+

मन्दिरका पुजारीलाई कुन रोगको जोखिम हुन्छ ?

२०८१ वैशाख  १९ गते ७:०० २०८१ वैशाख १९ गते ७:००
मन्दिरका पुजारीलाई कुन रोगको जोखिम हुन्छ ?

काठमाडौं । नेपालमा पूजाका लागि धूप र अगरबत्तीको प्रयोग निकै गरिन्छ । मन्दिरमा बस्ने पुजारीहरुको त धूपसँगै दैनिकी बित्छ भन्दा पनि हुन्छ ।

चुरोटको धुवाँ, गाडीबाट निस्कने धुवाँ र दाउरा बालेर खाना पकाउँदा निस्कने धुवाँले श्वासप्रश्वाससम्बन्धी समस्या निम्ताउँछ भनेर विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन् । यस्तोमा धूप र अगरबत्तीको धुवाँले पनि फोक्सो तथा श्वासनलीमा असर पार्छ ।

मन्दिरका पुजारीहरूले पूजा, यज्ञ गर्दा दाउरा बाल्छन् । त्यससँगै धूप र अगरबत्ती पनि बाल्ने गर्छन् । धूप बाल्ने ठाउँ खासगरी घर र मन्दिर अलि साँघुरो र झ्याल ढोका नभएको ठाउँमा हुन्छ । यस्तो ठाउँमा धूप बाल्दा त्यसबाट फैलिएको धुवाँ र धुलोको कण सोझै मान्छेको फोक्सोमा पुग्ने छा रोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।

‘धूप, अगरबत्तीबाट निस्कने धुवाँ र धुलोको सम्पर्कमा आउँदा पुजारीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्ने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘मन्दिरका पुजारीहरूले धूप, अगरबत्तीसँगै हवन गर्न दाउरा पनि बाल्ने गर्छन् । दाउरा बाल्दा निस्कने धुवाँ र त्यसबाट हुने वायु प्रदूषणलाई आन्तरिक वायु प्रदूषण भनिन्छ ।’

दाउरा बाल्दा निस्कने धुवाँबाट पनि विभिन्न खालका हानिकारक ग्यास, केमिकल र धुलोका कणहरू निस्केको हुन्छ । धूप, अगरबत्तीबाट निस्कने धुवाँमा सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड, ओजोन, धुलोको मसिनो कण ‘पीएम १०’, एरोमेटिक हाइड्रो कार्बन आदि हुन्छन् । यस्ता ग्यास केमिकलको कारण खोकी, दम र फोक्सोको क्यान्सर जस्तो समस्या देखा पर्ने सम्भावना बढ्ने डा. पंगेनी बताउँछन् ।

‘धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले । एक बट्टा धूप बाल्दा १०० खिल्ली चुरोट बराबरको धुवाँ रसायन हावामा मिसिन्छ र त्यही हावाको सम्पर्कमा बस्दा १०० खिल्ली चुरोट खाए बराबर असर गर्छ,’ उनी भन्छन् ।

मठमन्दिरका साथै गुम्बामा बालिने धूपले फोक्सोलाई हानि गरेको पाइएको छ । चीनमा गरिएको एक अध्ययनबाट यो कुरा पुष्टि भएको गरेको डा. पंगेनी बताउँछन् ।

दाउरा बल्दा पूर्ण रूपमा नबल्दा त्यसबाट धुवाँ, धुलोका कणहरू र हाइड्रो कार्बन निस्कन्छ, जुन  हाम्रो स्वासनली, फोक्सो र अन्य अंगमा पुगेर असर गर्ने उनी बताउँछन् ।

‘चुरोट खाँदै नखाने तर धूप बाल्नेहरूलाई पनि श्वासप्रश्वाससँग सम्बन्धित रोगहरू लागेको उदाहरण प्रशस्तै छन् । अगरबत्ती र धूपले श्वासप्रश्वासमा कति असर गर्छ भनेर विभिन्न अध्ययन गरिएका छन्,’ डा. पंगेनी भन्छन्, ‘यस विषयमा भारतमा एउटा अध्ययन नै गरिएको थियो, मठमन्दिरमा बस्ने पुजारीहरूमा । त्यसबाट के पाइयो भने धूपको कारण उनीहरूमा श्वासप्रश्वास वा फोक्सोको रोग देखा परेको थियो ।’

धुवाँ, धुलोको सम्पर्कमा आएका पुजारीमा देखापर्ने तत्कालीन समस्या

धूप र अगरबत्ती बालेको ठाउँमा बस्ने व्यक्तिमा तत्कालीन रूपमा नाक बन्द हुने, नाकबाट पानी बग्ने, हाच्छ्यूँ आउने, घाँटी खसखस गर्ने, छाती घ्यारघ्यार गर्ने समस्या देखिन्छ । साथै कालो खैरो खकार आउने, एलर्जीको समस्या हुनेलाई छाती बज्ने, छाती घ्याँरघ्यार गर्ने आदि समस्या देखापर्ने डा. पंगेनी बताउँछन् ।

दीर्घकालीन समस्या

लामो समयदेखि पुजारी पेसा अपनाइरहेकाहरु धेरै धुवाँमा बसेका कारण उनीहरूमा दमरोगको जोखिम बढी हुन्छ । दमरोगसँगै फोक्सोको बाथ, फोक्सो सुक्दै जाने समस्या समेत हुनसक्ने डा. पंगेनी बताउँछन् ।

धूप, अगरबत्ती र दाउराबाट निस्कने धुवाँ नाक र मुखबाट छिरेर घाँटी, श्वासनली हुँदै फोक्सोमा पुग्छ । फोक्सोबाट रगतमा पुग्छ र रक्तसञ्चारमार्फत मुटु, मिर्गौला र मस्तिष्कसम्म पुग्छ । मुटुमा पुगेर मुटुको चाल बढ्ने र हृदयघातसम्मको जोखिम निम्ताउन सक्छ । मिर्गौलामा पुगेर मिर्गौला सुन्निने, मस्तिष्कमा पुगेर बिर्सने रोग बढाउने जोखिम हुन्छ । छालासम्म पुगेर छाला सुक्खा हुने चिलाउने समस्या समेत निम्तिने पंगेनी बताउँछन् ।

‘निमोनिया, छातीको संक्रमण, कालान्तरमा फोक्सोको क्यान्सर, श्वासनलीको क्यान्सर समेत हुन सक्छ,’ उनी भन्छन्, ‘धुवाँमा हाइड्रो कार्बनहरू हुन्छन्, जुन १० माइक्रोन भन्दा सानो भएमा सिधै रगतमा प्रवेश गर्न सक्छन् । रगतमा मिसिएर यसले मिर्गौला, कलेजो र मुटुलाई पनि असर गर्न सक्छ ।’

क्यान्सरको जोखिम

ताइवान र चाइनामा भएको अध्ययनले धुप, अगरबत्तीबाट निस्कने धुँवामा क्यान्सरको कारक तत्व हुन सक्ने देखाएको डा. पंगेनी बताउँछन् ।

‘दाउरा अपूरो जल्दा धुवाँमा पोलिसाइक्लिक एरोमेटिक हाइड्रो कार्बन (पीएएच) नामक रसायन निस्कन्छ  । यसले दम बढाउने, आस्थामा बढाउने गर्छ र फोक्सोको क्यान्सरको जोखिम पनि बढाउँछ,’ उनी भन्छन् ।

केही अध्ययनमा पाइएको छ, घरभित्र धूप जलाउँदा पोलिसाइक्लिक एरोमेटिक हाइड्रो कार्बन (पीएएच) नामक रसायनको स्तर बढ्छ, जो क्यान्सरसँग जोडिएको छ । यसको अर्थ लामो समय धूप र अगरबत्तीको धुवाँको सम्पर्कमा आउँदा क्यान्सरको जोखिम बढ्छ ।

भारतमा गरिएको अध्ययनअनुसार ३५ प्रतिशत पुजारीमा फोक्सोको समस्या

भारतीय अनलाइन न्युज पोर्टल प्रभातखबरले भारतका मुख्य ६ मन्दिरका ११ जना पुजारीको फोक्सो जाँच गरेको थियो । अनुसन्धानका क्रममा चार जना पुजारीको फोक्सोमा समस्या देखिएको थियो । केही पुजारीहरूको फोक्सोमा हल्का समस्या पाइएको थियो भने केही पूर्णरूपमा स्वस्थ थिए ।

प्रभातखबरले ‘सिप्ला ब्रीद फ्री’ ग्लोबल फार्मास्युटिकल कम्पनीसँगको सहकार्यमा नयाँदिल्लीका ठूला मन्दिरका पुजारीको फोक्सोको जाँच गर्दा ३५ प्रतिशत पुजारीको फोक्सोमा असर परेको पाइएको थियो ।

भारतको ‘चेस्ट रिसर्च फाउन्डेसन’का निर्देशक तथा प्रख्यात पल्मोनोलोजिस्ट डा. सन्दीप साल्वीले आफूले पुणेका मन्दिरका पुजारीको फोक्सो पनि जाँच गराएको बताए । अनुसन्धानका क्रममा २५ प्रतिशत पुजारीको फोक्सो बिग्रिएको पाइएको थियो । अर्थात् उनीहरू ‘क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज’ (सीओपीडी) र दमबाट पीडित भएको पाइएको थियो ।

ध्यान दिनुपर्ने कुरा

धूप, अगरबत्ती र दाउराको धुवाँको सम्पर्कमा आउने मन्दिरका पुजारीहरूमा विभिन्न स्वास्थ्य समस्या निम्तिने जोखिम हुन्छ भनिरहँदा धूप बाल्नै छाड्न पनि सम्भव हुँदैन । तर यसका कारण निम्तिन सक्ने  विभिन्न स्वास्थ्य समस्याबाट बच्न यी कुरामा सावधानी अपनाउन सकिने छातीरोग तथा सघन उपचार विशेषज्ञ डा.पंगेनी बताउँछन् ।

त्यसका लागि धूप बाल्नैपर्ने भए खुला ठाउँमा बाल्ने, पूजापाठ गर्ने ठाउँ खुला र हावा आउजाउ गर्ने खालको बनाउनुपर्छ । हवन गर्दा चिसो दाउरा बाल्दा भने त्यसबाट बढी धुवाँ निस्कन्छ । त्यसैले हवन गर्दा सुकेको दाउरा प्रयोग गर्नुपर्छ ।

धूप अगरबत्ती बालेको ठाउँबाट अलि टाढा बस्ने, धुवाँको सम्पर्कमा भएको बेला मास्कको प्रयोग गर्ने, दम वा श्वासप्रश्वासको कुनै पनि रोग भएकाले मठमन्दिर, गुम्बा वा पूजापाठमा प्रयोग हुने धूपको धुवाँमा लामो समय बस्न नहुने डा. पंगेनी बताउँछन् ।

धूपको धुवाँ पुजारी स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय