+
+

भारतीय चुनावी नतिजाको १२ बुँदे विश्लेषण

भारतमा रहेका ८० प्रतिशत हिन्दुमध्ये ५० प्रतिशतलाई ध्रुवीकृत गर्नु भनेको ४० प्रतिशत भोट शेयर हो, जसमा भाजपा केवल १-२ प्रतिशतले चुकेको देखिन्छ । यसलाई भाजपाको रणनीति सफल नै भएको मान्नुपर्छ ।

समृद्ध घिमिरे समृद्ध घिमिरे
२०८१ जेठ २२ गते २०:२५

भारतको चुनावी नतिजा आउँदै गर्दा सत्तासीन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले २९४-९५ सिटमा अग्रता कायम गरिरहेको छ । त्यस्तै, विपक्षी कांग्रेस पार्टी नेतृत्वको इन्डिया गठबन्धनले २२० देखि ३० सिटमा अग्रता हासिल गरिरहेको छ ।

सुरुवाती रुझान हेर्दा सन् २०१९ को लोकसभा चुनावमा एक्लैले ३०३ सिट ल्याएको भाजपाको पकड घट्दै गइरहेको छ । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी जनसंख्या रहेका उत्तरी भारतका उत्तरप्रदेश तथा विहार राज्यमा भाजपालाई ठूलो धक्का लागेको छ । उत्तर प्रदेशमा भाजपाले झण्डै ३० सिट गुमाउने देखिन्छ भने बिहारमा भाजपा गठबन्धनले ८ देखि ९ सिट गुमाउने देखिन्छ ।

उत्तर प्रदेशपछि सबैभन्दा ठूलो राज्य महाराष्ट्रमा भाजपाले १० देखि १२ सिट गुमाउने देखिएको छ । अर्को ठूलो राज्य पश्चिम बंगालमा भाजपाले सन् २०१९ मा १८ सिट जितेकामा अहिले ८ देखि ९ सिटमा झर्ने देखिन्छ । प्रारम्भिक नतिजाले ठूला प्रान्तहरूमा भाजपाको पकड कमजोर हुँदै गएको देखिएको छ ।

त्यसबाहेक २-३ वटा नयाँ प्रान्तहरूमा भाजपाको खासै बलियो पकड थिएन । जस्तो- तेलाङ्गना, आन्ध्र प्रदेश, तमिलनाडु र केरला । यहाँ पनि भाजपाको सिट संख्या बढेन तर मतको हिस्सा भने बढेको देखिन्छ ।

समृद्ध घिमिरे

आगामी चुनावहरूमा भाजपा यही रफ्तारमा अगाडि बढिरह्यो भने यी प्रान्तहरूमा एउटा नयाँ शक्तिको रूपमा उठ्न सक्नेछ । जस्तो कि केरलामा भाजपाले एक सिट पनि जित्छ भन्ने आकलन थिएन, तर एक सिट जितेको छ । तमिलनाडुमा पनि एक सिटमा भाजपा अगाडि छ ।

भाजपाले दिल्लीमा अहिलेसम्म ७ वटै सिटमा अग्रता लिइरहेको छ । हरियाणामा गत चुनावमा भाजपाले १० वटै सिट जितेकोमा यसपटक ५ सिटमा अग्रता कायम गरिरहेको छ । पञ्जाबमा त भाजपाले अहिलेसम्म एक सिटमा पनि अग्रता कायम गरेको छैन ।

१. कांग्रेस पुनरोदयको श्रेय समाजवादीलाई

यो चुनावमा इन्डिया गठबन्धनमा सबैभन्दा ठूलो हिस्सा कांग्रेसकै छ । इन्डिया गठबन्धनले २२० देखि २३० सिट जित्ने देखिएको छ । जसमध्ये १०० सिट कांग्रेसको हुनसक्छ । तर भाजपालाई सेटब्याक हुनु र कांग्रेस अगाडि जानुको श्रेय भने म समाजवादी पार्टीलाई दिन्छु । किनकि उत्तर प्रदेशमा ६२ देखि ६५ सिट ल्याएको भाजपालाई यसपटक ३० देखि ३२ सिटमा सीमित गर्न सक्नुमा समाजवादी पार्टीको भूमिका छ ।

जितको खुशियालीमा विपक्षी इन्डिया गठबन्धनका समर्थक ।

त्यहाँ समाजवादी पार्टीको ३२ देखि ३५ सिट र बिहारमा कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता दलका कारण भाजपालाई ८-९ सिट घाटा हुनेछ ।

सन् २०१९ मा महाराष्ट्रमा भाजपाले २३ सिट जितेको थियो । यसपल्ट १० देखि १२ सिटमा सीमित हुँदैछ । यहाँ भाजपाले गुमाएको सिट उद्धव ठाकरेको दल र कांग्रेसले जित्ने देखिन्छ । कांग्रेसले अझै अगाडिदेखि आफूलाई व्यवस्थित गर्न सकेको भए अझै धेरै सिट जित्न सक्ने रहेछ । तर समयमा तयारी नथाल्दाको असर उसैले भोग्यो ।

२. तेस्रोपटक प्रधानमन्त्री : नेहरुपछि मोदी

भारतको इतिहासमा जवाहरलाल नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने अवसर नरेन्द्र मोदीलाई मिल्दैछ । नेपालकै चुनावी इतिहासमा पनि तेस्रो चुनाव नेताहरुलाई गाह्रो पर्ने देखिएको छ । जनतामा उही अनुहार दोहोर्‍याएर के पाइयो त भन्ने ‘एन्टी इन्कम्बेन्सी भावना’ आउँछ ।

हिन्दीभाषी बाहुल्य प्रदेशहरु दिल्ली, पन्जाब, हरियाणामा किसानको मुद्दा मूख्य बनेको थियो । कृषिसम्बन्धी कानुनमा केही यस्ता व्यवस्था थिए, जसले पूजीपतिलाई मात्रै लाभ पुगिरहेको थियो । किसानको बाहुल्य रहेका ठाउँमा उनीहरुको फाइदा नहुने नीति लिँदाको क्षति भाजपाले भोग्यो ।

३. दक्षिण भारत र बंगालमा किन भाजपा आएन ?

जहाँ उपक्षेत्रीयतावाद छ, त्यहाँ भाजपाको विचारधाराले खासै छोएको देखिँदैन । बंगाली पहिचानले मानिसहरुलाई छुन्छ । तमिलनाडुको पनि उपक्षेत्रीय पहिचान छ । केरलामा पनि त्यस्तै छ । राष्ट्रवाद, हिन्दुत्व, उज्ज्वला योजनाजस्ता सामाजिक लोककल्याणका कार्यक्रमहरुले पनि त्यहाँ छुन सकेन ।

पञ्जाबमा पनि भाजपाले जितेन । यसको मूख्य कुरा उपक्षेत्रीयतावाद नै हो । त्यहाँ भाजपालाई अझै पनि जित्न कठिनै पर्न सक्छ ।

भारतमा भइरहेको मतगणना ।

४. कम्युनिस्ट पार्टीहरूको ओरालो यात्रा

भारतमा मूख्यतः तीनवटा कम्युनिस्ट पार्टीको बढ्ता चर्चा हुने गर्छः सीपीआई एम, सीपीआई, सीपीआई एमएल । पछिल्ला चुनावहरुमा उनीहरुको हैसियत झन् झन् गिर्दो छ । यसपल्ट उनीहरुले समग्र भारतभरिबाट करिब १० सिट जित्लान् । केरला, तमिलनाडुमा, बिहार, आन्ध्र प्रदेशमा एक–एक-दुई सिटको अनुपातमा सिट पाउने सम्भावना छ ।

विहारको विधानसभामा धेरै वर्षपछि २०२० मा १२ हाराहारी सिट कम्युनिस्ट पार्टीले पाएको थियो । केरलाको विधानसभाको बनावट छोड्ने हो भने न त बंगाल, न त त्रिपुरा कतै पनि कम्युनिस्ट प्रभाव उल्लेख्य छैन ।

सन् २००४ को चुनावमा कम्युनिस्ट पार्टीहरुले राम्रो सिट पाएका थिए । २००९ मा ठिकठिकै गरे । कम्युनिस्ट पार्टीका लागि भारतमा अब ठाउँ नै देखिँदैन ।

वंशवादमा चले पनि समाजवादी पार्टी सेन्टर टु लेफ्ट पार्टी हो । कांग्रेस, तृणमूल कांग्रेस, आन्ध्रप्रदेशको पार्टी, जगनमोहनको पार्टी पनि सेन्टर टु लेफ्ट नै हुन् । विपक्षका अधिकांश पार्टी नै वामपन्थी एजेन्डामा रहेकाले पुरानो कम्युनिस्ट पार्टीलाई राजनीतिक धरातल छैन । किनकि उनीहरुको एजेण्डा अरुले नै उठाइरहेका छन् । त्यसैले वामपन्थी एजेन्डामा कम्युनिस्ट पार्टीले जनताको बीचमा ठाउँ बनाउन अब कठिन नै छ ।

५४३ सदस्य चयनका लागि भएको लोकसभा चुनावमा त्यहाँका कम्युनिस्टले ४० देखि ५० सिट ल्याउन सकेको भए नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि आधार हुन सक्थ्यो । अब त्यो देखिँदैन ।

५. आम आदमीको भविष्य

आम आदमी पार्टीको प्रदर्शन विधानसभा चुनाव जहिले पनि राम्रो हो । सन् २०१५ को चुनावमा दिल्लीका ७० मध्ये ६७ सिट जितेकामा सन् २०२० मा ६३ सिट जित्यो । यो अत्यधिक राम्रो नतिजा हो ।

तर यो क्षेत्रीय पनि नभएर एउटा शहरी पार्टीमा सीमित छ । उक्त पार्टीको मूल आधार दिल्लीमा मात्रै हो । दिल्लीमा राम्रो गरेर पञ्जाबमा उक्त पार्टीले गत विधानसभा चुनावपछि सरकार बनायो ।

राष्ट्रिय चुनावमा हेर्दा दिल्लीमा रहेको ७ मध्ये आम आदमी पार्टीको एउटै सिटमा पनि अग्रता छैन । कांग्रेस ४ र आम आदमीले ३ सिट भागबण्डा गरेर चुनावमा सहभागी भएका थिए । यहाँ सातवटै सिट भाजपाले जित्ने बलियो सम्भावना देखिन्छ ।

सन् १९५२ देखिको चुनाव हेर्दा भारतको मतदातामा प्रदेश र राष्ट्रिय चुनाव फरक हो भन्ने स्पष्ट चेतना छ । त्यही भएर प्रदेशको चुनावमा आम आदमीलाई ७० सिटमा ६३ देखि ६७ सम्म जिताउने जनताले विधानसभामा शून्यमा सीमित गरिदिए ।

पञ्जाबमा १३ मध्ये ३-४ सिटमा आम आदमीको अग्रता देखिन्छ । त्यहाँ फरक के छ भने क्षेत्रीयता बलियो छ । हिन्दुत्वको विचारलाई पञ्जाबभित्र छिर्न नदिने रणनीति अन्तर्गत कांग्रेस र आम आदमीलाई भाजपाको विकल्पको रूपमा मत दिएको हो ।

यसरी भारतमा नयाँ पार्टीहरूले प्रदेश तहमा राम्रै नतिजा ल्याए पनि राष्ट्रिय तहमा भने आगामी एक दुई चुनावसम्म पनि राम्रो नतिजा ल्याउन सक्छन् भन्नेमा शंका छ ।

६.तङ्ग्रिएको तृणमुल कांग्रेस

तृणमुल कांग्रेसका लागि यो निर्वाचन राम्रो सावित भयो । गत चुनावमा २२ सिट जितेकोमा यसपटक झण्डै-झण्डै ३१ देखि ३२ सिट जित्ने मतपरिणामको रुझानले देखाउँछ ।

पश्चिम बंगाल र तमिलनाडुको लामो इतिहास छ । उनीहरूको उप-क्षेत्रीय पहिचान निकै बलियो छ । त्यहाँ भाजपा जस्तो पार्टीलाई इण्डियन आइडेन्टिटी लिएर आउन अप्ठ्यारो पर्छ । यही कुरा चुनावी परिणाममा अभिव्यक्त भएको हो । बंगाली पहिचान भारतीय पहिचानभन्दा बलियो देखियो । तमिल पहिचानको हकमा पनि यही लागु हुन्छ । अन्यथा, उप-क्षेत्रीय पहिचान कमजोर भएको ठाउँमा भाजपाले राम्रो नतिजा ल्याएको देखिन्छ ।

७. यूपीमा किन असफल भयो मोदीको राममन्दिर रणनीति ? 

उत्तरप्रदेशमा नरेन्द्र मोदीले राम मन्दिर बनाए । विगत तीन दशकदेखि भाजपाको प्रमुख एजेन्डा राम मन्दिर दियो । ‘मन्दिर वहीं बनाएंगे’ भन्ने नारा र यसपटक त प्राण प्रतिष्ठा पनि गरियो । तर पनि यूपीमा भाजपाले यसअघिको सिट पनि जोगाउन सकेन । यसको प्रमुख कारण हो- ग्रामीण संकट ।

यो उत्तरी भारतको गाउँहरूमा विगतको ५/७ वर्षदेखि बेरोजगारी, सिंचाइको समस्या, बीउबिजनको अभाव, कृषि उत्पादनले बजार नपाउने लगायतका कृषिसँग जोडिएका संकट (डिस्ट्रेस) छ, त्यसले त्यहाँ वैकल्पिक नेतृत्वको खोजी भइरहेको थियो । विशेषतः ग्रामीण भेगको जनताबीचमा । शहरी भेगका मतदाता भाजपासँग त्यति रुष्ट छैनन् ।

मुलायमसिंह र अखिलेश यादवको पार्टी समाजवादी पार्टीको लिगेसी र मायावतीको ओरालो यात्राले गर्दा पनि यो नतिजा देखियो । सँगै भाजपाले ध्रुवीकरण गर्ने अत्यधिक प्रयास गर्‍यो । त्यसो त, भाजपाले हरेक चुनावमा यसरी नै काम गर्छ । त्यसले अर्को तप्कामा उल्टो-ध्रुवीकरण गरिदियो । त्यो भनेको मुस्लिम, यादव र अरु भाजपाबाट प्रताडित सबै गोलबद्ध भएर एकातिर लागे ।

८. जातीय-धार्मिक रणनीतिको असर

यो चुनावको नतिजालाई सुक्ष्म मूल्याङ्कन गर्दा भारतमा जातीय-धार्मिक रणनीति कमजोर भएको देखिंदैन । सामान्यतः भाजपाले अहिले ३८ प्रतिशत मत पाएको छ । भारतको हिन्दु जनसंख्या ८०-८२ प्रतिशत हो । भाजपाले पहिलादेखि नै सजिलो चुनावी रणनीति अपनाएको देखिन्छ । ८० प्रतिशत हिन्दुमध्ये ५० प्रतिशतलाई मात्रै ध्रुवीकरण गर्न सकिन्छ भन्ने अनुमानमा भाजपा चलिरहेको छ । तर सबै हिन्दु ध्रुवीकृत हुँदैनन्, सबै अतिवादी पनि हुँदैनन् ।

ती ५० प्रतिशत हिन्दुलाई ध्रुवीकृत गर्नु भनेको ४० प्रतिशत भोट शेयर हो । भाजपा केवल १-२ प्रतिशतले चुकिरहेको छ । यसलाई भाजपाको रणनीति सफल नै भएको मान्नुपर्छ । भाजपालाई मुस्लिम समुदायबाट असाध्यै न्यून मत खसेको हुनसक्छ ।

९. विरासतको राजनीति

विरासतको राजनीति बुझ्न नेहरू-गान्धी, लालु-मुलायमसिंह यादव, हरियानामा चोटाला, दक्षिण भारतमा एम के स्टालिन र आन्ध्र प्रदेशमा मोहन रेड्डी लगायतले गरिरहेको विरासतको राजनीति पछ्याउनुपर्छ । गान्धी परिवारबाट स्मृति इरानी चुनाव हार्दैछिन् ।

अखिलेश यादव

समाजवादी पार्टीमा हेर्दा अखिलेश यादवको विजय चानचुने होइन । राष्ट्रिय जनता दलले जसरी सन् २०२० मा छलाङ मारेर चुनाव जितेको थियो, त्यस्तो नतिजा लोकसभा निर्वाचनमा देखिएन । जगतमोहन रेड्डी त अस्वीकृत नै भए । विधानसभा चुनावमा उनी नराम्ररी पराजित हुँदैछन् ।

यो निर्वाचनको नतिजा हेर्दा विरासतको राजनीतिप्रति भारतीय मतदाताको प्रतिक्रिया मिश्रित देखिन्छ ।

१०. भाजपा र एक्जिट पोलको विरोधाभास 

यसपटक एक्जिट पोलले देखाएको नतिजा भन्दा भाजपाले धेरै कम पाइरहेको छ । तर भाजपाले तेस्रोपल्ट चुनावमा जाँदा जति क्षति भोग्नुपर्ने हो त्यति भोग्नुपरेको देखिएन ।

खासमा भारतको मत सर्वेक्षणको बिजोग देखियो । किनभने मैले यसअघिका भारतीय चुनाव हेर्दा पत्रकारहरुले भन्दा सर्वेक्षणकर्ताहरुले संख्यात्मक निकटता ल्याएका हुन्थे । स्वभाविक पनि हो, पत्रकारको संख्या भन्दा मुद्दामा कुरा गर्ने बानी हुन्छ । उनीहरुले संख्या हेर्ने होइन भन्ने पनि छ । तर सर्वेक्षणकर्ता नै चुक्नुचाहिँ सोचनीय हो । अब सर्वेक्षण गर्ने विधि नै बदल्नुपर्छ ।

११. चुके प्रशान्त किशोर

यसपटक प्रशान्त किशोरको विश्लेषणमा कहाँ समस्या पर्‍यो भने उनले भारतलाई राजनीतिक र चुनावी दृष्टिले दुई हिस्सामा विभाजन गरे- उत्तरी र पश्चिम भारत, पूर्वी र दक्षिणी भारत ।

उत्तरी र पश्चिमी भारत (उत्तर प्रदेश, हरियाना, राजस्थान, महाराष्ट्र) मा उनले भाजपाले केही सिट गुमाउने नै भनेका थिए । तर उनले यहाँ गुमाउने १०-२० सिट पूर्वी र दक्षिणी भारत (आसाम, वेस्ट बंगाल, उडिसा, आन्द्रा प्रदेश) बाट रिकभर हुन्छ भनेका थिए ।

यहाँ उनको विश्लेषण बंगालमा उल्टो भयो । पश्चिम बंगालमा भाजपाले उल्टै केही सिट गुमायो । विहारमा पनि केही सिट घाटा लाग्यो । तर उनले उत्तरी र पश्चिमी भारतमा आकलन गरेभन्दा दोब्बर सिट भाजपाले गुमाउने देखिन्छ । यहाँ उनले भनेअनुसार १०-१५ सिट होइन, भाजपाले १०-१५ प्रतिशत नै सिट गुमाउने देखियो ।

१२. अन्ततः भाजपाकै सरकार

१० वर्षअघि अर्थात् सन् २०१४ मा पनि भारतमा यस्तै नतिजा आएको थियो । जुन चुनावबाट नरेन्द्र मोदी प्रधानमन्त्री बनेका थिए । भाजपा नेतृत्वको गठबन्धन एनडीएसँग दुई तिहाई नभए पनि बहुमत त आयो । त्यसैले उनीहरुको शक्तिशाली सरकार नै रहिरहन्छ ।

उता कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २२० भन्दा केही सिट बढी जित्ला । तर भाजपाको ‘अपरेशन लोटस’ छ, जहाँ उसले चुनावदेखि सरकार निर्माणसम्मको योजना बनाउँछ । त्यस बीचको समयमा उसले विपक्षी दललाई तोड्ने, गठबन्धनमा खेल्ने लगायत धेरै कुरा गर्न सक्छ ।

इन्डिया एलाइन्समा आएकाहरुले यथोचित सिट अनुसार सम्मानभाव नपाए भाजपा नेतृत्वको एनडीएतिर जान पनि सक्छन् । यस्तो टुटाउने फुटाउने खेलमा भाजपा निकै राम्रो खेलाडी बन्ने गरेको छ ।

(चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर नेतृत्वको इन्डियन पोलिटिकल एक्सन कमिटीमा काम गरेका चुनावी रणनीति, प्रवर्द्धन र विश्लेषणमा दख्खल राख्ने समृद्ध घिमिरेसँग कुराकानीमा आधारित ।)

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?