+

गर्भावस्थामा मधुमेह भएमा कस्तो जोखिम हुन्छ ? (भिडियो)

२०८१ वैशाख  ६ गते १४:४२ २०८१ वैशाख ६ गते १४:४२
गर्भावस्थामा मधुमेह भएमा कस्तो जोखिम हुन्छ ? (भिडियो)

काठमाडौं । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । साथै केही महिलामा गर्भावस्थामा मधुमेहको समस्या देखा परेको पनि पाइन्छ । जसलाई चिकित्सकीय भाषामा ‘जेस्टेसनल डायबिटिज’ भनिन्छ ।

गर्भावस्थामा हुने मधुमेह ‘जेस्टेसनल डायबिटिज’ भनेको के हो ? यो समस्या किन हुन्छ ?  कसरी बच्ने लगायत विषयमा कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट डा. सुकान्ती शाहसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

मधुमेह र गर्भावस्थाको मधुमेहमा के फरक छ ?

मधुमेह र गर्भावस्थाको मधुमेह एउटै हो । दुवैमा रगतमा सुगरको मात्रा बढ्छ । गर्भकालीन मधुमेह भने  गर्भावस्थाको क्रममा विकास हुन्छ । पहिला मधुमेहको समस्या नभएका महिला पनि गर्भावस्थामा मधुमेहको समस्याबाट ग्रसित हुने गर्छन् । सामान्यतया गर्भावस्था समाप्त भएपछि यो आफैं निको हुन्छ ।

गर्भावस्थामा महिलालाई मधुमेह भयो भने के कस्तो लक्षण देखा पर्छ ?

गर्भावस्थाको मधुमेहमा धेरै अवस्थामा लक्षण देखा पर्दैन । किनकि गर्भावस्थामा शरीरमा धेरै प्रकारको परिवर्तन हुन्छ त्यसैले लक्षण पत्ता लगाउन गाह्रो हुन सक्छ । तैपनि टाइप टु मधुमेहको जस्तो लक्षणहरू जस्तै थकान, मुख सुक्खा हुने, धेरै तिर्खा लाग्ने, धेरै पिसाब लाग्ने,दृष्टि धमिलो हुने, पिसाबमा फिंज देखिने, लगायत समस्या देखा पर्छ । साथै बारम्बार पिसाबको संक्रमण हुने, छाला चिलाउने, पिसाब फेरेको ठाउँ वरपर कमिला लाग्ने जस्ता लक्षण पनि देखिन सक्छ ।

कसलाई बढी जोखिम हुन्छ ?

कुनै पनि महिलालाई गर्भावस्थामा मधुमेह हुनसक्छ । त्यसमा पनि विशेषगरी मोटोपन ३० वर्ष भन्दा बढी उमेरका महिला, परिवारमा कसैलाई मधुमेह भएमा, गर्भवती हुनुअघि सुगर बोडर लाइनमा छ, पहिले पनि गर्भावस्थामा मधुमेह देखिएमा वा गर्भावस्थामा अत्याधिक वजन बढेमा त्यस्ता महिलालाई गर्भावस्थामा मधुमेह हुने जोखिम उच्च हुन्छ ।

जाँच कसरी हुन्छ ?

गर्भावस्थाको २४ देखि २८ हप्ताको बीचमा मधुमेहको जाँच गर्नुपर्छ । यसलाई पुष्टि गर्न ओरल ग्लुकोज परीक्षण गरिन्छ । यो परीक्षणमा शरीरको कोषिकाले ग्लुकोज कति मात्रामा अवशोषित गर्छ भनेर हेरिन्छ ।

गर्भवती महिलालाई मधुमेह भए उनीबाट जन्मिने बच्चामा पनि मधुमेह हुन्छ ?

गर्भवती महिलालाई मधुमेह भए उनीबाट जन्मिने बच्चामा मधुमेह हुने सम्भावना हुँदैन । गर्भावस्थामा मधुमेह देखिएपनि त्यसलाई नियन्त्रणमा राख्न सकियो भने गर्भवती र बच्चा दुवैलाई केही पनि असर हुँदैन । तर मधुमेह पहिचान भएन वा त्यसलाई नियन्त्रणमा राख्न सकिएन भने बच्चा खेर जाने सम्भावना हुन्छ । आमालाई उच्च रक्तचाप देखा पर्ने, आँखा तथा मिर्गौलामा समस्या देखा पर्ने,  समय नपुगी लेबरपेन सुरु हुने, बच्चामा जन्मजात मुटुको समस्या देखिने र मृत बच्चा जन्मिने जोखिम हुन्छ ।

गर्भावस्थामा मधुमेह भए त्यो डेलिभरीपछि दोहोरिन्छ कि दोहोरिदैन ?

यदि गर्भावस्थामा मधुमेह भएको छ भने ८० देखि ९० प्रतिशत डेलिभरीपछि निको हुन्छ । तर १० प्रतिशत महिलामा भने मधुमेह निको नभएर टाइप टु मधुमेहमा परिणत हुनसक्छ । त्यसैले बच्चा डेलिभरी भएको महिनादेखि दुई महिनाभित्र गर्भावस्थाको मधुमेह निको भयो कि टाइप टु मधुमेहमा परिणत भयो भनेर मधुमेह जाँच गर्नुपर्छ ।

गर्भावस्थामा मधुमेह भयो भने पछि गएर ५-१० वर्षमा टाइप टु मधुमेह हुने सम्भावना बढी हुन्छ । त्यसैले तीन-तीन महिनामा सुगर जाँच गर्नुपर्छ ।

गर्भावस्थामा मधुमेह भए केके कुरामा ध्यान दिनुपर्छ ?

गर्भावस्थामा दुई जनाको लागि खानुपर्छ भनेर धेरै मात्रामा खाना खाने चलन छ । त्यस्तो गर्नु गलत हो मात्रा मिलाएर खानुपर्छ । अझै मधुमेह छ भने खानपानमा झन् धेरै ध्यान दिनुपर्छ ।

खानेकुरा सकेसम्म मात्रा मिलाएर खानुपर्छ । सुगरको मात्रा बढी हुने चिनी, चामल, मैदाबाट बनेको खानेकुरा कम खानुपर्छ । प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, गेडागुडी धेरै खानुपर्छ ।

त्यस्तै मौसमी फल र सलाद सेवन गर्ने, खाना खाएपछि हिंड्ने, धुम्रपान र मदिराबाट टाढै रहने, बेलाबेलामा सुगर लेभल जाँच गराइरहनुपर्छ ।

के छ उपचार ?

गर्भावस्थामा मधुमेह भएमा तुरुन्तै उपचार गर्नुपर्छ । किनकि ढिलो उपचार गरेमा शिशुमा नकारात्मक प्रभाव पर्न सक्छ । यसका लागि जीवनशैली सुधार्नुका साथै खानपानमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नियमित इन्सुलिन वा गर्भावस्थामा प्रयोग गर्न मिल्ने सुरक्षित औषधि दिएर पनि गर्भावस्थामा हुने मधुमेहको प्रभावकारी उपचार गर्न सकिन्छ ।

गर्भावस्थामा देखापर्ने मधुमेहको जोखिमबाट बच्न सकिन्छ ?

गर्भावस्थामा देखापर्ने मधुमेहको जोखिमबाट बच्न सकिन्छ । किनभने यो समस्या धेरैमा खराब जीवनशैलीका कारण निम्तिएको हुन्छ । गुलियो धेरै खाने बानी छ, कार्बोहाइड्रेटको मात्रा धेरै खानुहुन्छ, मोटोपन धेरै छ भने त्यसलाई नियन्त्रण गरेर यसको जोखिमबाट बच्न सकिन्छ ।

गर्भवती हुनुअघि मधुमेहको जाँच गरेर पनि यसबाट निम्तिनसक्ने अन्य समस्याबाट बच्न सकिन्छ । अझै कोलेस्टेरोल र उच्च रक्तचापको औषधि सेवन गर्ने महिलाले झन् गर्भधारण गर्नुअघि स्वास्थ्य जाँच गर्नैपर्छ ।

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

गर्भवतीमा मधुमेह गर्भावस्था डा. सुकान्ती शाह मधुमेह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय