+
+

सुन आयोगले दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा, नोटिसमा राख्न सिफारिस

आयोगसँग मल्होत्राले भने - पहिले झिटिगुण्टाको काम गरेँ, अहिले छैन

गौरव पोखरेल गौरव पोखरेल
२०८० चैत ६ गते ८:००

६ चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा भएको छ ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर आयोगले मल्होत्राको गुपचुप बयान लिएको गृह मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ । झण्डै एक महिना अघि मल्होत्रासँग लिइएको बयान आयोगको प्रतिवेदनमा समेत समावेश छ ।

स्रोतका अनुसार, गएको बिहीबार आचार्य नेतृत्वको आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको जाँचबुझ आयोगको प्रतिवेदनमा मल्होत्रालाई राज्यको नोटिस (जानकारी) मा राख्न समेत सिफारिस गरिएको छ ।

‘आयोगले सुन तस्करीमा मुद्दा चलाउनुपर्ने, विभागीय कारबाही गर्नुपर्ने, थप अनुसन्धान गर्नुपर्ने, राज्यले नोटिसमा राख्नुपर्ने शीर्षकमा वर्गीकरण गरेर व्यक्तिहरुको सूची प्रतिवेदनमा समावेश गरेको रहेछ’, मन्त्रालय उच्च स्रोतले भन्यो, ‘त्यसमध्ये नोटिसमा राख्नुपर्ने सूचीमा दिपक मल्होत्रा समेत छन् ।’

मोरङको उर्लाबारीमा २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण सतहमा आएको थियो । शाक्यको हत्याबारे छानबिन चलिरहँदा प्रहरीले वास्तविक आरोपितलाई भगाएको सूचना हिरासतमा रहेका अभियुक्तको परिवारमार्फत प्रधानमन्त्रीसम्म पुगेको थियो ।

यसपछि गठित गृह मन्त्रालयका सह–सचिव ईश्वराज पौडेल नेतृत्वको छानबिन समितिले गरेको अनुसन्धान मल्होत्रासम्म पुगेको थियो । तर, त्यहिबेला मल्होत्रा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएका थिए ।

फर्किएर आउँदा समितिले थप अनुसन्धान गर्न म्याद पाएन । बरु प्रतिवेदन तयार गरेर बुझाउन दबाब आयो ।

पछि सहसचिव पौडेलले भारतको कोलकातामा महावाणिज्यदूत भएर जाने अवसर पाए भने तत्कालीन एसएसपी वसन्त लामा काठमाडौं प्रहरी प्रमुख बनाइए ।

स्रोतका अनुसार, समितिले बुझाएको प्रतिवेदनमा २९३ जना शंकास्पद व्यक्तिहरुको सूची राखिएको थियो । त्यसमा मल्होत्राको नाम समेत थियो । यद्यपि, हालसम्म समितिको प्रतिवेदन सार्वजनिक भएको छैन ।

कतिसम्म भने पूर्वन्यायाधीश आचार्य नेतृत्वको आयोगले समेत प्रतिवेदनको पूर्णपाठ प्राप्त गर्न सकेन । समितिले तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी दिवेश लोहोनी, श्याम खत्री, पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल लगायतलाई समेत पक्राउ गरेको थियो ।

उनीहरुमाथि सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सघाएको आरोप थियो । समिति स्रोतका अनुसार, तस्करीका नाइकेतर्फ अनुसन्धान गरिरहँदा छानबिन समिति मल्होत्राका व्यवसायिक साझेदार विमल पोद्दारसम्म पुगेको थियो ।

विमल पोद्दार ।

समितिले पोद्दारलाई ६ असार २०७५ मा डिल्लीबजारबाट पक्राउ गरेको थियो ।

पोद्दारले सुन कारोबारको आर्थिक व्यवस्थापनका लागि हुण्डी गर्न गिरोहलाई सहयोग गर्ने गरेको भेटिएपछि पक्राउ गरिएको समितिका एक सदस्य बताउँछन् । उनीपछि पौडेल नेतृत्वको समिति मल्होत्रालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने चरणमा पुगेको थियो ।

‘अनुसन्धान मल्होत्रा नजिक पुगेकाले त्यसबेला गृहमन्त्री रामबहादुर थापा बादलले ठूला माछा पक्राउ पर्ने सार्वजनिक रुपमै बताउनुभएको थियो’, समितिका ती सदस्यले सम्झिए, ‘तर, अझै उच्च तहबाट अनुसन्धानमा सहयोग भएन ।’

स्रोतका अनुसार, पक्राउ परेपछि समितिसमक्ष बयान दिने क्रममा पोद्दारले आफ्ना साझेदार व्यवसायी मल्होत्रा, केही पूर्वमन्त्री र अवकाशप्राप्त प्रहरी अधिकृतहरुको नाम लिएका थिए ।

दीपक मल्होत्राको दाबी – विमल पोद्दार पक्राउ परेकाले मलाई जोडे । मैले पहिल्यै साझेदारी तोडिसकेँ ।

आयोगमा मल्होत्रा – पहिले झिटिगुण्टाको काम गरेँ, अहिले छैन

सुन तस्करी जाँचबुझ आयोगमा दिएको बयानमा मल्होत्राले कुनै बेला पोद्दार आफ्नो साझेदार भएकाले उनी पक्राउ पर्दा आफ्नो नाम जोडेको दाबी गरेका छन् । ‘पोद्दारसँग मेरो पार्टनरसिप भएकाले नाम जोडेका हुन्, ३३ किलो सुनमा संलग्न थिइनँ’, प्रतिवेदनमा समावेश बयानमा उनले भनेका छन्, ‘त्यही घटनापछि मैले उनीसँग साझेदारी तोडेको हुँ ।’

विमानस्थलको पार्किंङमा पनि पहिले उनी साझेदार भएपनि विवादपछि टुटाएको उनले भनेका छन् । यद्यपि, पहिले झिटिगुन्टा सुनको कारोबार गरेको भने उनले स्वीकारेका छन् । ‘पहिले झिटिगुन्टा सुनको कारोबार गरेकै हुँ, अहिले मैले सुनको कारोबार गरेकै छैन’, मल्होत्राले भनेका छन् ।

उनका साझेदार पोद्दार अहिले पनि प्रहरीको फरार सूचीमा छन् । डिल्लीबजारमा सिल्भर सिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज चलाउँदै आएका उनलाई हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा प्रहरीले खोजी गरिरहेको छ ।

पोद्दार २२ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए । सुनसहित पक्राउ परेका चन्द्र घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई भन्सारले पक्राउ गरेको थियो ।

मीनबहादुरले बयानमा सन् २०१४ मा पोद्दारसँग मिलेर काम गरेको बताएका थिए । कल डिटेल रेकर्ड (सीडीआर) निकालेर विस्तृत अनुसन्धान गर्ने प्रयास भएपनि भन्सारको छानबिन विस्तृतमा जान सकेन ।

भन्सारले पोद्दारबारे प्रहरीसँग जानकारी लिन खोज्दा सीआईबीले पहिल्यै पक्राउ पूर्जी जारी भएको विवरण बताएको थियो । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी गराउने प्रहरी तयारी छ ।

प्रहरीले सुन तस्करीमा मुछिएका हाई–प्रोफाइलहरुलाई जोगाएको भन्दै त्यसबेला प्रतिपक्षमा रहेको नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनेको थियो ।

आयोगले विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको ६० किलो सुन, भेपमा लुकाएर भएको तस्करीसहित पुराना सुन प्रकरणबारे पनि जाँच गर्न सक्ने क्षेत्राधिकार पाएको थियो । त्यहीअनुसार मल्होत्रासँग समेत बयान लिएको स्रोतको भनाइ छ ।

आयोगले बिहीबार बुझाएको प्रतिवेदनको कार्यान्वयन सरकारले थालिसकेको छ । त्यसअनुसार सोमबार पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।उनीमाथि अनुसन्धान गरेर पुरक अभियोग अदालतमा पेश गर्ने सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवाली बताउँछन् ।

थप अनुसन्धानका लागि महरालाई ४ दिन हिरासतमा राख्न अदालतले समेत आदेश दिइसकेको छ । तर, प्रहरीले स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई नर्भिक अस्पताल भर्ना गरेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?