+
+

‘१ घण्टामै श्रम स्वीकृति दिनू’ भनेका मन्त्रीलाई कर्मचारीको जवाफ- घरबाटै काम गर्न दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १७:१०

९ चैत, काठमाडौं । शुक्रबारदेखि एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बिहीबार साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगे । श्रम स्वीकृति दिने कार्यालयको अनुगमन गर्दा एकै दिनमा वितरित टोकनअनुसार समेत श्रम स्वीकृति जारी नभइरहेको थाहा पाएपछि उनले निर्देशन दोहोर्‍याए, कम्तीमा सेवाग्राहीले टोकन लिएकै दिनमा श्रम स्वीकृति जारी गर्नुस्, अब एक घण्टाभित्रै श्रम स्वीकृति जारी हुनुपर्छ ।’

तर, कर्मचारीहरुले मन्त्री अर्यालको निर्देशनअनुसार काम गर्न अहिलेकै व्यवस्थाबाट असम्भव रहेको जवाफ दिए । कार्यालयका एक कर्मचारीका अनुसारमन्त्री अर्याललाई कर्मचारीहरूले प्रणाली नै ‘स्लो’ भएकोले सेवा दिन समस्या भएको गुनासो गरेका थिए । ‘सबै कागजात पुगेर आए र सिस्टम सहजसँग चलेमा ५ मिनेटमा श्रम स्वीकृति जारी हुनसक्छ,’ कर्मचारीहरुले मन्त्रीसँग भनेका थिए ।

अहिले कार्यालयले विहान ७ बजेदेखि बेलुका ६–७ बजेसम्म सेवा दिइरहेको छ । कर्मचारीहरुले तीन सिफ्टमा सेवा दिंदा २१ घण्टा सेवा दिन सकिने मन्त्रीसँग बताए । ‘तर, त्यसका लागि ‘वर्क फर्म होम’ (घरबाटै काम गर्न) सुविधा दिनुपर्छ,’ एक कर्मचरीले मन्त्रीसँग भनेका थिए,‘यस्तो व्यवस्था गर्नुभयो भने श्रम स्वीकृति जारी गर्न भइरहेको ढिलाइ हट्छ ।’ मन्त्री अर्यालले आवश्यकताअनुसार क्रमैसँग यस्तो सुविधा पनि सुरु गर्न सकिने भन्दै सुधारको काममा सहयोग गरेर सेवा दिन आग्रह गरेका थिए ।

मन्त्रीका सचिवालयका अनुसार अहिले कार्यालयको २० वटा कम्प्यूटर अपडेट गरिएको छ । श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउन मन्त्रालयले कार्यालयलाई भनेको छ ।

हालको संस्थागत श्रम स्वीकृतिको लागि १५ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत गर्ने व्यवस्था छ । व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अबदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।

प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटामा हटाउने मन्त्रालयको तयारी छ ।

शुक्रबारदेखि दिउँसो १ बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गरिएको छ । विहान ९ बजेदेखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर ‘स्लो’ हुने भएकोले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गरिएको हो ।

हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । त्यस्तै एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिनभित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ । तीन दिनभित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।

गत ४ चैतमा ४ चैत श्रममन्त्री अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका थिए । फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले शुक्रबार (आज)देखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिदाँ एक घण्टा भित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएका थिए ।

‘तपाईंहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भएपनि एक महिना भित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,’ आपूर्तिकर्तासँग छलफल गर्दै उनले भनेका थिए ।

तर, मन्त्रीको निर्देशनअनुसार काम हुन सकेन । वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरु समस्यामा पर्ने गरेका छन् ।

प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ ।

मन्त्रालयको सुचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाईन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो ।

मन्त्रीले एक घण्टामा श्रम स्वीकृति जारी गर्ने बताएपनि प्रविधि, जनशक्ति र स्रोतसाधनको विद्यमान अवस्थाका कारण तत्काल सम्भव नदेखिएको कार्यालयका अधिकारीहरु बताउँछन् । तर,  सुस्त चल्ने विभागको अनलाइन प्रणाली चुस्त बनाउन सकए धेरै हदसम्म समस्या घट्ने उनीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?