+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
119/6 (18.6)
Shares
अख्तियारको निर्णय :

‘सुनिल पौडेलमाथि थप पाँच कसुरमा अनुसन्धान हुनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १९:४१

१० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार बाहेक थप पाँचवटा कसुरमा संलग्न देखिएको भन्दै अनुसन्धान गर्न विभिन्न निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

अख्तियारले सुनिल पौडेलमाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनी अन्य कसुरमा पनि संलग्न भएको भनी फाइल विभिन्न निकायमा पठाउने निर्णय गरेको हो ।

अख्तियारले सुनिल पौडेलमाथि कीर्ते, विदेशी विनिमय र हुण्डी, राजस्व चुहावट, अनुमति विना विदेशमा बैंक खाता खोलेको र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान हुनुपर्ने निर्णय गरेको हो । उसले जिल्ला प्रहरी परिसर काठमाडौं, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक लगायतका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

कीर्ते कर चुक्ता 

अख्तियारले सुनिल पौडेलको घरमा छापा मारेर विभिन्न कागजात र उपकरण बरामद गरेको थियो । त्योमध्ये ‘हाइकभिजन’ लेखिएको पेनड्राइभमा सुनिल पौडेलको नाममा जारी भएका कर चुक्ताका प्रमाणपत्रहरू फेला परेको अख्तियारले जनाएको छ ।

पछि आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा अभिलेख भिडाउँदा ती कागजात फेला नभएको अख्तियारको दाबी छ । अख्तियारको निर्णयमा भनिएको छ, ‘उक्त कर चुक्ता प्रमाणपत्रहरू निज सुनिल पौडेलले कीर्ते गरी तयार गरेको हुनसक्ने सम्भावना रहेकाले थप अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लेखी पठाइएको छ ।’

अनुमति विना खाता

सुनिल पौडेलले सिंगापुरमा खाता खोली कारोबार गर्दै आएका थिए । विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशमा खाता खोल्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा नलिएको भन्दै अख्तियारले उनीमाथि अर्को कसुरमा छानबिन गर्न पठाउने निर्णय गरेको हो ।

राष्ट्र बैंकले समेत सुनिल पौडेलले बैंक खाता खोल्दा सुनिल पौडेलले कुनै अनुमति नलिएको भनी पत्र पठाएको थियो । उनले गैरकानूनी रुपमा आर्जन गरेको रकम विदेशी बैंकमा खाता खोली जम्मा गरेको भन्दै अख्तियारले उनीमाथि विदेशी मुद्राको अवैध ओसारपसार र हुण्डीको अभियोगमा अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाउने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा भ्रष्टाचार र घुसबापत धन आर्जन गरेर सम्पत्ति कमाएको भेटिए सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने व्यवस्था छ । अख्तियारले सुनिल पौडेलमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

उसले ‘छुट्टै अनुसन्धान अधिकृत तोकी अनुसन्धान गर्ने गरी आयोगबाट निर्णय भएको’ भनी विशेष अदालतमा जानकारी गराएको छ । सार्वजनिक पदमा नरहेका व्यक्तिमाथि समेत सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान हुनसक्ने भएकाले सुनिल पौडेलमाथि २०६४ सालयताकै आर्जनमाथि फेरि अनुसन्धान हुने देखिन्छ ।

राजस्व चुहावट

राजस्व अनुसन्धान विभागले पनि सुनिल पौडेलमाथि अनुसन्धान गरिरहेको छ । १० माघ, २०८० मा उनी पक्राउ परेपछि विभागले अख्तियारमा पत्र लेखी उनी छुट्ने अवस्था भएमा अनुसन्धानका लागि आफूलाई बुझाउन आग्रह गरेको थियो ।

आफूले समेत सुनिल पौडेल संलग्न रहेको अरू भ्रष्टाचार मुद्दामा अनुसन्धान गरिरहेको भन्दै अख्तियारले उनी थुनामा परेमा बाहेक छुट्ने अवस्था भएमा फेरि आफूकहाँ पेस गर्न विशेष अदालतमा आग्रह गरेको छ । अख्तियारले सुनिलमाथि नेपाल टेलिकमको बिलिङ प्रणाली, शंकास्पद कारोबार लगायतका विषयमा समेत थप अनुसन्धान गरिरहेको छ ।

यसबाहेक अख्तियारले सिंगापुरमा रहेको युनाइटेड ओभरसिज बैंकको खाता रोक्का गर्न पनि पारम्परिक कानूनी सहायता ऐन अनुसार अनुरोध गर्ने निर्णय गरेको छ । त्यसका लागि कानून सचिव फणिन्द्र गौतमलाई पत्र लेखी अख्तियारले सिंगापुरको महान्यायाधीवक्ता कार्यालय मार्फत त्यहाँको खाता रोक्का गर्न आग्रह गरेको हो । सरकारले पारस्परिक कानूनी सहायताका लागि कानून सचिव फणिन्द्र गौतमलाई फोकल पर्सन तोकेको छ ।

आइतबार मात्रै अख्तियारले सुनिल पौडेलमाथि २३ करोड ७५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?