+

ब्रेकफास्टबारे ठूलो द्विविधा : अनिवार्य खानैपर्छ कि आवश्यक छैन ?

२०८१ जेठ  २३ गते ७:०० २०८१ जेठ २३ गते ७:००
ब्रेकफास्टबारे ठूलो द्विविधा : अनिवार्य खानैपर्छ कि आवश्यक छैन ?

काठमाडौं । ब्रेकफास्ट अर्थात् नास्ता । यो सर्वव्यापी शब्द मात्र नभई जीवन पद्धति पनि हो । रातभरको विश्रामपछि खालीपेटमा केही खाएर दिनको आरम्भ गर्ने प्रचलन छ । त्यही बिहानको पहिलो खानालाई ‘ब्रेकफास्ट’ भनिन्छ । यसको शाब्दिक अर्थ ‘फास्टिङ’ लाई ‘ब्रेक’ गर्नु हो । नेपालीमा यसको दुरुस्तै शब्दावली नभएपनि रातभरको उपवास तोड्नु भनी बुझिन्छ ।

ब्रेकफास्टको प्रचलन विश्वभर छ । यसलाई शारीरिक स्वास्थ्यको एक अपूरणीय हिस्सा पनि मानिन्छ । ब्रेकफास्ट गर्नु भनेको स्वस्थ दिनचर्याको सुरुवात गर्नु भनी चिकित्सकहरुले भन्ने गरेका छन् । त्यसैले उनीहरु बारम्बार सचेत गराइरहेका हुन्छन्, ब्रेकफास्ट अनिवार्य गर्नु ।

तर अहिले ब्रेकफास्ट गर्नैहुन्न भने तर्कमा पनि ठूलो जमात समावेश छ । खासगरी १६ वा १८ घण्टे फास्टिङको प्रचलनसँगै बिहानको नास्ता गर्न अनुपयुक्त हुने उनीहरुको तर्क छ । यस्तो तर्कमा सहमत हुनेहरु दिउँसो १२ वा १ बजेपछि सोझै खाना (लन्च) खाने गर्छन् । यस्तोमा ब्रेकफास्टबारे ठूलो द्विविधा छ ब्रेकफास्ट गर्नु स्वास्थ्यको लागि फाइदाजनक हो कि होइन ?

शरीरलाई दिनभरका लागि आवश्यक ऊर्जाको स्रोत भनेको बिहानको नास्ता–खाना हो । त्यही नास्ता नै हामीले छुटाउन थालेको जनरल फिजिसियन, पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

हाम्रो शरीरको आन्तरिक घडीलाई चलायमान राख्न ब्रेकफास्ट खानु महत्त्वपूर्ण हुन्छ । शरीरमा जति पनि हर्मोन निस्कन्छ, त्यो  बिहान ४ देखि ८ बजेको समयमा निस्कने डा. भण्डारी बताउँछन् । ‘शरीरलाई सन्तुलनमा राख्नका लागि  आवश्यक पर्ने थाइराइड, इन्सुलिन लगायत हर्मोनहरु बिहान ४ देखि ८  बजेको समयमा निस्कन्छ । यो समयमा खाना खाँदा त्यो खाना पचाउन शरीरको मेटाबोलिज्मले राम्ररी काम गर्छ र शरीरले त्यसलाई राम्ररी पचाउँछ । त्यसैले बिहानको नास्ता छोड्न हुँदैन ।’

‘अहिले १६ घण्टे १८ घण्टे फास्टिङ गरेर ब्रेकफास्ट नगर्ने चलन बढेको छ । यस्तो फास्टिङमा ८ घण्टा वा ६ घण्टाभित्र खाना खाइसक्ने चलन छ । यो प्राकृतिक हिसाबमा उपयुक्त होइन । किनभने उनीहरूको पहिलो खाना ११ बजे हुन्छ,’ भण्डारी भन्छन्, ‘यस्तोमा लामो समय बिहानको खाजा खाइएन भने कालान्तरमा इन्सुलिन  उचित मात्रामा  ननिस्कन सक्छ । मेजाबोलिज्म कायम राख्न जरुरी पर्ने हर्मोनहरु सही मात्रामा ननिस्कन पनि सक्छ र मेजाबोलिज्म सुस्त हुनसक्छ ।’

ब्रेकफास्ट खानेहरूलाई मेटाबोलिकसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ । हाम्रा पुर्खाहरूले पनि फास्टिङ त गर्थे तर १६ र १८ घण्टे होइन, १२ घण्टे फास्टिङ गर्थे  । बेलुकाको खाना ७ बजे खान्थे र बिहानको खाजा ७ बजे खाएर खेतमा काम गर्न जान्थे अनि १२ बजेतिर खाना खान्थे । त्यसैले उनीहरूमा अहिले धेरै स्वास्थ्य समस्या देखा नपरेको हुनसक्ने डा. भण्डारी बताउँछन् ।

‘शरीर पनि एउटा जस्तै मेसिन हो । मेसिनलाई निश्चित समयमा चलाउनुपर्छ र निश्चित समयको लागि विश्राममा राख्नुपर्छ । मेसिन चलाइएन भने पनि बिग्रिन्छ र धेरै चलायो भने पनि बिग्रिन्छ । त्यस्तै हाम्रो शरीरले पनि १२ घण्टामा पचाउनुपर्ने खानालाई ६ घण्टामा नै पचाउन दिन्छौं भने त्यसमा पनि समस्या आउँछ,’ उनले भने ।

जुन काम शरीरले १२ घण्टामा गर्नुपर्ने हो, त्यो काम ६ घण्टामा गर्‍यो भने शरीरलाई भार पर्छ । शरीरको संरचनाअनुसारको मोटाबोलिक सिस्टम नहुँदा शरीरमा मांसपेशी दुख्ने, महिनावारी गडबड हुने लगायतका समस्या देखिन सक्ने डा. भण्डारी उनी बताउँछन् ।

‘बेलुका ७ बजे खाना खाएर सुतियो अनि बिहान ब्रेकफास्ट नगरी १६ वा १८ घण्टासम्म भोकै बसेर काममा गइयो भने शरीरमा ऊर्जा नपुगेर रिंगटा लाग्ने, लड्ने समेत सम्भावना हुन्छ,’ उनी भन्छन् ।

के भन्छ आयुर्वेद ?

आयुर्वेदका अनुसार बिहान हाम्रो पाचन प्रक्रियाले राम्रो काम गर्छ, सूर्यास्तपछि पाचन प्रक्रिया सुस्त हुन्छ । त्यसैले पाचन प्रक्रियालाई गति दिन र दिनभर गतिविधि गर्न आवश्यक ऊर्जा प्राप्त गर्न बिहान हल्का नास्ता गर्नु उपयुक्त हुने आयुर्वेदिक चिकित्सक निर्मल भुसाल बताउँछन् ।

‘बिहान ११ बजेसम्म खाने खानालाई ब्रेकफास्ट भन्ने चलन छ । यस्तोमा बिहानको खाना अन्य बेलाको तुलनामा धेरै मात्रामा खानु मिल्छ भन्ने छ । बिहान ९ देखि ११ बजेभित्रमा बिहानको नास्ता खाइन्छ भने त्यो पेटभरि खान मिल्छ ।’

अहिले १६ घण्टे, १८ घण्टे उपवास बस्ने चलन छ । तर आयुर्वेदिक दृष्टिकोणअनुसार उपवासलाई दैनिकी बनाउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो नहुने भुसाल बताउँछन् । ‘उपवास जीवनशैली र व्यक्तिको आवश्यकता अनुसार हप्तामा एक पटक गर्नु राम्रो हुन्छ । उपवास भनेको शरीरलाई ‘डिटक्स’ शरीरको विकारलाई शुद्धीकरण गर्ने गर्ने प्रक्रिया हो,’ उनी भन्छन्, ‘त्यसैले उपवास बस्नु त राम्रो हो तर दैनिक १८ घण्टासम्म उपवास बस्दा भने अन्य स्वास्थ्य समस्या निम्तन सक्छ ।’

नेपालीहरूको लागि ब्रेकफास्ट अनिवार्य छैन

अनुश्री आचार्य, पोषणविद्

हाम्रो खानपान तालिका नै फरक भएकाले बिहान अनिवार्य नास्ता गर्नुपर्छ भन्ने छैन । काम–व्यवहारका कारण हामी ८–९ बजे नै बिहानको खाना खाने गर्छौं । यो नै हाम्रो लागि बिहानको नास्ता जस्तै भएको छ ।

बिहान उठ्नासाथ नास्ता खाने, फेरि ८-९ बजे खाना खाने गरियो भने त्यति फाइदाजनक नहुन सक्छ । कसैले बिहानको खाना १२ देखि १ बजे खान्छन् भने उनीहरूले भने ब्रेकफास्ट गर्नु राम्रो हुन्छ । बिहानको नास्ता गर्नुपर्छ कि पर्दैन भन्ने कुरालाई व्यक्तिको दिनचर्या, खानपान शैली काम व्यवहारले निर्धारण गर्छ । यो सबैमा एकरूपता हुनुपर्छ भन्ने छैन ।

यद्यपि बिहानको खाजा होस् वा खाना भरपेट खानुपर्छ । किनकि बिहानको खानाले दिनभरिको लागि ऊर्जा प्रदान गर्छ । त्यसपछिका खाना भने क्रमशः कम गर्दै लैजानुपर्छ । किनकि रातको खाना सकेसम्म चाँडै खानु लाभदायक हुन्छ ।

के खाने ब्रेकफास्टमा ?

बिहानको नास्तामा ओट्स, चना, उसिनेको अण्डा, सातु, रोटी, पुवा, भुटेको मकै–भटमास, कोदोको सुप, झोल तरकारी एकदमै उपयोगी हुने पोषणविद्को सुझाव छ । यसैगरी अंकुराएको गेडागुडी, मौसमी फलफूल पनि नास्तामा सामेल गर्नु उपयुक्त हुन्छ । मौसमअनुसार प्रकृतिमा जे उत्पादन हुन्छ, त्यही खानेकुरालाई नास्ताको रुपमा खान सकिने पोषणविद् आरेम कार्की बताउँछन् ।

कार्की भन्छन्, ‘घरकै उत्पादन वा आफ्नै भान्सामा पाकेको ताजा र पोसिलो खानेकुरा खानुपर्छ । बिस्कुट, चाउचाउ, पाउरोटी वा बजारका प्रशोधित खानेकुरा चाहिँ नास्ताको रुपमा खानै हुन्न ।’

ब्रेकफास्टबारे रोचक कुरा

जापानी उखान छ– बिहानको खाना आफूले खानु, दिउँसो साथीसँग बाँडेर खानु र रातिको खाना शत्रुलाई दिनु । यसले दैनिक खानाको तालिका कस्तो हुनुपर्छ भन्ने औंल्याउँछ । बिहान भरपेट खानुपर्छ, दिउँसो त्यसको आधा भाग भए पुग्छ र राति त नखाएकै बेस भन्ने गरिन्छ ।

अर्को उखान छ- बिहानको नास्ता राजकुमारले जसरी खानु, दिउँसोको खाना राजाले जस्तै र बेलुकीको खाना भिखारीले जस्तै खानु ।

यो खानामा सबैभन्दा अर्थपूर्ण भनाइ हो । बेलुकाको खाना र बिहानको खाजाको बीचमा १०–१२ घण्टाको लामो अन्तर हुन्छ । खाना पचेपछि र ठूलो आन्द्राबाट खाना पसेपछि हाम्रो पेट लगभग खाली हुन्छ । तर पेटबाट निस्कने रसायन र एसिडले आफ्नो काम गरिरहन्छ । खानेकुरा नपाउँदा हाम्रो आन्द्रालाई हानि पुर्‍याउन थाल्छ । जसका कारण पित्त थैलीमा पत्थरी, एसिडिटी र अन्य समस्याहरू देखा पर्छन् ।

उखानअनुसार राजकुमार विलासी जीवन बिताउँछन् । त्यसैले बिहानको खाजा भरिपूर्ण हुनुपर्छ अर्थात् ब्रेकफास्ट प्लेटमा विभिन्न परिकारहरू हुनुपर्छ । यसले हाम्रो दिमागलाई स्वस्थ बनाउँछ र हाम्रो शरीर दिनभर ऊर्जाले भरिपूर्ण हुन्छ ।

दिउँसोको खाना राजाले जस्तो खानुपर्छ भनिन्छ । किनभने राजाको धेरै काम हुन्छ त्यसैले धेरै समय लगाएर खाना खान भ्याउँदैनन् र थोरै सन्तुलित खाना खान्छन् ।  त्यसैले दिउँसो सन्तुलित आहार लिन भनिन्छ ।

त्यस्तै भिखारीले थोरै र हल्का खाना खान्छन् ।  त्यसैले राति भिखारीले जस्तो खाना खानु भनिएको हो । जुन खाँदा शरीरमा भारीपन आउँछ, थकान र आलस्य बढाउँछ त्यस्तो खाना खानु हुँदैन । हामीले जति प्राकृतिक र हलुका खाना खान्छौं त्यति स्वास्थ्य राम्रो हुन्छ ।

ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

खानपान ब्रेकफास्ट
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

मनसुनसँगै नाइरोबी फ्लाईको सक्रियता बढेको हो ?  

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

साउन-भदौमा कसरी अपनाउने स्वास्थ्य सजगता ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय