+

यौन दुर्बलताको के छ समाधान ?

२०८१ वैशाख  १ गते ९:११ २०८१ वैशाख १ गते ९:११
यौन दुर्बलताको के छ समाधान ?

यौन सम्भोगका लागि पुरुषको यौनाङ्ग निश्चित समयसम्म उत्तेजित भई कडा हुनैपर्छ, जसलाई अङ्ग्रेजीमा ‘इरेक्सन’ भनिन्छ । ‘इरेक्सन’ नहुने वा भएपनि आवश्यक समयसम्म उत्तेजित नभई केही समयमै यौनाङ्ग लुलो हुने समस्यालाई यौन निरुत्साह (इन्हिबिटेड सेक्सुअल एक्साइटमेन्ट) वा यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन) वा ‘नपुसंकता’ (इम्पोटेन्स) भनिन्छ । समग्रमा यसको मतलब यौन सम्भोग गर्ने चाहनामा निरन्तर रूपमा बाधा पर्नु हो ।

२६ वर्षीय एक अविवाहित पुरुष यौनसम्बन्धी समस्या लिएर आए । सामान्यतया सम्भोग गर्न कुनै चाहना नहुने, भइहाले पनि यौन दुर्बलता हुने बताए । अथवा, सम्भोग सुरु गरेलगत्तै स्खलन हुने उनको भनाइ थियो ।

यौन दुर्बलताले यौन सम्भोग प्रक्रिया पूर्ण वा सफलतापूर्वक हुन दिंदैन । यसो हुनुको पछाडि ७० प्रतिशत कारण मानसिक नै हुन्छ ।

यौनका लागि प्राथमिक चाहनाको कमी हुन्छ भने त्यो ‘साइकोसोम्याटिक डिसअर्डर’ अन्तर्गत पर्छ । यस्तो अवस्थामा व्यक्तिको मस्तिष्कको एउटै समय वा गतिमा काम गर्ने शैलीमा असन्तुलन पैदा हुन्छ । यसबाट व्यक्तिको कुनै पनि कार्यमा बाधा उत्पन्न हुन सक्छ ।

यौन सम्भोगको हकमा यस ‘डिसअर्डर’का कारण पुरुषलाई महिलाको यौनाङ्गसँग डर उत्पन्न हुने, यौनकार्यमा वितृष्णा हुने, डिप्रेसन हुने, यौनसाथीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता हुनेजस्ता समस्या देखिन सक्छन् ।

अक्वायर्ड (जन्मजात समस्या नभई जीवनयापनको क्रममा विकसित हुने समस्या) सेक्सुअल डिजायर इन्हिबिसन’मा यौन दुर्बलताले यौन सम्भोग प्रक्रियालाई पूर्ण रूपमा सफल हुनमा अवरोध गर्छ । आफ्नी प्रेमिकासँगको सम्बन्धमा विकसित हुने अनिच्छा, डिप्रेसन, विगतमा भएका आघातपूर्ण घटना, यौनाकांक्षाको नियन्त्रण (सेक्सुअल फ्यान्टसीको सप्रेसन), लागूऔषध वा औषधिको दुरुपयोग, यौन क्षमतामा विसङ्गति (इम्पेयर्ड सेक्सुअल फङ्कसन) वा पुरुष हार्मोन (टेस्टोस्टेरोन)को कमी आदि कारणले यस्तो हुनसक्छ ।

कतिपय अवस्थामा रक्तसञ्चार प्रणालीसम्बन्धी समस्याका कारण, कतिपय अवस्थामा यौन सम्बन्ध राख्ने स्थान, समय, यौनसाथी र तत्कालीन परिस्थितिका कारणले यौन दुर्बलता हुनसक्छ । मधुमेह, भिरिङ्गी, मदिरा सेवन, लागूऔषधको दुरुपयोग र यौनाङ्ग वा थाइराइड/पिट्युटरी ग्रन्थीसम्बन्धी समस्याका कारण पनि पुरुषमा यौन दुर्बलता हुनसक्छ ।

उमेर ढल्किनु नै सधैं नपुसंपुकताको कारण हुँदैन । किनकि ८० वर्ष नाघेका पुरुषमा पनि लिङ्ग उत्तेजित पार्ने क्षमता कायम रहन्छ । तर त्यो उमेरमा स्खलनका क्रममा निस्कने वीर्यको मात्रा र त्यसमा शुक्रकीटको संख्यामा भने कमी आउन सक्छ ।

कतिपय पुरुषको हस्तमैथुनका क्रममा लिङ्ग उत्तेजित हुने तर यौनकार्यका बेला नहुने हुन्छ भने त्यस्तो परिस्थितिमा मानसिक कारण केलाउन आवश्यक हुन्छ । यदि कुनैपनि हालतमा लिङ्ग उत्तेजित नै हुँदैन भने लागूऔषधको दुर्व्यसनी, मदिरा सेवन, निजका यौनाङ्गको रक्तसञ्चार प्रणालीमा अवरोध, मधुमेह, इन्डोक्राइन-हार्मोनसम्बन्धी वा स्नायु प्रणालीसँग सम्बन्धित जस्ता अंग विशेषसम्बन्धी (अर्ग्यानिक) कारक तत्व यौन दुर्बलताका कारक होइनन् भनेर बुझ्न सकिन्छ ।

सुतिरहेको अवस्थामा लिङ्ग उत्तेजित नहुनु जैविक कारणले गर्दा त्यसो नभएको संकेत गर्छ । यो स्लिप ल्याबोरेटरी (निदाएका बेला गरिने परीक्षण)बाट निर्क्योल गरिन्छ ।

यौन दुर्बलताको उपचार

कुनै व्यक्तिमा यौन दुर्बलता छ भने सर्वप्रथम त्यो के कारणले भयो भनी पत्ता लगाउनुपर्छ । मानसिक कारणले हो भने मनोविद्सँग परामर्श लिन सकिन्छ । साथै, उचित परामर्श दिन र आश्वस्त पार्न सकिन्छ ।

मास्टर्स एन्ड जोन्सन टेक्निक तीन चरणको प्रक्रिया हो । यसअन्तर्गत गैरयौनाङ्गिक आनन्द दिलाउने, यौनाङ्गिक आनन्द दिलाउने र यौनकार्य गर्न धेरै खुसामद नचाहिने (नन्-डिमान्डिङ कोइटस) पर्छन् । शारीरिक खराबीहरूलाई क्रमिक रूपमा सच्याउँदै प्रभावित व्यक्तिको आवश्यकता अनुसार हार्मोन पनि  प्रतिस्थापन गर्नुपर्ने हुन्छ ।

शीघ्रपतन (शीघ्र स्खलन)

वीर्य स्खलनका विभिन्न प्रकार हुन्छन् । शीघ्रपतन वा शीघ्र स्खलन भन्नाले पुरुषले चाहेको समयभन्दा अघि नै वीर्य स्खलन हुने अवस्था बुझिन्छ ।

१० देखि २४ वर्षसम्मको उमेरमा त्रास, पश्चाताप र चिन्ताका कारण शीघ्रपतन हुनु सामान्य मानिन्छ । वयस्कका हकमा शीघ्रपतन हुनुका कारण पनि यिनै हुन सक्छन् । साथै स्नायु प्रणालीमा आउने समस्याका कारण पनि हुन सक्छन् ।

शीघ्रपतन हुनुको अर्को असामान्य कारण सुस्त स्खलन (रिटार्डेडर्डे इज्याकुलेसन) वा निरुत्साहित चरमोत्कर्ष (इन्हिबिटेड अर्ग्यासम) हो । यो भनेको पर्याप्त यौनेच्छा र उत्तेजनाको उपस्थितिका बाबजुद पुरुषले महिलाको यौनाङ्गभित्र अपेक्षा गरेअनुसारको स्खलन गर्न निरन्तर कठिनाइ हुने अवस्था हो ।

शीघ्रपतनको उपचार

सुस्त स्खलन बाहेक अन्य कारणले शीघ्रपतन भएको अवस्थामा उपचारका लागि पनि सही परामर्श तथा उचित यौन शिक्षाबाट आश्वस्त पार्न सकिन्छ ।

यौनक्रियाकै क्रममा यौन कार्य रोक्ने र फेरि सुरु गर्ने उपाय (स्टप एन्ड स्टार्ट टेक्निक)अपनाउन सकिन्छ । यस विधिमा पुरुषले आफ्नो यौनाङ्ग उत्तेजित पार्छ, यौनक्रिया थाल्छ, ठ्याक्कै स्खलनअघि करिब ३० सेकेन्ड जति यौनक्रिया रोक्छ र पुनः यौनाङ्गलाई उत्तेजनामा ल्याउँछ । निजले यही प्रक्रिया दोहोर्‍याइ तेहर्‍याइ केही समय अन्तरालमा (सम्भवत : चौथो पटकमात्र) स्खलन गर्ने कार्य नियन्त्रणमा ल्याउन सक्षम हुन्छ । यो विधिले आशातीत परिणाम नल्याएको अवस्थामा यौन थेरापिस्ट वा साइकोथेरापिस्ट (मनोपरामर्शदाता) सँग सहयोग लिनुपर्ने हुन्छ ।

सुस्त स्खलनका कारण शीघ्रपतन हुने समस्यामा निम्न उल्लेखित विधि अपनाउन सकिन्छ ।

पुरुषको यौनाङ्गलाई महिलाले आफ्नो यौनाङ्गभन्दा बाहिर राखेर, त्यसपछि महिलाको यौनाङ्गको मुखनजिक राखेर र अन्तिममा महिलाको यौनाङ्गभित्र राखेर उत्तेजित गर्न सकिन्छ । यो विधि सफल नभएको अवस्थामा साइकोथेरापिस्टसँग परामर्श लिनुपर्ने हुन्छ ।

कतिपय समस्याका लागि आवश्यकताअनुसार युरोलोजिस्ट (मूत्ररोग विज्ञ)सँग पनि परामर्श लिनुपर्ने हुन सक्छ ।

डा. रन्जित बराल यौन दुर्बलता यौन स्वास्थ्य
डा. रन्जित बराल
लेखक
डा. रन्जित बराल
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन

डा. बराल हाल काठमाडौंस्थित बयोधा अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन् । उनले एमबीबीएस (पान्डीचेरी), कार्डियोलोजीमा पीएचडी (जापान) र उड्डयन चिकित्सा (किंग्स कलेज लण्डन) अध्ययन गरेका छन्  । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १५१६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय