+

डेंगुको प्रकोपबाट जोगिन कार्यस्थलमै लार्भा नष्ट गर्ने समय निकालौं

२०८१ असार  ३ गते ७:०० २०८१ असार ३ गते ७:००
डेंगुको प्रकोपबाट जोगिन कार्यस्थलमै लार्भा नष्ट गर्ने समय निकालौं

यस वर्ष अहिलेसम्म कुनै विशेष ठाउँमा डेंगुले प्रकोपको रुप लिइसकेको त छैन, तर भाइरस भने निरन्तर फैलिंदो छ । पछिल्लो समय नेपालमा डेंगु भाइरसले ७१ जिल्लामा आफ्नो प्रभाव पारिसकेको जानकारी आएको छ । अर्थात् मनसुन सुरु हुनु भन्दा अगाडि नै नेपाल लगभग डेंगुमय भइसकेको छ ।

सामान्यतया डेंगु मनसुन र पोस्ट मनसुन सिजनमा बढी देखिने गरेको छ । ठूलो प्रकोपको रुप लिने भए मनसुनलगत्तै बढ्दै जाने गरेको देखिन्छ भने पोस्ट मनसुनमा देखिंदा भने कुनै विशेष ठाउँमा प्रकोपको रुप लिने गरेको विगतको अनुभवले देखाउँछ । हाल डेंगुले आक्रामक रुप लिंदै गर्दा नियन्त्रण गर्ने जाँगर/उपायतिर भने निराशाजनक देखिन्छ ।

डेंगु अनियन्त्रित तब हुन्छ जब लामखुट्टेले आफ्नो जीवन चक्र पूरा गरेर टोक्न सुरु गरिसकेको हुन्छ । लामखुट्टे व्यापक फैलिनु भनेको डेंगु महामारीको घण्टी बज्नु हो । नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा आगामी दिनमा लामखुट्टेको संख्या ह्वात्तै बढ्नेमा सायदै द्विविधा होला । एक कचौरा पानी मात्र पनि लामखुट्टेको जीवन चक्र पूरा गर्न पर्याप्त हुन्छ । सातदेखि १० दिनको चक्र पूरा गरिसकेपछि लामखुट्टे वयस्क रुपमा पुग्ने गर्छ । अण्डा, लार्भा, प्युपा हुँदै वयस्क हुने हो । लामखुट्टेको अण्डा आँखाले नदेखिने हुनाले लार्भा अवस्थामा (आँखाले पनि देख्न सकिन्छ) पुगे नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ । तर मनसुन सुरु भइसक्दा पनि पानी जम्न सक्ने सम्भावित ठाउँको पहिचान गर्ने र लार्भा नष्ट गर्ने समूह बनाउन खासै चासो दिएको देखिंदैन ।

विगतमा पनि लामखुट्टे नियन्त्रणमा खासै चासो नदिंदा वा डेंगुले महामारीको रुप लिइसकेपछि मात्र चासो दिंदा हजारौं मानिस डेंगु संक्रमित हुनु परेको थियो भने मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको थियो ।

धेरैले डेंगु संक्रमणबाट बच्न विशेषगरी आफ्नो घर वरिपरि मात्र बढी ध्यान दिने गरेको पाइन्छ, जुन  अस्वाभाविक पनि होइन । तर आफू कार्यरत स्थलमा भने धेरैको ध्यान लार्भा खोज्ने र नष्ट गर्नमा समय दिएको देखिंदैन । वास्तवमा लामखुट्टेको टोकाइ आफू कार्यरत स्थलमा बढी हुने गरेको लेखकको अनुभव छ । सन् २०१९ को डेंगु महामारीमा धेरै बिरामी डेंगु नदेखिएको/नफैलिएको ठाउँका निवासी थिए । तर कार्यस्थल डेंगु प्रभावित क्षेत्रभित्र हुँदा संक्रमित हुने गरेका थिए । डेंगु प्रकोप क्षेत्रमा अध्ययन गरिरहेका धेरै  विद्यालयका विद्यार्थीहरु पनि संक्रमित हुने गरेका थिए । यी उदाहरणबाट पनि लामखुट्टे विशेषगरी दिनमा सक्रिय हुने वा टोक्ने गर्दो रहेछ भन्ने स्पष्ट हुन्छ । डेंगु एडिस जातको लामखुट्टेले फैलाउने गर्छ । यो बढी दिनमा सक्रिय हुने गर्छ ।

त्यसैले हामी दिनमा बढी आ-आफ्ना कार्यस्थल, विद्यालयमा हुने हुँदा सो ठाउको वरिपरि लामखुट्टेका लार्भा छ कि छैन भनेर कम्तीमा हप्तामा एक पटक भएपनि समय निकालेर खोज्ने नष्ट गर्ने नियम बसाल्नुपर्छ ।

ज्वरो आउनु, आँखाको गेडी दुख्नु वा खस्ला जस्तो हुनु, टाउको, मांसपेशीका र जोर्नी असाध्य दुख्नु, वाकवाकी वा बान्ता हुनु र शरीरमा स-साना राता बिबिरा देखिनु डेंगुका प्रारम्भिक र मुख्य लक्षणहरु हुन् । संक्रमण भएको चारदेखि १० दिनभित्र यी उल्लेखित लक्षण देखापर्ने गर्छ । थप जटिलतातिर गए रक्तस्राव हुने र समयमा उपचार नपाए मृत्यु समेत हुनसक्छ ।

डेंगुको कडा दुखाइले बिरामीलाई सबैभन्दा बढी बेचैनी बनाउने गरेको पाइन्छ । डेंगुको दुखाइ कोभिड-१९ को भन्दा कडा भएको धेरै बिरामीले लेखकसँग अनुभव सेयर गरेका थिए । सन् २०१९ बाट सन् २०२२ सम्म आइपुग्दा डेंगु थप उग्र र घातक रुपमा परिणत भइसकेको देखिन्छ । लेखकले सन् २०२२ को काठमाडौं महामारी समयमा दैनिक एक दर्जनको हाराहारीमा आकस्मिक कक्ष अगाडि बिरामी अचेत भई ढल्ने गरेको देखेको थियो । तर सन् २०१९ वा सो भन्दा अगाडि डेंगु संक्रमितमा यस्तो समस्या खासै देखिने गरेको थिएन । यसबाट पनि आगामी दिन हाम्रो लागि अरु आक्रामक र घातक डेंगुको चुनौतीको सामना गर्नुपर्ने स्पष्ट नै देखिन्छ ।

अन्तमा, पहिले काठमाडौंमा डेंगुका बिरामी खासगरी छिमेकी देश भारतमा अध्ययन गर्न गएकाहरु हुने गरेको लेखकको अनुभव छ । सन् २०१० यताबाट काठमाडौंमा डेंगुका बिरामीहरु प्रशस्त देखिन थालेका हुन् । त्यसयता डेंगु फैलाउने एडिस जातका लामखुट्टेको पनि अस्वाभाविक वृद्धि देखिन थालेको हो । हाल यो लामखुट्टे काठमाडौंमा प्रि-मनसुनबाट नै उल्लेखनीय संख्यामा देखिन थालेको छ र क्रमश: व्यापक हुँदै पनि जानेछ । लामखुट्टेको बृद्धिसँगै डेंगु भाइरसले पनि व्यापकता पाउनेछ ।

डेंगु रोक्न लामखुट्टेको जीवन चक्रमा ब्रेक लगाउन अनिवार्य नै हुनेछ । आगामी दिनमा जटिल डेंगु प्रकोपको प्रक्षेपण गर्दैगर्दा डेंगु संक्रमित र डेंगु पुगेका जिल्लाको संख्या मात्रै गनेर हुँदैन । हरेक गाउँपालिका/नगरपालिकाले तुरुन्तै लार्भा नष्ट अभियानलाई एक्सनमा पनि लैजानुपर्छ । किनभने प्रि-मनसुन लामखुट्टे नियन्त्रण गर्ने ‘गोल्डेन समय’ हो । यदि यहाँबाट पनि हामी चुक्यौं भने देशमा डेंगुको कारणले विना शारीरिक चोटको ‘मास क्याजलती’ देख्नेछौं । यसको अर्थ जताततै हड्डी भाँच्चिए सरहको दुखाइ लिएर बसेका संक्रमितहरु यत्रतत्र देखिनेछन् । दुर्भाग्यवश, डेंगुको कडा दुखाइ कम गर्ने प्रभावकारी औषधि भने छैन । त्यसैले कम्तीमा पनि हप्तामा एक पटक आ-आफ्ना कार्यस्थल वरिपरि लामखुट्टेको लार्भा छ कि छैन भनेर खोज्ने समय निकालौं र देखिए नष्ट गरौं ।

डा. शेरबहादुर पुन डेंगु लार्भा नष्ट अभियान
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय