
१७ जेठ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै डाँकाको समूहले सुन पसल लुटपाट गरेको छ ।
लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन पक्राउ परेका हुन् ।
पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । पक्राउ परेका पाइनबाट सुनको जन्तर, मंगलसुत्र, अमेरिकी डलर र लकेट बरामद भएको छ ।
१३ जेठ राति काठमाडौंको कपनस्थित मुस्कान चोकमा रहेको बाह्रबिसे सुनचाँदी पसलका मालिक जयविक्रम विकलाई नियन्त्रणमा लिएर सुन लुटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
अनुसन्धानका क्रममा सुन लुट्ने त्यही गिरोहमार्फत विकले सुनसमेत किन्ने गरेको खुलेको छ ।
लुटपाट गर्नुअघि गिरोहका एक सदस्यले विकलाई फोन गर्दै सापटी पैसा मागेका थिए । लगत्तै ६ जनाको समूह उनको कोठामा गएको थियो ।
त्यसपछि विकलाई आफूहरू सीआईबीको प्रहरी भएको बताउँदै चोरीको सुन किन्ने गरेको भन्दै पसल खोल्न लगाएका थिए । लकरसमेत खोलेर सुन झोलाभित्र हाल्न थालेपछि लुटपाट भएको आशंका गर्दै सुन पसले विक चिच्याउन थालेका थिए । उनी कराउन थालेपछि सटर थुनेर कुटपिट गर्दै लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4