+

चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

२०८० चैत  २० गते १४:४४ २०८० चैत २० गते १४:४४
चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

हामी कुनै परिस्थिति वा विगतलाई लिएर आवश्यकताभन्दा बढी सोच्छौं । कतिपटक आफूले गर्न नसक्ने वा अधुरो छोडेका कुराहरूबारे सोचिन्छ । ती कुरालाई लिएर बढी सोच्छौं, जसको कुनै जवाफ हु्ँदैन वा कुनै समाधान छैन ।

यद्यपि, हाम्रो नियन्त्रण बाहिर भएको कुरामा ध्यान केन्द्रित गर्न धेरै सजिलो छ । तर चाहिने भन्दा बढी सोच्नु वा लगातार एकै कुरालाई कल्पिएर दु:खी भएर बसिरहनु पक्कै पनि राम्रो बानी हुन सक्दैन । यही सोच्ने क्रम बढिरह्यो भने नकारात्मक विचार हाबी हुन जान्छ । जसले व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या निम्त्याउन सक्छ, जुन अधिकांशलाई हेक्का हुँदैन ।

के हो ओभर थिङ्किङ ?

सानो कुरामा अत्याधिक र लामो समयसम्म सोच्नु नै ओभर थिङकिङ हो । जबकि निर्णय गर्दा वा परिस्थितिको मूल्यांकन गर्दा गहिरो सोच्नु मानवीय स्वभाव हो ।

तर जब यो अवस्था तपाईंको दिमागमा रहन्छ  आफैंलाई अलग गर्न सक्नुहुन्न । तसर्थ, यो अवस्थालाई अति सोच्नु भन्न सकिन्छ । यो हामी सबैको जीवनमा कुनै न कुनै बिन्दुमा हुन्छ । जीवनमा कैयौं घटनाहरू अनुभव गर्छौं, जसले चिन्ता वा तनाव गराउन सक्छ । तर केही मानिसहरू आफ्नो चिन्ताबाट मुक्त हुन सक्दैनन् । उनीहरु भविष्यको बारेमा चिन्तित हुन्छन् । सम्भावित घटनाहरूको बारेमा डरलाग्दो भविष्यवाणी गर्दै डराउँछन् ।

यस्ता व्यक्ति आफ्नो बारेमा सुनेको कुनै नकारात्मक कुरा दिमागमा लिइरहन्छन् र सधैं चिन्तित हुन्छन् ।

अति सोच्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ?

धेरै सोच्नु रोग होइन, नकारात्मक बानी हो । यसको प्रभावले मानसिक स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । त्यति मात्र होइन, भावनात्मक र शारीरिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ । दैनिकजसो धेरै सोच्ने बानीले चिन्ता, प्यानिक अट्याक र डिप्रेसन जस्ता मानसिक समस्याबाट ग्रस्त बनाउँछ । अर्कोतर्फ, अत्याधिक सोचाइको कारण, निद्राको कमी, उच्च रक्तचाप र तनाव जस्ता समस्या देखा पर्छन् ।

इम्युनिटी प्रभावित हुन्छ

तनावग्रस्त वा चिन्तित हुँदा कोही बिरामी नै हुन्छन् । किनकि तनावमा कोर्टिसोल नामक तनाव हार्मोन निस्कन्छ । तनावले शरीरमा कोर्टिसोल हार्मोनको रिलिज गर्छ । कोर्टिसोल हार्मोन बढेमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ ।

प्रतिरक्षा प्रणाली कमजोर हुनेबित्तिकै ज्वरो तथा टाउको दुखाइ हुने र संक्रमणले घेर्न सक्छ ।

र्मोन असन्तुलन

हरेक समय जब दिमाग नकारात्मक विचारमा केन्द्रित हुन्छ, तब शरीरमा हार्मोनको सन्तुलन बिगार्न सक्छ । जसबाट रगतमा कोर्टिसोल बढ्छ । यो हार्मोनले शरीरमा उत्पादन हुने (खुसीको हार्मोन) ह्याप्पी हार्मोन  पनि प्रभावित हुन्छ । जसले गर्दा मुड खराब भइरहन्छ ।

निराश, दु:खी र उदासी भावनाले खुसी हुने हार्मोन कम उत्पादन हुन्छ । जो भविष्यमा डिप्रेसनको कारण बन्न सक्छ ।

मुटु स्वास्थ्यलाई प्रभावित पार्छ

धेरै सोचाइ र चिन्ताले मुटुको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । अति सोच्ने बानी बढ्दै गएपछि रगतमा एड्रेनालाइन हार्मोनको मात्रा बढ्न थाल्छ । एड्रेनालाइनले मुटुको दर र रक्तचाप बढाउँछ । एड्रेनालिनका कारण रगतमा ब्लड सुगरको समस्या बढ्ने जोखिम पनि हुनसक्छ ।

पाचन प्रणाली खराब

अत्याधिक सोचाइका कारण तनाव उत्पन्न भई पाचन प्रणाली पनि प्रभावित हुन्छ । तनावपूर्ण विचारले स्नायु प्रणालीलाई उत्तेजित पार्छ । स्नायु प्रणाली उत्तेजित हुँदै गएपछि पाचनप्रणालीमा रक्तसञ्चार कम हुन्छ, जसले पाचननली खुम्चिन्छ । र, पाचनरसको उत्पादनलाई घटाइदिन्छ । जसकारण आन्द्रामा समस्या, इरिटेबल बाउल सिन्ड्रोम र ग्यास्ट्रिक, ग्यास र कब्जियत हुनसक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव

आवश्यक भन्दा बढी सोच्नेहरुमा चिन्ता, डिप्रेसन र अन्य मानसिक समस्याबाट ग्रस्त हुने सम्भावना बढ्छ । किनभने एकै कुरालाई लिएर अत्याधिक सोच्ने क्रममा नकरात्मक भावनामा लगातार ध्यान केन्द्रित हुन्छ  । जसले दिमागको सन्तुलनलाई बिगार्छ ।

निद्रामा समस्या

यदि तपाईं अति सोच्नुहुन्छ भने निद्रासँग जोडिएको समस्याको सामना हुनसक्छ । किनकि मनमा अनेक भावना र विचारको द्वन्द्व मन शान्त हुँदैन । मनमा शान्त नहुँदा निद्रामा समस्या देखिनु हो । भावनालाई नियन्त्रण गरिएन भने निद्रा कम आउने र निद्रा लागिहाले पनि ब्युँझिने हुन्छ ।

लक्षणहरू

-निर्णय गर्दा अन्योलमा पर्नु

-क्रोधित र तनावमा रहनु

-एकान्तमा बस्न रुचाउनु

-बारम्बार एकै कुरा दोहोर्‍याउनु

-ध्यान केन्द्रित गर्न कठिनाइ हुनु

-शरीरमा ऊर्जा कम हुनु र कुनै सिर्जनात्मक कार्य गर्न मन नलाग्नु ।

कसरी नियन्त्रण गर्ने ?

व्यस्त राख्ने

अनेकौं भावना आइरहन्छ भने आफ्लाई व्यस्त राख्न उपयुक्त हुन्छ । व्यस्त राख्न के कस्ता गतिविधि गर्न रुचि छ वा थियो, त्यस कार्य गर्न लाग्यो भने समय गएको पत्तो हुँदैन । र, नकारात्मक भावना दिमागमा खेल्ने समय मिल्दैन ।

जस्तै, भान्छामा नयाँ खानेकुरा बनाउने, कसरत वा योग गर्ने, घुम्न निस्किने, बगैंचा सजाउने, चित्रकला जस्ता गतिविधिहरूमा पनि सहभागी हुन उपयुक्त हुन्छ ।

ध्यान गर्ने

अत्याधिक सोचाइले बेचैन गराइरहन्छ भने यस्तोमा शान्त ठाँउमा बसेर गहिरो सास लिंदै छाड्दै गर्न सकिन्छ । यसले मन र तन दुवैलाई हल्का बनाउँदै लैजान्छ ।

त्यस्तै, दिनको समय वा कामबाट फर्किएपछि केही समय ध्यान गर्दा तनाव कम हुनुका साथै शारीरिक थकान पनि हट्छ । र, सकारात्मक विचार आउँछ ।

ट्रिगर बिन्दुहरू बुझ्नुपर्छ

प्रत्येक व्यक्तिमा निश्चित रूपमा यस्तो ट्रिगर बिन्दु हुन्छ, त्यहाँ पुगेपछि उसले धेरै सोच्न थाल्छ । यस्तो अवस्थामा आफ्नो ट्रिगर बिन्दु पत्ता लगाउनु पनि ओभर थिंकिङको समस्याबाट राहत पाउने राम्रो तरिका हो ।

यदि कुनै कुराले आफूलाई दु:खी बनाउँछ जस्तो लाग्छ भने आफैंलाई सकारात्मक वातावरणमा समावेश गर्ने प्रयास गर्नुपर्छ ।

सामाजिक सम्बन्ध बनाउनु

हामी हाम्रो जीवनमा यति व्यस्त हुन्छौं कि साथीभाइसँग सम्पर्क पनि गुमाउँछौं । यस्तोमा नियमित रूपमा साथीहरूलाई भेट्न सुरु गर्नुपर्छ । आफ्नो सर्कल फराकिलो पारी साथीहरूसँग भेट्दा भावना साटासाट हुन्छ र दिमागलाई हल्का बनाउँछ ।

अरुको विचार आफूमा हाबी हुन नदिऔं

कसैले केही भन्यो भने यसले हाम्रो मनलाई स्वभाविक रूपमा दु:खी बनाउँछ । हामी त्यो सोचमा मात्रै आफ्नो घण्टौं बर्बाद गर्छौं । यसले सोचाइमा गहिरो प्रभाव पार्छ र अति विचारको सिकार बनाउँछ । त्यसैले त्यस्ता कुरा सोच्न छाडेर मानसिक रुपमा कमजोर हुनबाट बच्नुपर्छ ।

अति सोचाइ ओभर थिंकिङ डा. सुरेश अधिकारी मानसिक स्वास्थ्य
डा. सुरेश अधिकारी
लेखक
डा. सुरेश अधिकारी
कन्सल्टेन्ट साइक्यार्टिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५१२३ अध्ययन : एमबीबीएस, एमडी हाल पाटन मानसिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय