१८ वैशाख, काठमाडौं । तीव्र गतिका बलर जोफ्रा आर्चरलाई समेट्दै साविक विजेता इंगल्याण्डले आगामी महिना वेष्टइण्डिज र अमेरिकामा हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । जस बटलरको कप्तानीमा रहेको टोलीमा एक वर्षपछि जोफ्रा आर्चर पनि समेटिएका हुन् ।
२०२३ मार्चपछि आर्चर कुहिनोमा चोट लागेपछि टोली बाहिर छन् । तीव्र गतिका बलर आर्चर गति र बाउन्सरका लागि चर्चित नाम हो । सन् २०१९ मा इंग्ल्याण्डलाई उपाधि जिताउन शानदार प्रदर्शन गरेका आर्चरले त्यसपछि भने चोटका कारण टोलीमा नियमित स्थान बनाउन सकेका छैनन् ।
मार्क वुड, रिस टोप्ली, क्रिस जोर्डन, आर्चर र साम करनसहितका तीव्र गतिका बलरलाई समेटेर इंगल्याण्डले तीव्र गतिको बलिङ विरासतलाई निरन्तरता दिएको छ । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल्दै आएका विल ज्याक्स, बेयरस्टो, बटलर र फिलिप साल्ट जस्ता ब्याटर पनि टोलीमा छन् ।
इंग्ल्याण्डले आफ्नो प्रारम्भिक टोली भएको बताएको छ । उसले चाहेको खण्डमा २५ मे सम्म खेलाडी परिवर्तन गर्न सक्नेछ । तर खेलाडी परिवर्तन गर्दा कारण भने खुलाउनु पर्ने हुन्छ ।
२ जुनदेखि सुरु हुने विश्वकपको समूह ‘बी’ मा इंगल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । इंगल्याण्ड उपाधिको दाबेदार टोली हो ।
इंगल्याण्डको टोली :
जस बटलर, (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल रासिद, फिल साल्ट, रिस टोप्ली, मार्क वुड ।
प्रतिक्रिया 4