+
+

चितवनमा गैंडाको गोबरबाट भेल्लरको जंगल

सुवास पण्डित सुवास पण्डित
२०८१ जेठ २८ गते ७:४७

२८ जेठ, चितवन । पश्चिम चितवनको पटिहानीस्थित राप्ती नदी तटीय क्षेत्रमा हरेकजसो साँझपख गैंडा चरिरहेको दृश्य देख्न सकिन्छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने अम्रेला स्ट्रिटमा घुम्न जानेहरू पनि यहाँ चर्न आउने जीव जनावर देखेर रमाउने गर्छन् ।

पटिहानीतर्फको राप्ती नदी तटीय क्षेत्रको सुन्दर ग्रासल्यान्डमा पछिल्लो समयमा बिरुवाहरू हुर्किरहेका छन्, त्यो पनि एकै प्रजातिका । विशेषगरी भेल्लरका (थारु भाषाबाट राखिएको नाम) विरुवा हुर्किएर जंगल बन्ने क्रममा छ ।

भेल्लरलाई राइनो एप्पल (गैंडा स्याउ) पनि भन्ने गरिन्छ । यी बिरुवा कसैले रोपेको वा सारेको भने हैन । यस्ता राइनो एप्पलका बिरुवाहरु यसरी रहरलाग्लो गरी हुर्किनुमा गैंडाको गोबर नै प्रमुख कारण हो ।

विश्वकै दुर्लभ मानिने एकसिंगे गैंडा निकुञ्ज क्षेत्रमा दिनभरि चरेर राप्ती नदीमा पानी खान आउँछन् । पानी खाएपछि साँझपख यिनै तटीय क्षेत्रमा चर्ने र त्यहीं नै शौच गर्ने गर्छन् । गैंडामा प्रायः जसो एकै ठाँउमा नै शौच गर्ने विशेषता हुन्छ ।

गैंडाले असाध्यै मन पराउने खाने कुरामा पर्छ, भेल्लरको कलिलो पात र यसको दाना । जानकारका अनुसार गैंडाले राइनो एप्पल पाएसम्म अरु खाने कुरा त्यति मन पराउँदैन ।

गैंडाले राइनो एप्पल खाएर एकै ठाउँमा शौच गर्दा त्यसको बिउबाट विरुवाहरु उम्रिएका हुन् । बर्खामा पानीले बगाएर राइनो एप्पलको बीउ घाँसे मैदानतिर फैलाउँदा जंगल बढ्दै गएको भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो बताउँछन् ।

‘बाढी लाग्ने, कहिले बालुवा मात्रै हुने, फुटबल खेल्ने मैदान थियो, अहिले गैंडाको आवतजावतसँगै भेल्लरको रुखहरु हुर्किन थाले’, वडाध्यक्ष महतोले भने, ‘अबको केही वर्षमा एकैनासका विरुवाको जंगल हुने अवस्था देखिएको छ ।’

गैंडा लगायतका जीवजन्तुले गोबरबाट बिउ विभिन्न ठाउँमा फैलाउन र नयाँ जंगलको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी ।

अनुसन्धानकर्ता विज्ञ डा. बाबुराम लामिछानेले बोट विरुवाहरुको विकास र विस्तारमा गैंडा लगायतका प्रजातिको महत्वपूर्ण भूमिका रहेको बताए । ‘गैंडाले खाने विभिन्न प्रजातिका फलहरुको बिउ गोबरसँगै उम्रिने गरेको विभिन्न अनुसन्धानले देखिएको छ’, डा. लामिछानेले भने, ‘माटो, मल र बिउ भएपछि विरुवा उम्रिन र हुर्किन सजिलो भयो ।’

डा. लामिछानेका अनुसार गैंडाको दिसा र मृग लगायतका प्रजातिले उग्राउँदा बिउहरु विभिन्न ठाउँमा छरिने र उम्रिने हुन्छन् । ‘गैंडाले कतिपय खाना राम्रोसँग पचाउँदैन, नपचेका बिउमा जर्मिनेटिङ क्षमता यथावत नै रहेको हुन्छ, गैंडाले दिसा गरेको ठाँउमा उपयुक्त समयमा उम्रिन्छ’, डा. लामिछानेले भने, ‘अझै यसको डिटेल अनुसन्धान हुँदैछन्, केही समयमा पछि रिर्पोटहरु सार्वजनिक हुन्छन् ।’

गैंडाको गोबरमा उम्रिएका वनस्पति तथा अन्य जैविक वस्तुहरुलाई अन्य वन्यजन्तुले आफ्नो आहाराका रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । गैंडाको गोबरले माटोको उर्वराशक्तिलाई बढाउने र त्यहाँ उम्रिएका वनस्पतिहरुमा अन्य जनावरका लागि पौष्टिक तत्वहरू पाइने देखिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?