+
+

६ महिनादेखि सशस्त्रमा एक डीआईजी खाली, सूचना निकालेपछि पनि रोकियो बढुवा

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत ११ गते १९:५८

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा एक नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी खाली भएको ६ महिना बित्दासमेत बढुवा हुन सकेको छैन ।

गत ३० भदौमा डीआईजी विदुर खड्काले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसयता उक्त दरबन्दी खाली राखिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले विभिन्न कारण सरुवा प्रक्रिया लम्बिएको स्वीकारे पनि कारण भने खुलाएनन् । ‘यही कारण बढुवा रोकियो भन्ने भन्दा पनि बढुवा हुनका लागि धेरै कुराहरु मिल्नुपर्छ । सायद अब चाँडै बढुवा निस्केला’ खड्काले भने ।

गृहमन्त्रालयका सचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहने बढुवा समितिले ६ महिनासम्म बढुवाका लागि कसैलाई सिफारिस गर्न सकेको छैन ।

बढुवाका लागि कृष्णराज पाठक, दीपक अधिकारी, कृष्ण ढकाल र मनिष थापा प्रतिस्पर्धामा छन् ।

२०५४ मा नेपाल प्रहरीको प्राविधिक सईमा भर्ना भएका बढुवाका पहिलो दाबेदार पाठक सशस्त्र प्रहरी बल गठन भएपछि स्थानान्तरण भएका थिए । स्टाफ कलेज पास नगरे पनि उनी भने बढुवाका लागि योग्य मानिन्छन् ।

सशस्त्र प्रहरी बलमै २०५८ मा भर्ना भएका सि सं. १ को टोलीबाट मात्रै डीआईजी बढुवा हुनका लागि अनिवार्य स्टाफ कलेज पास गर्नुपर्ने नियम छ । त्यो भन्दा अघि भर्ना भएकाहरुको हकमा स्टाफ कलेजलाई अनिवार्य गरिएको छैन ।

पाठकसँगै सि सं. १ का टोलीहरु अर्थात सशस्त्रमै भर्ना भएको पहिलो ब्याचका दीपक अधिकारी, कृष्ण ढकाल र मनिष थापा डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

उनीहरु तीनै जनाले स्टाफ कलेज पास गरेका छन् । सिं सं १ मा २०५८ मा ९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएका थिए ।उनीहरुमध्ये सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा २६ माघ २०७९ मै डीआईजी भइसकेका छन् ।

यही ब्याचका प्रकाश थापा र विनोदराज श्रेष्ठले स्टाफ कलेज पास गरेका छैनन् । स्टाफ कलेज पास नगरी डीआईजी बढुवा नहुने प्रावधान रहेकाले उनीहरु डीआईजी बढुवाको प्रतिस्पर्धा बाहिर छन् ।

सशस्त्र प्रहरी बलमा ३ पटकसम्म स्टाफ कलेजको परीक्षा दिन पाइन्छ । तीन पटकसम्म स्टाफ कजेल पास नगरेकाले भने पुन परीक्षामा सहभागी हुन पाँउदैनन् । तर अहिलेका प्रतिस्पर्धीमध्ये कृष्ण ढकालले भने पाँचौं पटकमा स्टाफ कलेज पास गरेका हुन् ।

शैलेन्द्र खनाल सशस्त्रको महानिरीक्षक रहेका बेला ३ पटकको नियम संशोधन गरेर पाँच पटकसम्म परीक्षा दिन मिल्ने बनाइएको थियो । त्यतिबेला ढकालले पाँचौं पटकमा स्टाफ कलेज पास गरे पछि पुनः तीन पटक मात्रै दिन मिल्ने बनाइएको थियो ।

सूचना निकाल्दा समेत रोकियो बढुवा

गत ३ फागुनमा सशस्त्र प्रहरी बलको मानव स्रोत तथा प्रशासन विभागले बढुवाका लागि भन्दै सूचना निकालेको थियो । जसमा बढुवाका सम्भाव्य उम्मेदवारले ७ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवाका लागि आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपीहरु सहित फारम भरेर पेश गर्न भनिएको थियो ।

जसमा पाठक, अधिकारी, ढकाल, थापा र सि सं. २ का दीपेन्द्र कुँवरले समेत फारम भरेका थिए ।

कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय भानु देउवाका बहिनी–ज्वाईं हुन् । कुँवरले फारम भरेर बढुवाको लागि दबाब दिएपछि बढुवा समेत रोकिएको सशस्त्र प्रहरी बल स्रोत बताउँछ ।

बढुवा समितिका सदस्य सचिव समेत रहेका एआईजी सीपी गौतम भने सत्ता गठबन्धनमा आएको फेरबदलका कारण बढुवा रोकिएको बताउँछन् ।

‘बढुवा प्रक्रिया अघि बढेको थियो । तर सत्ता गठबन्धनमा परिवर्तन आयो । गृहमन्त्रीदेखि सचिवसम्म परिवर्तन भएपछि रोकिएको हो । अब बढुवा अघि बढ्छ’, एआईजी गौतमले अनलाइनखबरसँग भने ।

सि सं. १ को टोलीलाई समेत उछिनेर डीआईजी हुने महत्वकांक्षासहित फारम भरेका कुँवर यसअघि पनि प्रहरी नियमावली नै संशोधन गरेर बढुवा भएका थिए ।

२३ असार २०७९ मा सशस्त्र प्रहरी बल नियमावली संशोधन हुनुअघिसम्म एसपी भएको चार वर्ष पूरा भएपछि मात्रै एसएसपी बढुवाका लागि योग्य हुने प्रावधान थियो ।

तर कुँवरले एसपीमा बिताएको चार वर्ष नपुेकाले एसएसपीमा बढुवा योग्य नभएपछि कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएको बेला नियमावली नै संशोधन गर्दै तीन वर्ष पूरा भर्ए हुने प्रावधान राखिएको थियो । त्यसपछि कुँवर एसएसपीमा बढुवा भएका थिए ।

नियमावली संशोधन गरेकै दिन २३ असारमा सूचना निकालेर कुँवरलाई एसएसपी बढुवा लागि सिफारिस गरिएको थियो । ११ औं नम्बरमा रहेका कुँवर बढुवा भएपछि आफ्नो ब्याचको पहिलो नम्बरमा पुगेका थिए ।

अहिले उनै कुँवरले सि सं. १ को टोलीलाई समेत उछिनेर डीआईजी हुने चलखेल गरेपछि बढुवा नै रोकिएको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?