काठमाडौं । आइतबार बेलायतमा हुने च्यारिटी कन्सर्टका लागि गायिका आनी छोइङ डोल्मा बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको कन्सर्टमा उनले प्रस्तुति दिने कार्यक्रम छ ।
मानवसेवा आश्रमको सहयोगार्थ हुने कार्यक्रममा आनीसहित आश्रमका संस्थापक रामजी अधिकारी त्यता लागेका हुन् । आश्रमको बेलायत शाखाले मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गर्दैछ ।
‘इनर मेलोडी फर इनर पिस’ नाम दिइएको कन्सर्टमा एक हजार जना सहभागी हुने अपेक्षा छ । दर्शकको अधिक माग भएपछि ५०० सिट वृद्धि गरिएको आयोजकले जनाएको छ ।
कन्सर्टबाट संकलित रकम नेपालका सडकपेटी र सार्वजनिक थलोमा कष्टपूर्ण जीवन बिताउन बाध्य असहाय र बेसहाराको हितमा खर्च हुने जनाइएको छ । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको कोषाध्यक्ष चन्द्र अर्यालले बताए ।
प्रतिक्रिया 4