+
+

चन्दा उठाएर संगठनविरुद्ध मुद्दा लड्दैछन् प्रहरीका वरिष्ठ सईहरू

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत १४ गते १९:३१

१४ चैत, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ सईहरुले अहिले सामाजिक सञ्जाल ह्वाट्स एप ‘ग्रुप’ बनाएका छन्, ग्रेड पीडित समूह । यो ग्रुपमा देशभरका हजार बढी वरिष्ठ सई आवद्ध भएका छन् ।

उनीहरुले धमाधम १५०० रुपैयाँ अनलाइन बैंकिङमार्फत तोकिएको खातामा डिपोजिट पनि गरिरहेका छन् । रकम प्रहरीकै एक वरिष्ठ सईको खातामा जम्मा हुन्छ । त्यसको जानकारी यो समूहमा दिइन्छ ।

यसरी १५०० रुपैयाँ धमाधम संकलन गरेका प्रहरीका वरिष्ठ सईहरु अहिले आफ्नै संगठनविरुद्ध कानूनी लडाइ लडिरहेका छन् । संगठन मात्र होइन, सरकारले समेत बेवास्ता गरेको भन्दै उनीहरु न्यायको ढोका ढकढक्याउन सर्वोच्च अदालत पुगेका छन् ।

विनयकुमार चन्दसहित १४ जना वरिष्ठ सईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाउँदै १६ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

वरिष्ठ सईको दर्जामा बढुवा भएपछि सई पदमा रहँदा खाईपाई आएभन्दा कम तलब पाएको उनीहरुको दाबी छ । १७ पुसमा सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश र मुद्दालाई अग्राधिकार दियो । त्यसपछि ८ फागुनलाई पेसी तोकिए पनि बहस भएन ।

अर्को पेशी १८ चैतलाई तोकिएको छ । पेसी नजिक आउँदा मुद्दाको बहसका लागि भनेर बहालवाला वरिष्ठ सईहरु रकमको जोहो गर्न थालेका छन् । ‘हामीले मुद्दा त दायर गर्‍यौं, तर बहसका लागि पैसा नभएपछि अहिले १५०० रुपैयाँका दरले रकम उठाउन थालेका छौं’ एक वरिष्ठ सईले अनलाइनखबरसँग भने, ‘ह्वाट्स एपमा ‘ग्रेड पीडित समूह’ बनाएर रकम उठाउने अभियान जारी छ ।’

यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी छन् । पहिलो पेसी १७ पुसमा रेग्मीले बहालवाला वरिष्ठ सईहरुका तर्फबाट बहस गरेका थिए ।

अब वरिष्ठ अधिवक्ताहरुमार्फत बहस गराउने तयारी छ । अधिवक्ता रेग्मीका अनुसार १८ चैतको पेशीका लागि भनेर वरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टीकाराम भट्टराईले बहस गर्दैछन् ।

नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

के हो वरिष्ठ सईको मुद्दा ?

प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै असोज २०७७ मा प्रहरी नियमावली २०७१ मा आठौं संशोधन गयो, जसमा रिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद सिर्जना गरिएको थियो । ऐन संशोधनको अर्को वर्ष वरिष्ठ सईको १ हजार १७१ दरबन्दीमा सिनियर सईहरु बढुवा भए ।

तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरुले वरिष्ठ सई भएपनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ । तर वरिष्ठ सईमा बढुवा भएकापछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।

१ साउन २०७९ बाट लागू भएको तलवमानअनुसार वरिष्ठ सईको सुरु स्केलको तलव ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ ।

सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ । जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरुको तलव ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।

तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिन्छ । प्रतिगेड १ हजार ३ ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलव ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ । जसकारण ८ ग्रेड बुझेका सईहरु वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।

वरिष्ठ सईहरुको तर्फबाट मुद्दा लडेका अधिवक्ता रेग्मीका अनुसार ‘नियमावली संशोधन गरेर इन्सपेक्टर भर्नाको आन्तरिक ५० र खुल्ला ५० प्रतिशतलाई संशोधन गरेर ६०/४० (खुल्ला ६०, आन्तिरक बढुवा ४०) बनाइयो, त्यहीँबाट समस्या सुरु भएको हो । आन्तरिक बढुवाको प्रतिशत घटाएपछि सईबाट इन्सपेक्टरमा बढुवा हुनेहरु हरेक पटक १० प्रतिशतका दरले छुट्दै गएका थिए ।

१० प्रतिशतका दरले कम बढुवा हुँदा १० वर्षमा सईबाट इन्सपेक्टरमा बढुवा गर्नुपर्नेको संख्या दोब्बर भयो । ‘लामो समय भएपछि बढुवा हुने प्रतिस्पर्धीको संख्या दोब्बर भएपछि इन्सपेक्टर बनाउनुको साटो वरिष्ठको फुली लगाइदिएर सरकारले अल्झाउन खोज्यो’ पूर्वएसपी समेत रहेका रेग्मीले भने, ‘त्यहाँमाथि तलवमान ख्याल नगर्दा वरिष्ठ सईहरुले अहिलेको स्थिति भोग्नुपरेको छ ।’

सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीकै जस्तो वरिष्ठ सईको पद छ । तर सशस्त्रमा भने यस्तो समस्या छैन । सईको सुरुको तलव स्केल ३४ हजार ७३० रुपैयाँ छ । १ हजार १५८ रुपैयाँका दरले ६ ग्रेड थपिदा सईले अधिकतम ४१ हजार ६ सय ७८ रुपैयाँ तलब बुझ्छन् ।

वरिष्ठ सईको सुरु तलव स्केल ४० हजार ९९८ रुपैयाँ छ । त्यसमा १ हजार ३६७ रुपैयाँका दरले २ ग्रेड थप हुँदा वरिष्ठ सईले ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् । अर्थात सशस्त्रमा ६ ग्रेड खाने सईले भन्दा वरिष्ठ सईले २ हजार ५४ रुपैयाँ बढी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकाल भने यो विषय अदालत प्रवेश गरिसकेकाले अब बोल्न नमिल्ने बताउँछन् । ‘अब अदालतले, जे भन्छ त्यही गर्ने हो’, उनले भने, ‘हाम्रोतर्फबाट यसमा केही भन्न मिल्ने अवस्था छैन ।’

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?