+

पुरूषको छाती महिलाको स्तनजस्तै हुनुको कारण र समाधान

२०८१ जेठ  २३ गते १२:०९ २०८१ जेठ २३ गते १२:०९
पुरूषको छाती महिलाको स्तनजस्तै हुनुको कारण र समाधान

एकजना २५ वर्षीय पुरूषले विगत केही वर्षदेखि आफ्नो छाती महिलाको स्तन जस्तै भएको बताए । यसकारण अन्य पुरूषको उपस्थितिमा लुगा फेर्न नमिल्ने बताए । उनको छातीको आकार त्यस्तो हुनुको कारण उनको ‘शरीरले आवश्यकता भन्दा बढी मात्रामा सेक्स-स्टेरोइड हर्मोन उत्पादन गर्नु हो ?’ भनी जिज्ञासा राख्दै साधारण छाती पाउने उपायबारे सोधे ।

पुरूषको छाती महिलाको स्तन जस्तो हुनुलाई चिकित्सकीय भाषामा ‘गाइनेकोमास्टिया’ भनिन्छ । यो भनेको पुरुषको छातीको ‘निप्पल’ लगायत एरीओला तथा वरिपरिको भाग बढेर महिलोको स्तनको जस्तै आकार लिनु हो ।

जुनसुकै लिङ्गको भएपनि सबै मानिसमा पुरूष हर्मोन-एन्ड्रोजेन तथा महिला हर्मोन-इस्ट्रोजेन दुवै हुन्छन् । व्यक्ति वयस्क बन्ने प्रक्रिया अन्तर्गतमा हुने भौतिक तथा हर्मोनल परिवर्तनको अवधिलाई अंग्रेजीलाई ‘प्युबर्टी’ भनिन्छ । यो पुरूषका हकमा ९ देखि १४ वर्षको उमेरभित्र सुरु हुन्छ ।

प्युबर्टीमा शरीरमा एन्ड्रोजेन र इस्ट्रोजेनका मात्रामा परिवर्तन भई विविध तहमा बढ्न सक्छन्, जसकारण एन्ड्रोजेन भन्दा इस्ट्रोजेनको तुलनात्मक मात्रा बढी हुने अस्थायी अवस्था सिर्जना हुनसक्छ ।

फिजियोलजिकल गाइनेकोमास्टिया हर्मोन तहमा असन्तुलनका कारणले हुन्छ, जहाँ एन्ड्रोजेनको तुलनामा इस्ट्रोजेनको वृद्धि बढी हुन्छ ।

एन्ड्रोजेनको मुख्य हर्मोनको प्रकारमा टेस्टोस्टेरोन पर्छ । फिजियोलजिकल गाइनेकोमास्टिया सामान्य इस्ट्रोजेन-टेस्टोस्टेरोन बीचको सन्तुलनको अनुपात नमिलेको अवस्थामा बच्चाहरूमा देखिन्छ, विशेषगरी १२ देखि १६ वर्षबीचको उमेरका बच्चा ।

शिशु अवस्था वा प्युबर्टीमा पुरूषमा सामान्य भौतिक परिघटनाका रूपमा छाती ठूलो हुने र यस्तो हुन थालेको ६ महिनादेखि दुई वर्षभित्र आफैं ठीक हुन्छ भने त्यस्तो अवस्थालाई ‘फिजियोलजिकल गाइनेकोमास्टिया’ भनिन्छ ।

कहिलेकाहीं प्युबर्टीमा सुरु हुने गाइनेकोमास्टिया दुई वर्षभन्दा बढीको अवधिको लागि पनि हुनसक्छ, जसलाई ‘पर्सिस्टेन्ट प्युबर्टल गाइनेकोमास्टिया’ भनिन्छ । उक्त पुरूषलाई पनि यही भएको बुझिन्छ । विश्व जनसंख्यामा कैयौं पुरूष यसबाट ग्रसित भएको बुझिन्छ ।

एन्ड्रोजेन हर्मोन दुवै पुरूष र महिलाका यौनिक विकासका लागि आवश्यक हुन्छ । एन्ड्रोजेन पूरकका रूपमा पनि लिन सकिन्छ । गाइनेकोमास्टिया एन्ड्रोजेनको दुरूपयोग (प्राय: खेलाडीमा), गाँजाको दुरूपयोग, मदिराको दुरूपयोग, केही औषधिको परिणाम, कुपोषण, कलेजो सिरोसिस, ट्रमा, संक्रमण, हाइपर्थाइरोइडिसम, एन्डोक्राइन डिसअर्डर, अण्डकोष डिसअर्डर, एचआईभी बिरामी, ट्युमर, मिर्गौलाको असफलता वा वृद्ध मानिसमा देखिन्छ ।

लामो समयदेखि प्रयोग गरिरहेका केही मुटुरोगका औषधिले गर्दा पनि गाइनेकोमास्टिया हुनसक्छ ।

गाइनेकोमास्टियाका अन्य प्रकार
– सुडो गाइनेकोमास्टिया
– ट्रु गाइनेकोमास्टिया (ब्रेस्ट टिसु)
– कम्बाइन्ड सुडो गाइनेकोमास्टिया (फ्याटी टिसु)
– सिभियर (गम्भीर) गाइनेकोमास्टिया

तसर्थ गाइनेकोमास्टियाको निश्चित निदान गर्न केही प्रयोगशालात्मक परीक्षण गर्न आवश्यक हुन्छ ।

गाइनेकोमास्टिया भएको शंका भएमा गर्नुपर्ने पहिलो परीक्षण अन्तर्गत हर्मोनल परीक्षण गर्न सकिन्छ, जसमा इस्ट्रोजेन, टेस्टोस्टेरोन, एचसीजी र प्रोलाक्टिन आदिको परीक्षण गरिन्छ ।

स्तनमा फ्याट हो वा ग्लान्डुलर स्ट्रक्चर (ट्रु गाइनेकोमास्टिया) भनेर छुट्टयाउनका लागि छातीको सामान्य अल्ट्रासाउन्ड गर्न सकिन्छ । ट्युमर भएको शंका भएमा फाइन निडल एस्पीरेसन साइटोलोजी (एफएनएसी) वा बायोप्सी गरेर छुट्टयाउन सकिन्छ । छाती ‘बढेको’ कारण पत्ता लगाउन पेटको सीटी स्क्यान र अण्डकोषको भीडीयो एक्स-रे स्क्यान गर्न सकिन्छ ।

उपचार

सर्वप्रथम एन्डोक्राइनोलोजिस्टसँग परामर्श लिन सकिन्छ । गाइनेकोमास्टिया हुनुको कारणमा फिजियोलोजिकल प्युबर्टल गाइनेकोमास्टियाका अतिरिक्त टेस्टिकुलर क्यान्सरको लक्षणका रूपमा वा अन्य रोगको उपचारार्थ प्रयोग हुने औषधिको ‘साइड इफेक्ट’ले गर्दा पनि हुनसक्छ । गाइनेकोमास्टिया हुनुको पछाडि विविध कारण भएको हुनाले गाइनेकोमास्टियाका बिरामीहरूको व्यापक परीक्षण गर्न आवश्यक हुन्छ, जुन अत्यन्त नाजुक तरिकाले गरिएको हुनुपर्छ ।

गाइनेकोमास्टिया हुनुको पछाडिको आधारभूत कारणका आधारमा बिरामीको उपचार गरिन्छ । उदाहरणका लागि केही प्रकारका औषधिको प्रयोगबाट गाइनेकोमास्टियाका उत्पन्न होला, जसको ‘नियन्त्रण’ गरेमा राहत मिल्ला । प्राय: देखिने गाइनेकोमास्टिया प्युबर्टीका कारणले हुन्छ, जुन समयक्रमानुसार आफैं ठीक हुँदै जान्छ । यदि निरन्तर रूपमा हुने (पर्सिस्टेन्ट) गाइनेकोमास्टिया भएको खण्डमा बिरामीको आफ्नो शरीर बढ्ने अवधि समाप्त भएपछि शल्यक्रियात्मक उपचार गर्न सकिन्छ । यस्तो उपचारले बिरामीको मनोबल बढाउन मद्दत गर्छ ।

उपचारका अन्य विकल्पमा ‘एन्डोस्कोपिक ट्रान्सएक्सील्लरी लाइपोसक्सन’ र ‘सबक्युटेनियस मेस्टेक्टोमी’ हुन्छन् ।

दुई वर्षको अवधिसम्म पनि गाइनेकोमास्टिया आफैं ठीक भएन भने स्थायी उपचारका लागि शल्यक्रिया गर्न सकिन्छ, प्लास्टिक सर्जरी उपयुक्त हुन्छ ।

अवस्थानुसार ‘पेरीएरेओलर मेल ब्रेस्ट रिडक्सन’ पनि गर्नुपर्ने हुनसक्छ, जहाँ ‘निप्पल एरेओला कम्प्लेक्स’ क्षेत्र वरिपरि शल्यक्रिया गरिन्छ ।

अत्याधिक ठूलो छाती भएको अवस्थमा (सीडी) ‘क्लासिकल ब्रेस्ट रिडक्सनसँगै सुपिरियर वा इन्फिरियर फ्ल्याप्स’ गर्न सकिन्छ । वैकल्पिक शल्यक्रियामा ‘भर्टिकल इन्सिसन ब्रेस्ट रिडक्सन’ गर्न सकिन्छ, जसबाट छातीमा भर्टिकल आकारको दाग बस्छ ।

गाइनेकोमास्टियाका उपचारबाट हुने अन्य असरमा दाग बस्नु, शल्यक्रिया गरिएको भागतिर कम महसुस हुनु र शल्यक्रिया गरिने स्थानमा हुने डिप्रेसन ‘साइड इफेक्ट’मा पर्छन् । यद्यपि केही व्यक्तिमा शल्यक्रिया गरेपछि गाइनेकोमास्टियाका पुन: फर्किएको पनि भेटिएको छ ।

गाइनेकोमास्टियाका केही दु:खदायी अवस्थामा ‘एरोमटेस इन्हिबिटर’, ‘टेमोक्सिफेन’ र वृद्ध मानिसमा टेस्टोस्टेरोन प्रतिस्थापन पनि गरिन्छ । हालको अवस्थामा एरोमटेस इन्हिबिटर र टेमोक्सिफेन प्रयोग गर्नु भन्दा शल्यक्रिया गर्नु बढी प्रभावकारी मानिन्छ ।

(वरिष्ठ जनरल फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. बराल बल्खुस्थित वयोधा अस्पताल र बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन् ।)

डा. रन्जित बराल पुरुष छाती स्वास्थ्य समस्या
डा. रन्जित बराल
लेखक
डा. रन्जित बराल
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन

डा. बराल हाल काठमाडौंस्थित बयोधा अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन् । उनले एमबीबीएस (पान्डीचेरी), कार्डियोलोजीमा पीएचडी (जापान) र उड्डयन चिकित्सा (किंग्स कलेज लण्डन) अध्ययन गरेका छन्  । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १५१६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?