+

गर्भावस्था : आठ भ्रम र सत्य

२०८० चैत  २९ गते १२:३१ २०८० चैत २९ गते १२:३१
गर्भावस्था : आठ भ्रम र सत्य

गर्भवती हुँदा महिलालाई परिवारमा वा आफन्तले फरक-फरक सल्लाह दिइरहेका हुन्छ । महिलाले प्राप्त गर्ने त्यस्ता केही सल्लाह तार्किक हुन्छ तर केही सल्लाह भ्रम मात्र पनि हुनसक्छ । जो पहिलोपटक आमा बन्न लागेका हुन्छन्, उनीहरु यस्ता भ्रमलाई सत्य ठानेर सोही अनुसार अघि बढ्छन् ।

गर्भावस्थालाई लिएर केही यस्ता भ्रम छन् । जुन वषौं देखि चलिआएको छ ।

भ्रम  १ : गर्भावस्थामा यौनक्रिया गर्नु बच्चाको लागि जोखिमपूर्ण हुनसक्छ ।

सत्य : यदि महिलाको गर्भावस्थामा कुनै जटिलता देखिएको छैन भने यौनक्रिया गर्न मिल्छ । यौनक्रियाले बच्चालाई हानि गर्छ भने कुनै ठोस आधार छैन । तर यौनक्रिया गर्दा दुवैले सहज हुने खालको आसन अपनाउनुपर्छ ।

भ्रम २ :  गर्भावस्थामा ‘मर्निङ सिकनेस’ बिहान मात्र हुन्छ ।

गर्भवती महिलालाई पहिलो त्रैमासिक बिहान उठ्ने बित्तिकै वाकवाकी लाग्न सक्छ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘मर्निङ सिकनेस’ भनिन्छ । यो समस्या अधिकांशले बिहान मात्र हुन्छ भन्ने ठान्छन् तर यसमा कुनै सत्यता छैन ।

शरीरभित्र भइरहेको हार्मोनको फेरबदलले कुनै पनि समयमा वाकवाकी लाग्न सक्छ । सुरुको तीन महिना प्रायः बिहान हुने भएपनि चौथो महिनापछि कहिलेकाहीं जुनसुकै समयमा वाकवाकी लाग्ने र टाउको दुख्ने हुनसक्छ ।

भ्रम ३ : गर्भावस्थामा मसालेदार खानेकुरा खाँदा बच्चाको आँखामा समस्या आउँछ ।

सत्य : गर्भावस्थामा मसालेदार खानेकुरा खाँदा बच्चाको आँखामा हानि पुग्ने दाबी सरासर गलत हो । यो भ्रामक जानकारीको पछाडि कुनै वैज्ञानिक तर्क छैन । गर्भावस्थामा पेट दुख्ने र पाचनसम्बन्धी समस्याबाट बच्न महिलाहरूलाई कम मसालेदार खाना खानु राम्रो हुन्छ ।

(नोटः गर्भावस्था हरेक महिलाको लागि धेरै नाजुक अवधि हो, यो अवधिमा, के खाने र के नखाने भन्नेबारे निश्चित रूपमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।)

भ्रम ४ : गर्भावस्थामा दुईजना बराबर खानेकुरा खानुपर्छ ।

तथ्य : गर्भावस्थामा महिलाले दुईजना बराबर खाना खानुपर्छ भन्ने दाबीमा कुनै सत्यता छैन । गर्भावस्थाको समयमा, गर्भमा रहेको भ्रूणको उचित विकासका लागि महिलाहरूलाई प्रतिदिन थप ३०० क्यालोरी चाहिन्छ ।

गर्भावस्थाको ९ महिनामा महिलाको तौल करिब ११ किलोदेखि १५ किलोसम्म बढ्नुपर्छ । योभन्दा बढी वा कम भएमा महिलालाई सुत्केरीको समयमा समस्या निम्तिन सक्छ ।

गर्भावस्थामा आमा र बच्चा दुवै स्वस्थ रहन सुनिश्चित गर्न गर्भवती महिलाले चिकित्सकको सल्लाहमा प्रोटिन, फाइबर, भिटामिन र मिनरल्स सन्तुलित मात्रामा भएको खानेकुरा खानुपर्छ ।

भ्रम ५ : गर्भावस्थामा शारीरिक व्यायाम खतरनाक हुनसक्छ ।

सत्य :  दैनिक गर्ने व्यायामले गर्भमा हुर्किंदै गरेको बच्चालाई हानि गर्छ भनेर डराउनु पर्दैन । किनकि अहिलेसम्म व्यायामले बच्चालाई हानि गरेको कुनै अध्ययनबाट प्रमाणित भएको छैन । बरु हल्का खालको व्यायामले शरीरलाई ऊर्जा दिनुका साथै मांसपेशीमा लचकता, मोटोपन नियन्त्रण र प्रसवमा सहजता प्रदान गर्छ ।

यद्यपि, कडा व्यायाम, धेरै उफ्रिनुपर्ने खेलकुद भने गर्न हुँदैन । साथै, कडा खालको खेलकुदको भागदौड र उफ्रिंदा लडेर चोटपटक लाग्ने जोखिम पनि रहन्छ ।

त्यसबाहेक, रक्तस्राव, प्रि-ईक्लेम्पसिया (उच्च रक्तचापछिको जटिलता), गम्भीर रक्तअल्पता, कतिपय मुटु र फोक्सोको रोग, र सालको समस्या देखिएमा वा पहिलेदेखि छ भने गर्भावस्थाको समयमा कडा व्यायाम गर्नु असुरक्षित हुन्छ ।

भ्रम ६ : गर्भावस्थामा मेवा खाँदा गर्भपात हुन्छ ।

सत्य : भनिन्छ, गर्भवती महिलाले मेवा खाएमा गर्भपातको जोखिम बढ्छ । तर यसमा कुनै सत्यता छैन । पाकेको मेवा गर्भवती महिलाले खान सक्छिन् ।

तर काँचो मेवा भने खान मनाही गरिन्छ । वास्तवमा काँचो वा आधा पाकेको मेवामा ल्याटेक्स पाइन्छ । ल्याटेक्सले सुत्केरी व्यथा लगाउन मद्दत गर्ने अक्सिटोसिन र प्रोस्टाग्लान्डिनको मात्रा बढाउँछ । जबकि पाकेको मेवामा ल्याटेक्सको मात्रा शून्य बराबर हुन्छ । जसकारण पाकेको मेवा गर्भावस्थामा खानु सुरक्षित मानिन्छ । पाकेको मेवाले कब्जियत र बान्ता हुने समस्याबाट राहत दिन्छ ।

भ्रम ७ : नरिवल पानी धेरै पिउँदा शिशु जन्मँदा गोरो हुन्छ ।

सुन्दा राम्रो सुनिन्छ तर यो कामना मात्र गर्न सकिन्छ । नरिवल पानीले बच्चा गोरो वर्णको जन्मिन्छ भन्ने भ्रम मात्र हो । सत्य के हो भने बच्चाको अनुहार तथा शरीरको छाला अनुवांशिकमा भर पर्छ ।

भ्रम ८ : बच्चाको लिङ्ग बिना परीक्षण गर्भमै पत्ता लाग्छ ।

वृद्धहरुले गर्भावस्थाको समयमा केही अवलोकनको आधारमा बच्चाको लिङ्ग भविष्यवाणी गर्छन् ।  हार्मोनको परिवर्तनका कारण कुनै खानेकुराको अत्याधिक तृष्णा हुन्छ । यस्तोमा आमालाई अमिलो र पिरो खान मन लागेमा छोरी, गुलियो खान मन गरेमा छोरा, बढी वाकवाकी गरे छोरी र कम वाकवाक गरे छोरा हुने अनुमान गरिन्छ ।

तर यी सबैमा कुनै वैज्ञानिक आधार छैन । र, माथि उल्लेखित कुनै पनि कुरा गर्भको शिशुको लिङ्गका लागि भरपर्दो भविष्यवाणी होइनन् ।

बच्चाको लिंग भविष्यवाणी गर्ने एक मात्र निश्चित तरिका भनेको शिशुको निश्चित अवधि पुगेपछि अल्ट्रासाउन्ड वा पेटबाट निकालेको पानीको परीक्षणबाट मात्रै हो ।

गर्भावस्था डा. सविता थापा प्रसूति तथा स्त्रीरोग
डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय