडौं । ‘जात्रा’बाट फिल्ममा डेब्यु गरेका रवीन्द्र झा पछिल्लो समयका व्यस्त अभिनेता हुन् । ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ चैत ९ मा रिलिज हुँदैछ । यो फिल्ममा उनले मधेशी चरित्र मुन्नाको भूमिका निर्वाह गरेका छन् । मधेशबाट काठमाडौंमा आएर संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी छन् ।

रवीन्द्रसँग तीन दशक लामो अभिनय करिअरको अनुभव छ । देशदेशावर घुमेर उनले सयौं नाटकमा काम गरिसकेका छन् । यसै सन्दर्भमा उनीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

अहिले नेपाली समाजमा र राजनीतिमा कत्तिको महाजात्रा देख्नुभएको छ ?

नेपालमा भइरहेको जात्रा विश्वमै छैन । जति भने पनि कम हुन्छ । जुन जात्रा भइरहेको छ, त्यो जात्राको आकार निकै ठूलो छ । कहिलेकाहीं हामी नेपाली हौं भनेर भन्न लाजै लाग्ने स्थिति छ । सरकार टिक्दै टिक्दैन । फेबिकल लगाएर बस्दैन । चनाको भाउमा बिकिरहेको छ । मन्त्री, नेताको कुरा गर्दै नगरौं । फिल्म र नाट्यकर्मीलाई कुन चाहिं सरकारले सहयोग गरेको छ र ?

पहिलो श्रृंखलादेखि तेस्रोसम्म आइपुग्दा तपाईंको पात्रको यात्रा कस्तो छ ?

मैले निर्वाह गरेको पात्र मुन्ना आशाको पछाडि दौडिरहेको छ । केही पैसा, केही सपना भेटिएला कि भन्ने आशा । त्यो आशा पूरा भए परिवारलाई खुसी दिने उसको सपना छ । उसको परिवार पनि मुन्नाकै आशामा टिकेको छ । भगवान कृष्णले पनि भनेका छन्– झुटो बोल्नु पाप हैन, यसरी झुटो बोल्नुपर्‍यो कि त्यसले अरुलाई क्षति नहोस् । यदि फाइदा छ भने बोल्ने । त्यो मुन्ना जसले फाइदाका लागि परिवारसँग झुटो बोलिराख्या छ, उसले जानीजानी परिवारलाई धोका दिइराख्या छु भन्या छैन । बिचरा, त्यो मुन्ना पात्र फसिराख्या छ ।

मान्छेलाई धेरै पुग्यो भने अरु पाउने लोभ जाग्छ । यो हिसाबले मुन्नाको भोगाइसँग म नजिक छैन । मैले जति पाइरहेको छु, त्यति भए पर्याप्त हुन्छ । मलाई मर्सिडिज केही चाहिंदैन, मायाप्रेम चाहियो । त्यति भए पुग्छ ।

फिल्मले नेपाली समाज र राजनीतिलाई कति व्यंग्य गर्न सकेको छ ?

अहिले रिलिज भएका फिल्मले व्यंग्य गरेकै छन् । राजनीतिलाई कमेडीले सटायर दिएको छ । सामान्य मान्छेले बोलिरहँदा पनि व्यंग्यको कुरा बोलिरहेजस्तो हुन्छ । नाटकमा पनि यस्तो सटायर हुन्छ । जसको लागि व्यंग्य गरिएको छ, उसले कसरी यसलाई लिन्छ भन्ने महत्वपूर्ण हो ।

तपाईंले गरेका ३० फिल्ममा मधेश र मधेशी पात्रलाई गरिएको चित्रणप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट छैन । अझै पर्याप्त हुन सकेको छैन । मलाई के कुरामा खुसी लागेको छ भने मधेशलाई नेपालीसँग जोड्न बाध्य भएर हो कि यताबाट अघाएर हो कि, उताको कथाहरु आउन थाल्या छ । धेरै फिल्ममा त्यो चीज आइराख्या छ । मधेशको कथा धेरै लेख्न थालिएको छ । कति फिल्मको सुटिङ पनि भइरहेको छ । जति हुनुपर्ने थियो, त्यति भइराखेको छैन ।

नेपाली फिल्ममा मधेशलाई जसरी चित्रण गरिएको छ, वास्तविकता त्यस्तो छ कि ? निर्मातानिर्देशक पक्षपाती भए ?

यदि यस्तो छ भने फिल्म लेखकलाई मधेशबारे ज्ञान छैन । मैले यस्तो फिल्म लेखक पनि फेला पारें, जो जोमसोममा बसेर तराईको कथा लेखिराख्या छन् । अब त्यो लेखकलाई कसरी विश्वास गर्ने ? तराईबारे लेख्नलाई तराईमै बसेर लेख मैले भन्या होइन । कम्तीमा पनि दुई महिना तराई घुम्नुपर्‍यो, बुझ्नुपर्‍यो । कुन ठाउँमा अपराध छैन ? मुख्यतः यो कुरामा व्यक्तिको मानसिकतामा निर्भर हुन्छ । काठमाडौंमा बसेर मधेशको कथा लेख्नेलाई मैले भेटेकै छु । यसरी त कहाँ हुन्छ यार ?

भनेपछि फिल्ममा मधेशको सही चित्रण भएको छैन ?

आएको छैन । काठमाडौंमै रातदिन पकेटमारी हुन्छ । मान्छे मारिएकै छन् । फिल्म र मिडियाले कसरी हाइलाइट गर्छन् भन्ने कुरा हो । एकसे एक राम्रा मान्छे, धनी मान्छे, दानपुण्य गर्ने मान्छे मधेशमा पनि छन् । एकसे एक त्यस्ता राम्रा मान्छे पहाडमा पनि छन् । कसरी हाइलाइट गर्ने, त्यो महत्वपूर्ण कुरा हो ।

पक्षपातपूर्ण नहुने ढंगले मधेशका कथावस्तुलाई नेपाली फिल्मसँग कसरी जोड्न सकिएला ?

मैथिली बुझ्ने कमै नेपालीभाषी छन् । बुझेपनि ऊ फर्काउन जान्दैन । म अहिले नेपाली बोल्या छु तर मेरो टोन मैथिली आइराख्या छ । तपाईं जति कोसिस गर्नुस् मैथिली बोल्न, तपाईंको टोन आइहाल्छ । जात्रामा मैले मेरो परिवारसँग मैथिलीमा कुरा गरिराख्या छु । दर्शकले बुझ्या छन् । प्रतिक्रिया दिएका छन् । जात्रैजात्रामा पनि मैले सासु आमा र पत्नीसँग मैथिलीमा कुरा गर्‍या छु । खोइ त दर्शक रिसाएको ? हामी नेताको गतिविधिलाई स्वीकार्छौं भने कलाकारको गतिविधिलाई किन अस्वीकार गर्ने ?

मधेशी पात्रलाई नेपाली फिल्ममा किन मुख्य भूमिकामा स्थान दिइएको छैन ?

आफ्नो ठाउँमा त्यो ठीक छ । तर संघर्ष गर्ने मान्छे आउनुपर्‍यो नि यता । उतै किन लुक्ने ? म निर्देशक र निर्मातालाई दोष दिन चाहन्नँ । जब अडिसन खुल्छ, त्यहाँ कति जना आउँछ ? तपाईं मधेशी र जनजाति कोटाको भरमा नआउनुस् न । म मधेशी हुँदैमा कोटा जम्प गरिहाल्ने ? म पहाडी हुँदैमा, पहाडीको कोटामा जम्प गर्ने ? केको लागि तपाईं कोटामा जाँदै हुनुहुन्छ ? क्षमतावान पनि हुनुपर्‍यो नि ।

तपाईंको अभिनय करिअरमा मुन्ना पात्रले कस्तो स्थान राख्छ ?

मुन्नाले स्थान पाएको पनि छ । यो जात्राको श्रृंखलामा मात्र सीमित छैन । अरु क्यारेक्टरमा पनि मुन्ना काम गर्दैछ । तपाईं सबैभन्दा पहिला मनभित्र पस्न सक्नुपर्‍यो । आज दर्शकले रवीन्द्र झालाई स्वीकार गर्‍या छ ? म दाबीका साथ भन्छु, मलाई एसेप्ट गर्‍या छैन । पहिला मुन्नालाई माया गर्‍यो र त्यसपछि पर्दा पछाडिको नाम खोज्न थाल्या हो । त्यसमा उसले रवीन्द्र झालाई भेटेको हो । म २०३४ सालमा जन्मिएको हो । हामीले दर्शकको पनि भावना बुझ्नुपर्‍यो, जे पायो त्यो बनाएर हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?