
७ चैत, काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । क्यास एप एप्लिकेशनमार्फत अनलाइन क्यासिनो खेलाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी नगरपालिका–७ घर भइ टोखा बस्ने २४ वर्षीय सुनिल ठाकुर, सोही ठाउँका २६ वर्षीय रामवीर ठाकुर, मोरङको बेलबारी नगरपालिका–१० घर भइ टोखा नै बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका–१२ घर भएका २२ वर्षीय प्रसय जमकट्टेल, झापको गौरादह घर भइ काठमाडौं बुढानिलकण्ठ बस्ने २२ वर्षीय दिप्नोज खत्री र काठमाडौं महानगरपालिका–१४ घर भएका २९ वर्षीय स्वराज श्रेष्ठ छन् ।
उनीहरुले क्यास एम एप्लिकेशनमार्फत जुवा, लस भेगास, पाण्डा, फायर क्रेन जस्ता नामहरुबाट अनलाइन जुवा खेलाएको पाइएका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए । पक्राउ परेका सबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पक्राउ परेकाहरुबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ५ थान ल्यापटप, ८ थान मोबाइल र सीपीयु १ थान बरामद गरेको छ ।
यसअघि बुधबार मात्रै प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4