
६ चैत, काठमाडौं । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोमा काठमाडौं महाराजगञ्जका ४४ वर्षीय केदार अर्याल पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अर्याललाई सिनांमगलबाट पक्राउ गरेको हो ।
अर्यालले झापा घर भएका दुर्गाप्रसाद प्रसाईंको ८४ लाख ठगी गरेपछि उनीविरुद्ध प्रसाईंले दायर गरेको मुद्दामा जिल्ला अदालत झापाले ८४ लाख बिगोका साथै २ वर्ष कैदको सजाय समेत तोकेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
अर्यालले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नभई अर्कै दुर्गा प्रसाईलाई ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी अर्यालले झापाको दमकमा पम्मी देवानको हजुरआमाको ३ बिगाहा जग्गा ग्लोबल आईएमई बैंकमा धितो राखेको थाहा पाएपछि आफू बैंककै प्रतिनिधि बताई ५० लाख रुपैयाँ लिएर ठगी गरेको आरोप लागेको छ ।
बरुण थापाको जाहेरीले ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर ३० मा उनीविरुद्ध १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
त्यस्तै बारा जिल्ला अदालतमा अर्यालविरुद्धका दुई वटा बैंकिङ कसुरका मुद्दा समेत विचाराधीन अवस्थामा रहेको पाइएको छ ।
अर्यालले टेलिकमको पत्रमा समेत केरमेट गरेर मिति र अंक सच्याएर लिखतसम्बन्धी कसुर गरेकोमा उक्त मुद्दामा समेत फरार व्यक्ति रहेको खुलेको छ । पक्राउ परेका अर्याललाई कारबाहीका लागि झापा पठाइएको एसपी रेग्मीले बताए ।
प्रतिक्रिया 4