+
+

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी, राज्यमन्त्रीको प्रतिवाद

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १९:५२
रिपब्लिकन सांसद ब्रायन मास्ट र विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मा ।

१० चैत, काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ ।

फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए ।

दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । मास्टको टिप्पणी रिपब्लिकन सिनेटरहरुले उठाउने गरेको प्रश्नकै निरन्तरताका रुपमा आएको देखिन्छ ।

मास्टले शुक्रबार अमेरिकी सिनेटको संसदीय समितिमा आठ मिनेट यही विषयको वरिपरि आफ्ना धारणा राखेका थिए । आफूले दिएको प्रस्तुतिलाई मास्ट आफैंले शुक्रबार ट्वीटरमा राखे ।

अमेरिकामा राष्ट्रपति चुनावको सम्मुख डेमोक्र्याट र रिपब्लिकन सांसदहरुबीच धार्मिक, लैंगिक, वातावरण र विभिन्न देशहरुबारे लिइएको नीति लगायतका विषयमा लगातार घोचपेच चलिरहेको छ ।

शुक्रबार संसदीय समितिको आफ्नो प्रस्तुतिमा सांसद मास्टले बाइडेन प्रशासनका विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मालाई लक्षित गर्दै धर्मको विरोध र नास्तिकतालाई प्रवर्द्धन गर्न रकम नेपालमा किन पठाइयो भनी प्रश्न गरे । ‘आधा मिलियन डलर नेपालमा नास्तिकता फैलाउन पठाइएको छ, अहिले उनीहरु संसदमा झुटो विवरण दिनका लागि उपस्थित भएका छन्’, मास्टले दाबी गरेका छन् ।

नेपालसम्बन्धी प्रसंगमा बोल्दै रिपब्लिकन सांसद मास्टले अमेरिकी नागरिकले करबापत तिरेको आधा मिलियन डलर अर्थात पाँच लाख डलर रकमलाई नेपालमा कुन उद्देश्यले खर्च गरिएको हो भनी प्रश्न उठाएका छन् ।

राज्यमन्त्री बर्माले त्यस्तो उद्देश्यका लागि नेपालमा कुनै रकम नपठाइएको, धार्मिक स्वतन्त्रताको सम्मान गर्ने अमेरिकी नीति सधैं रहेको भन्दै बचाउ गरे ।

‘हामीले कुनै धर्मलाई वा धर्मइतरका मानिसलाई प्रवर्द्धन गर्नका लागि कुनै रकम दिने गर्दैनौं, त्यस्तो टिप्पणी गर्नु अनुपयुक्त हुन्छ’, बर्माले जवाफ दिएका छन् ।

मास्टले डोनाल्ड ट्रम्प राष्ट्रपतिबाट बाहिरिनेबित्तिकै अफगानिस्तान, हुथी, गाजा लगायत क्षेत्रमा पैसा मनलाग्दी खर्च गरिएको आरोप लगाएका छन् । कोलम्बियामा समलिंगी यौनकर्मीहरुलाई समेत अमेरिकाको स्टेट डिपार्टमेन्टले यौनिकताको आधारमा र छालाको रंगको आधारमा बढाइँचढाइँ गर्दै रकम बाँड्ने गरेको उनको आरोप छ ।

रिपब्लिकन सांसदहरु जातीय अल्पसंख्यक, आप्रवासी शरणार्थीजस्ता मुद्दामा कठोर धारणा राख्ने गर्छन् ।

कुनै बेला अमेरिकी सेनामा रहेका मास्टले राष्ट्रिय सुरक्षालाई लिएर विगतमा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा लिएका नीतिहरुको खुला समर्थन गरेका छन् ।

यमनमा हुथी बिद्रोहीको आक्रमण, इक्वेडर, अफगानिस्तान, इजरायल–प्यालेस्टाइनको विवादित क्षेत्र गाजा लगायत ठाउँमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासनले लिएका नीतिहरुको आलोचना पनि गरेका छन् ।

अर्का सिनेटर क्रोउले धर्मको आधारभूत अधिकारलाई प्रवर्द्धन गर्नका लागि यो अनुदान जाने गरेको रेकर्ड रहेको भन्दै मास्टको बचाउ गरेका छन् । मास्टलगत्तै बोल्ने क्रममा उनले अमेरिकी राज्यप्रशासनले धर्मका नाममा पैसा बाँडिएको प्रकरणबारे स्पष्ट पार्न माग गरे ।

यसअघि न्युट ग्रिनरिचले पनि अमेरिकाका कट्टरपन्थी विचार राख्ने पत्रिकाहरुमा छापिएका समाचार उद्धृत गर्दै बाइडेन प्रशासनमाथि धर्म विरोधी अभियानलाई सघाउ पुर्‍याएको आरोप लगाएका थिए । उनका आरोपहरुको अमेरिकी सरकारले खण्डन गर्दै धार्मिक स्वतन्त्रता, व्यक्तिगत हक अधिकारका विषयलाई अमेरिकाले सधैं पक्ष लिने बताएको थियो ।

अमेरिकी सरकारले नेपालमा तथा अन्यत्र नास्तिकताको प्रवर्द्धन नगरेको, धार्मिक स्वतन्त्रताको पक्षपोषण गर्ने पहिलेदेखिकै नीति भएको, अनि आधारभूत मानवअधिकारको पक्ष लिएको भनी दिएको जवाफमा रिपब्लिकन सांसदले चित्त बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?