 
																			७ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेको छ ।
मंगलबारको प्रतिनिधि सभाको बैठक पछाडि उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार वर्ष सदन अवरुद्ध गरे पनि सत्ता हाँकिरहने बताएका थिए ।
लामिछानेको सोही अभिव्यक्तिमाथि बुधबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले प्रश्न उठाएको हो ।
प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आफ्ना कुरा राख्न कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेलाई समय दिए । न्यौपानेले गृहमन्त्री लामिछानेले गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताइन् ।
‘हामीलाई च्यालेन्ज गर्नुभयो सरकारका गृहमन्त्रीले । चार वर्ष सदन अवरुद्ध गरोस् हामी सत्ता हाकिरहन्छौं भन्नुभयो,’ उनले प्रश्न गरिन्, ‘कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्द गर्दा सत्ता चल्छ ? त्यो कदापि हुन सक्दैन ।’
अरु बेला नभएता पनि बजेटका लागि त सदन चाहिन्छ होला नि भन्ने पनि उनको प्रश्न छ । ‘बजेटका बेला पनि संसद चाहिंदैन होला, हामीलाई चाहिएको छ संसद,’ उनले भने ।
आफूलाई सहकारीको रकम हिनामिनामा संलग्न भएको भनी आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति कै माग गरेपछि गृहमन्त्री लामिछानेले कांग्रेस पनि दुधले नुहाएको पार्टी नभएको प्रतिक्रिया दिएका थिए ।
मंगलबारको प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग भनेका थिए, ‘…एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति (संसदीय छानबिन समिति) नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु ।’
आफू कामले जवाफ दिने पक्षमा रहेको भनी उनले कांग्रेसलाई नैतिकताको कुरा नसिकाउन चेतावनी दिंदै उनले भनेका थिए, ‘म भन्छु- नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् । अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् ।’.. अनुसन्धान गर्दागर्दैमा मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् ।’
चार वर्ष आफूहरुले काम गर्दा अहिलेका धेरै मान्छे सदनमा नहुन सक्ने पनि उनको भनाइ थियो । ‘चार वर्ष यसैगरी अवरूद्ध भइरहृयो र सरकारले मजाले काम गर्न पायो भने के थाहा, धेरै मानिस सदनमा हुँदै हुने छैनन् कि !’
गृहमन्त्री लामिछानेको यही अभिव्यक्तिमाथि कांग्रेसले बुधबार संसदमा प्रश्न उठाएको हो । साथै, कांग्रेस सांसद न्यौपानेले संसदीय छानबिनबाट नभाग्न पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरेकी छन् । उनले प्रश्न गरिन्, ‘छानबिन गर्न किन डराउनु पर्यो ?’
अब बस्ने बैठकमा गृहमन्त्रीको सहकारीको रकम अपचलनमा रहेको संलग्नताको विषयमा छानबिन गर्न संसदीय छानबिन गर्ने प्रक्रिया अगाडि नबढे संसद चल्न नदिने पनि उनले चेतावनी दिइन् । ‘आउँदो बैठकमा छानबिन समिति बनाउन सत्तापक्षले मानेन भने हामीले होइन संसद उहाँहरुले नै अवरोध गरेको मानिनेछ ।’
‘पैसा नलिएको भए कसरी फर्छ्यौट भयो ?’
सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको भनी कांग्रेसले गत फागुन २४ गतेदेखि संसदमा निरन्तर उठाउँदै आएको छ । यस सम्बन्धमा विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको कांग्रेसले मंगलबारबादेखि संसदीय छानबिन समितिको माग गर्न थालेको छ ।
मंगलबार सदनमा जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेका सम्बन्धमा सार्वजनिक रुपमा समेत प्रश्न उठेपछि आफूले समेत अध्ययन गरेको र हालसम्मको अनुसन्धानले लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा समेत कहीँ कतै नजोडिएको बताए ।
उनले भनेका थिए, ‘…उहाँको नाममा प्रवाह भएको भनिएको ऋण समेत फर्छ्योट भएको देखिन आएकाले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट बि्रफिङ भएको थियो ।’
प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिमाथि पनि कांग्रेसले प्रश्न गरेको छ । ‘पैसा नलिएको भए कसरी फर्छ्योट भयो ?’ कांग्रेस सांसद न्यौपानेको प्रश्न छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4